प्रहरीको एक दिन, १ लाख १५ हजार किलोमिटर पैदल गस्ती


भदौ ३, काठमाडौं । नेपाल प्रहरीले दैनिक ७ हजार ३ सय ५० जना प्रहरीमार्फत १ लाख १५ हजार ३ सय २ किलोमिटर पैदल गस्ती गर्ने गरेको एक तथ्यांकले देखाएको छ ।

यो खबर महेश्वर गौतमले राजधानी दैनिकमा लेखेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले तयार गरेको तथ्यांकले सरदर ७ हजार ३ सय ५० जना प्रहरी दैनिक १५ हजार ३ सय २ किलोमिटर पैदल गस्तीका लागि परिचालन हुने गरेको देखाएको हो ।

यस्तै, दैनिक रूपमा ४ हजार ४ सय ३ जना प्रहरी सवारी गस्तीमा निस्किने गरेका छन् । उनीहरूले दैनिक २१ हजार २ सय किलोमिटर विभिन्न किसिमका सवारी साधनमार्फत गस्ती गर्ने गरेका छन् ।

यसैगरी, दैनिक चेकजाँचका लागि मात्रै ३ हजार ४२ जना प्रहरी परिचालन हुने गरेका छन् । तथ्यांकअनुसार देशभरका ६ सय २ स्थानमा दैनिक चेकजाँच हुने गरेको छ ।

नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले भने, ‘मुलुकमा शान्ति सुरक्षा कायम गर्ने कर्तव्य र जिम्मेवारी प्रहरीको हो तर भौगोलिक अवस्था, साधन स्रोत, जनशक्ति, वातावरणीय अवस्थालगायतका कारण भने दैनिक रूपमा प्रहरीमाथि चुनौती छ ।’

तथ्यांकअनुसार दैनिक सरदरमा २ हजार ६ सय ३४ जनालाई प्रहरीले विभिन्न किसिमका घटनामा संलग्न रहेको आरोपमा पक्राउ गर्ने गरेको छ भने १ हजार ६ सय २० जना माथि दैनिक अनुसन्धान हुने गरेको छ ।

प्रहरी प्रवक्ता पोखरेलले कतिपय अवस्थामा पक्राउ परेकामाथि अनुसन्धान अघि बढाइरहनुपर्ने अवस्था नरहने भएकाले सामान्य सोधपुछपछि समेत छाड्ने गरिएकाले पक्राउ पर्ने भन्दा अनुसन्धानमा रहनेको संख्या कम हुने जनाए ।

प्रहरीले दैनिक रूपमा ३ हजार ३०३ जनालाई उद्धार तथा सहायता गर्ने गरेको समेत तथ्यांकले देखाउँछ । तथ्यांकले सक्रिय स्थानमा रहेका प्रहरी कार्यालयमा खटिएका प्रहरीले दैनिक रूपमा १६ देखि १८ घण्टासम्म काम गर्नुपर्ने बाध्यता रहेको देखाउँछ । दरबन्दीअनुसार कार्यरत जनशक्ति नहुँदा बढी सक्रिय हुनुपर्ने स्थानमा खटिएका प्रहरी बढी दबाबमा रहन्छन् ।

हाल नेपाल प्रहरीमा ७५ हजार ९ सय २७ जनाको दरबन्दी छ । तर, कार्यरत प्रहरीको संख्या ६४ हजार ३ सय २३ मात्रै छ । जुन संख्या स्वीकृत दरबन्दीभन्दा ११ हजार ६०४ कम हो । कार्यरत प्रहरीलाई मात्रै आधार मान्दा एक प्रहरीको भागमा ४ सय ६७ जनाको सुरक्षाको जिम्मेवारी पर्छ ।

३ भाद्र २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको