अब जनयुद्ध हुँदैन्, जनक्रान्ति मार्फत पुरानो सत्ता ध्वस्त हुन्छ: असल क्षेत्री


फागुन ९, जाजरकोट । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य असल क्षत्रीले आफ्नो पार्टीको नेतृत्वमा हुने अबको जनक्रान्ति विगतको जनयुद्ध जस्तो नहुने बताएका छन् ।

नेकपाको संगठन सुदृढिकरण तथा विस्तार अभियान–२ अन्तरगत जाजरकोट छेडागाड नगरपालिका वडा नम्बर १३ गाँडेसालमा बिहिवार भएको कोणसभालाई सम्बोधन गर्दै नेता क्षत्रीले गाउँ र शहरबाट एकैसाथ जनक्रान्ति हुने बताए । उनले अहिलेको पुरानो सत्तालाई ध्वस्त पार्न एकीकृत जनक्रान्तिको आवश्यकता भएको बताएका हुन् ।

उनले भने– “गाँउ र शहरबाट एकसाथ क्रान्ति हुन्छ, त्यसमा देशभक्त, वामपन्थी, प्रगतिशिल, लोकतान्त्रिक र क्रान्तिकारी शक्ति एक हुनुपर्छ, दलाल पूजीवादि सत्ता ध्वस्त बनाएर बैज्ञानिक समाजवाद लागु हुन्छ, यो हाम्रो कार्यभार हो ।” उनले सबै राष्ट्रप्रेमी जनसमुदायीहरु एकीकृत जनक्रान्तिमा गोलबद्ध हुनुपर्ने बताएका छन् ।

उनले भने– “दलाल संसदीय व्यावस्था, दलाल सत्ता र दलाल पूजिपतिले नेपाली जनताको समस्या समाधान गर्न सक्दैन् ।” अहिलेको राज्यव्यवस्थाले जनतालाई न्याय दिन नसक्ने भएकाले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्ति अगाडि बढेको नेता क्षेत्रीले बताए ।

वर्तमान सरकार एकपछि अर्को राष्ट्रघात र जनघात गर्दै गएको भन्दै उनले अब अन्तिम र निर्णयक क्रान्ति हुने र त्यसले देशलाई स्वाधिन बनाउनुका साथै जनतालाई अधिकार सम्पन्न बनाउने बताए । अहिले मुलुकमा कम्युनिस्टको सरकार भएपनि जनबिरोधी हर्कत नरोकिएका कारण केपी ओली नेतृत्वको सरकार असफल हुँदै गएको उनको भनाई छ ।

कार्यक्रमको सन्चालन नेकपा जाजरकोटका सदस्य दिप लामाले गरेका थिए । कोणसभामा भेरी व्युरो सदस्य निलम र संघर्ष लगायतको उपस्थिती थियो ।

२०७५ फाल्गुन ९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको