‘विद्रोहीको कुण्डली’


म अभावविरुद्ध बोलें
प्रभावविरुद्ध बोलें
दवावविरुद्ध बोलें
तिमी संविधानको कुरा गर्छौ ।

म खानाका लागि बोलें
म नानाका लागि बोलें
म छानाका लागि बोलें
तिमी संविधानको कुरा गर्छौ ।

म हावाका हुण्डरीविरुद्ध बोलें
पानीका छालहरुविरुद्ध बोलें
आगोका तापहरुविरुद्ध बोलें
तिमी संविधानको कुरा गर्छौ ।

म भुमिपतिहरुको कत्लेआमविरुद्ध बोल्छु
म बोली नै रहन्छु
सांस्कृतिक क्रान्तिको नाममा मच्चाइएको लालआतंकविरुद्ध
म तिम्रा माओविरुद्ध बोल्छु

म तियानमेन नरसंहारविरुद्ध बोल्छु
काटाइनमा स्टानीलनको पागलपनविरुद्ध बोल्छु
म सबै खुनी आदर्शविरुद्ध बोल्छु
अमेरिकी सेनाको माइ लाई आमहत्याविरुद्ध बोल्छु

पेरिस कम्युनविरुद्धको रक्तमुछेल लडाईविरुद्ध बोल्छु
म ग्याँस च्याम्बरविरुद्ध पनि बोल्छु
म भैरवनाथ गणविरुद्ध पनि बोल्छु
म खारा र दोरम्बाविरुद्ध पनि बोल्छु

तिमी संविधानको कुरा गर्छौ ।

म ब्रम्हाविरुद्ध बोलें
विष्णुविरुद्ध बोलें
महेश्वरविरुद्ध बोलें
जहाँ जहाँ मविरुद्ध अन्याय भो

त्यहींत्यहीं म बोले
यसैले म शास्त्रविरुद्ध बोलें
शस्त्रविरुद्ध बोलेंं
तिमी संविधानको कुरा गर्छौ ।

म कुरानविरुद्ध बोलें
बाइबलविरुद्ध बोलें
गीताविरुद्ध बोलें
तिमी संविधानको कुरा गर्छौ ।

नरोकिएसम्म अत्याचारको आँधी म बोल्छु
नफाटेसम्म विभेदको जालो म बोल्छु
म त्यतिबेलासम्म बोल्छु
पाइतालाले कुल्चिएर तिम्रो शासनविरुद्ध

नढालेसम्म यो असमानताको खाडल
तिमी संविधानको कुरा गर्छौ ।

कसले लेख्यो कुण्डली–
ठीक लेख्यो
हस्ताक्षर गरेर मृत्युपत्रमा
म सत्ताविरुद्ध बोलेरै मर्छ भनेर

तिमी संविधानको कुरा गर्छौ ।

-पुरुषोतम लम्साल

७ बैशाख २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको