होली संस्कृति भर्सेस विकृति


सम्झना पौडेल । फागु अर्थात होली पर्व । यसको रौनकता र महत्व आफ्नै छ । समाजमा नयाँ मित्रता कायम गर्ने कसी पनि हो होली । विगतको तिक्तता बिर्सिएर नयाँ मित्रताको पालुवा कायम गर्ने अवसरका रुपमा पनि लिइन्छ होलीलाई । यसको सद्भाव संकटमा नपरोस भन्ने नै मेरो आशय हो ।

तर मैले होलीकोे बारेमा केही लेख्ने प्रण गरेँ । सबै युवायुवतीलाई त अहँ म भन्दिन, तर केही कथाकथित युवायुवतीहरु जो होली खेल्नकै लागि, रंग दल्नकै लागि भन्दा पनि अंग प्रर्दशनको लागि होली मनाउने गर्दछन । पातलो र पारदर्शी टिसर्ट किन्छन । केहि–केहि कसले आएर रंग दलि देला भनेर हर्कत देखाउनेहरुको जालो पनि छ । विगतका बर्षहरुमा जस्तै यसबर्ष पनि यस्तो विकृतीले स्थान नपाओस ।

हिजो सार्वजनिक यातायातमा दुईजना केटाहरु गफिरहेका थिए । एकजना पहेलो टिर्सटवालाले भन्दै थिए, ‘ओई यसपालिको होलीमा रंग मात्रै दल्ने हैन है पुरै झ्याप हुने हो ।’ अर्को भन्दै थिए, ‘त्यो छनि मेरो पहिलाको एक्स गर्लफ्रेन्ड, त्यसकै लागि भएपनि अहिलेको गर्लफ्रेन्डलाई पुरै सेक्सी लुक्समा उतारेर मातिदै हिड्ने हो यार ।’

फेरी पहेलो टिर्सटवालाले थपे, ‘ठिक भनिस यार तेरो न्यु गर्लफ्रेन्ड देखेर एक्स जिएफ साइको होस्न । अँ सुन्न मेरो जिएफलाई चाहिँ के गर्ने होला यार ड्रिंक्स गराएर होली खेल्न मन छ ।’ अर्कोले भने, ‘लौ यार त पनि ड्रिंक्स त गर्नुपर्यो नि यार नत्र त मज्जै हुन्न ।’ फेरी पहेलोवाला ‘अँ है तर पोहोरको भन्दा यसपाला अझ बबाल गर्न मन छ के यार वसन्तपुरमा गएर पुरै झ्याप हुने हो । पुलिसले र्याक हान्छ के यार फेरी ।’

फेरी अर्काले थपे, ‘ह्या जेसुकै होस न त टेन्सन नलि के यार । तिनीहरुको जिएफसँग खेल्ने होर । आफ्नैसँग खेल्ने हो बाल्लै भएन नि । घरको बाउले त केहि गर्न सक्दैन जाबो पुलिस यार कुन चाहिँ ठुलो कुरो भयो र ?’

उनीहरुको गफ त्यसपछि कति चल्यो मलाई थाहा भएन । मेरो ओर्लने ठाउँ आएकाले म उत्रिएँ । तर बसबाट उत्रिएपछि पनि मलाई त्यो कुराले छाडेन मनमनै सोच्दै थिएँ ।

यो कस्तो होली हो ? आपसमा रमाइलो गरेर रङहरुसँग मनाइने होली कहिले बाट हुइस्की र रक्सीसँग जोडिन थालेछ ? पोहोर सालकै कुरा याद आयो, म रेडियोमा काम गथ्र्येँ । दिउँसो १२ः३० बजेबाट ८ बजेसम्म मेरो अफिस टाईम थियो । म रंग नदलि अफिस जान हिँडेको थिएँ । घरायसी कामले अलिक ढिलो भइरहेको थियो । १२ः३० मा त अफिस पुगेर १ बजेको समाचार रेडि गरी भन्नुपर्ने हुन्थ्यो ।

म वनस्थलीबाट हतारहतार गाडी लाग्ने ठाउँसम्म जादै थिएँ । बाटोमा केहि युवायुवती भने पारदर्शी टिर्सट मात्र लगाई पानीमा भिज्दै रमाइलो गर्दै थिएँ । उनीहरुको पारदर्शी टिर्सटबाट गोप्य अंग छर्लंग देखिएको थियो । तर उनीहरुलाई मतलब थिएन । मैले पनि धेरै याद गरीन । सोच्दै थिएँ, ‘रंगहरुसँग प्रेम गरेर मनाउने होलीलाई किन पानिका फोहोरा र पिच्काले अंगनै देखिने गरी मनाउनु पर्ने ? अलिक सभ्य भएर मनाउन सकिन्न र ? होली खेल्नु हुँदैन भन्ने कुरामा म बिलकुल हैन । बर्षमा एक पटक आउने रंगहरुको पर्वलाई रंगिन र सभ्य ढंगले मनाउनु पर्छ भन्ने मेरो धारणा हो । छाडापनले गर्दा त विकृत बढेको छ । पारदर्शी जालोले ढाकेको शरिरमा हात पुराउन खोज्ने कथाकथित पुरुषपात्र र महिलापात्र यस्ले नै बढाएको छ कुरीति । रङहरुको पर्व होली । विजयको प्रतीकको रुपमा मनाइने यो पर्व तराईमा अझ विशेष मानिने गरिन्छ ।

तर पछिलो समय होलीको रुपमा विकृति पनि बढेको देख्दा होली संस्कृति भर्सेस विकृति जस्तो बनिदिएको छ । रङहरुसँग खेल्दा छुट्टै उर्जा आउँछ । तर रङकै नाममा विकृतिले हामी कस्तो संस्कृति मनाउँदै छौँ त्यो कुराको हेक्का हुनु पर्दछ । आज हामी पानीका फोहोरा, अण्डा, माछा, मासु, रक्सी र बियरलाई होली सम्झन्छौँ । जुन कुरा एकदमै गलत हो । विजयको प्रतीकको रुपमा मनाइने पर्वमा रङहरुसँग होली खेलौँ तर शरीर र संवेदनशील अंगहरुसँग होइन । रङ लगाउने बहानामा हातै हाल्न खोज्ने, नचिनेको मान्छेलाई रंग हान्न खोज्ने अझ कुहिएको अण्डा र फोहोर पानीले छ्याप्नु संस्कृतिको नाममा विकृती हो ।

आज हामीकहाँ संस्कृतिको नाममा विकृति भित्रिएको छ । एक आपसमा आत्मीयता र सदभाब बढाउने यो पर्वमा रङ लगाउने बहानामा सम्बन्ध र सदभाब नै संकटमा पर्ने खालका हर्कतहरु हुन थालेका छन ।

मौलिक संस्कृतिका रूपमा मनाइदै आएका हाम्रा चाडपर्वमा पश्चिमेली प्रभावका कारण त्यसको मुल मर्म नै हराउँदै गएको छ । बेलुनमा पानी भरेर हान्ने, फोहोर पानी बाटोमा छ्याप्ने, केटीहरुको संवेदनशील अंगमा छुने, सिउँदोमा रंग दल्ने होली कै बहानामा सिन्दुर हाल्ने जस्ता यस्का नकारात्मक पक्षहरु छन । यसको जिम्मेवारी पनि हाम्रो काँधमा रहेको छ । विशेष गरी युवतीहरू होलीबाट नराम्रोसँग प्रभावित छन । यस मामिलामा कतिपय पुरुषहरु निकै अभद्र व्यवहार प्रदर्शन गर्नसम्म चुक्दैनन । होली खेल्ने मन भए पनि कति महिलाहरु बाहिर निस्कन नै गाह्रो मान्छन ।

तर, जे जस्तो भएतापनि आफुमाथि हुने हिंसालाई सहेर बस्न हुँदैन । प्रहरीले पनि जबरजस्ती रङ दल्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ । तर पहिले त आफु पनि आफै सचेत हुनु जरुरी छ । फेशन अनुसारको ड्रेस लगाउने नाममा पनि उत्ताउला ड्रेस लगाएर बाहिर निस्कनु हुँदैन । फेशनको नाममा आधा अंग देखाएर हिड्दामहिलाको संवेदनशीलता र महत्व बुझेर र पनि बुझ पचाएकाहरुले झन दुव्र्यवहार गर्न सक्छन् ।

यी विसंगति र विकृतिलाइ झाँगिन महिलाहरुले पनि मद्दत गरिरहेका छन । होली पर्व आफैँमा नराम्रो होइन तर समाजमा भएका कथाकथित युवायुवतीहरुले पर्वका नाममा दुरुपयोग गरिरहेका छन । अब सिधासादा महिलाको कुरा गरौँ, के नेपाली समाजका महिलाहरु जिस्काइनकै लागि महिला भएका हुन ? किन नेपाली महिलाहरुले आफ्नै समाजका पुरुषहरुबाट स्वतन्त्रता र सुरक्षाको महसुस गर्न पाउँदैनन ? फागु पर्वले मानिसमा विद्यमान भेदभाव अन्त्यको सन्देश दिन्छ । केटाकेटी, युवायुवती, सबै जातजाति फागुको रङमा रङ्गिने र सबैले खुशीको रङ साटासाट गर्ने भएकाले यो चाड समावेशी चाडसमेत भएको हो ।

के हुन त राम्रा पक्ष ?

आनन्द अनि उत्साहको यो बसन्त ऋृतुको चाडमा आफ्ना लागि केही समय निकाल्नु, आफन्तजनलाई भेट्नु राम्रो पक्ष हो । त्रेता युगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलीकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैँ आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ ।

होलीले मानिस अनि रगंहरु बिचको सम्बन्ध अनि रंगले पार्ने उत्साहजनक प्रभावको पनि ब्याख्या गर्दछ, के बालक के बृद्ध अनि के वयस्क ? होली सबैको चाड हो । धार्मिक मान्यताबाट अलग्ग बनाएर केवल उत्साह अनि सदभावका रुपमा हेरेरै त होला नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका हुन, आजभोली एउटै आँगन र तालमा झुम्मीन्छन । बालबालिकाले ससाना बेलुनहरुका साथमा मनोरञ्जन लिन्छन । वयस्कका लागि होली रंगहरु अनि भातृत्व र साहसको पर्व हो ।

६ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको