नेपालमा जनतालाई आतंकित पार्ने ‘जंगली राज’ अब चल्दैन: संचारमन्त्री


साउन ४, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लुकेर जनतालाई आतंकित पार्ने जंगली राज नेपालमा अब नचल्ने बताएका छन्।

शनिबार बनेपामा आयोजित काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले प्रजातन्त्रमा युद्धको नभई विचार र बहस चल्ने बताए।

‘यो प्रजातन्त्र हो, प्रजातन्त्रमा विचार चल्छ, बहस हुन्छ’, विप्लव नेकपालाई संकेत गर्दै उनले भने, ‘जनतालाई आतंकित पार्ने जंगली राज अब चल्दैन।’

विप्लव नेकपाले लुकेर जनतालाई त्रसित बनाएको, व्यापारीमा चन्दा आतंक मच्चाएको, विद्यालय र स्थानीय जनप्रतिनिधिलाई समेत दुःख दिएको उनको आरोप थियो। खुला राजनीतिमा आएर राष्ट्रपतिसम्म बन्न सकिने अवस्थामा कसैले कसैलाई नरोकेको भन्दै उनले विप्लव समूह शान्तिपूर्ण मूलधारमा नआए उसैलाई क्षति पुग्ने बताए।

उनले नेपाल गौतम बुद्धको देश भएको बताएँदै बुद्धको देशमा हिंसा अस्वीकार्य भएको बताए। ‘बुद्धको देशमा हिंसा अस्वीकार्य छ’, उनले भने, ‘जसले हिंसा गर्छ अन्तिममा त्यही शिकार बन्छ।’

मन्त्री बाँस्कोटाले हिंसा भड्काएर सरकारलाई झुकाउँछु भनेर सोच्नु गलत भएको भन्दै सरकार कुनै पनि हालतमा कमजोर नहुने दाबी गरे। ‘मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्ने नौटङ्की कसैले पनि नगर्दा हुन्छ’, उनले भने, ‘यस्ता नौटंकीविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुन्छ।’ उनले कसैले धम्क्याए भने त्यसविरुद्ध सडकमा निस्कन पनि उद्योगीलाई आग्रह गरे। उनले देशमा आन्दोलन, झडप भैदिए आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने एकथरि भए पनि तिनको चाहना पूरा नहुने दाबी गरे।

४ श्रावण २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको