चैत ७, काठमाडौं । सरकारले नेपाल कम्युुनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रमक अपरेसन सुरु गरेको छ ।
यो समाचार टपेन्द्र कार्कीले नागरिकमा लेखेका छन्् । विप्लव समूहले पहाडी जिल्ला केन्द्रीत गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रीत गर्न मतहतका निकायलाई निर्देशन दिएको छ ।
प्रहरीले आवश्यक अनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र गुप्त कारबाही (अन्डर कभर अपरेसन) पद्धति अपनाएर अपरेसन सुरु गरेको हो ।
मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले काभ्रेमा कारबाही गर्दा पनि सोही पद्धति अपनाएको थियो ।
ललितपुरको नख्खुमा भएको बम विस्फोथटन र बसुन्धरामा भएको बम विस्फोटमा संलग्नहरुको खोजी गर्दै जाँदा प्रहरीले सर्च अभियानभन्दा पनि अन्डर कभर अपरेसनलाई प्राथमिकता दिएको हो ।
मंगलबार राति महाशाखाको टोलीले काभ्रको रोशी गाउँपालिकास्थित काफ्ले डाँडाबाट शिव धिमाल र विशाल तामाङलाई नियन्त्रणमा लिएको थियो। उनीहरु ललितपुर तथा काठमाडौंको बसुन्धरामा भएको बम विस्फोटमा संलग्न भएको प्रहरीले जनाएको छ। उनीहरुकै सूचनाका आधारमा प्रहरीले डिकेन्द्र राई र नुमबहादुर विकलाई पनि पक्राउ गरेको छ।
प्रहरीले विगतमा विप्लव समूहले विस्फोटन गराएका जिल्ला र स्थान तथा उद्योगलाई अनुसन्धानको पहिलो सूचीमा राखेको छ। त्यस्तै सरकारले वार्ता आह्वान गरेका बेला हिरासतबाट छुटेका व्यक्तिका बारेमा सूचना संकलन गरी कारबाही प्रक्रिया अघि बढाएको छ। ‘हामीले उनीहरुका पुराना आपराधिक घटनालाई समेत अनुसन्धानको दायरामा राखेका छौं’, प्रहरी प्रवक्ता उत्तम सुवेदीले भने।
उनका अनुसार विप्लव समूहका पछिल्ला गतिविधिका बारेमा प्रहरी जानकार छ। ‘विप्लव समूह फागुन चैतलाई संगठन सुदृढीकरण र संगठन सञ्चालन अभियान भनी क्रियाशील भएको सूचना छ।
उनीहरुका गतिविधलाई सरकारले रोक लगाएको छ। त्यसकारण अब गतिविधि गर्न दिइन्न’, सुवेदीले भने।
प्रतिक्रिया दिनुहोस