चैत ६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गर्नुभएको छ ।
आज फागु पूर्णिमा (होली)का अवसरमा राष्ट्रपति भण्डारीले जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै यस पर्वले सबैमा नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा नेपालको मौलिक पहिचान स्थापित गराउँदै राष्ट्रपतिले सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने बताउनु भएको छ । होलीजस्ता पर्वले अमूल्य संस्कृतिहरूको संरक्षण र प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रहसमेत उहाँले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा खुशी र हर्षोल्लासपूर्वक रङ्गमा रमाएर होली पर्व मनाउने प्रचलन रहेको सन्देशमा उल्लेख गरिएको छ । होली पर्व यही बुधबार र बिहीबार नेपालभर मनाइँदैछ ।
होली पर्वका अवसरमा उपराष्ट्रपतिको शुभकामना सन्देश
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रका हामी नागरिक भाषा, कला, संस्कृतिले अत्यन्तै धनी रहेको बताउनुभएको छ । होली पर्वका अवसरमा आज उहाँले एक शुभकामना सन्देश दिँदै काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली भेगमा फागु पूर्णिमाको दिन र तराई–मधेशमा भोलिपल्ट भव्यरूपमा मनाइने यस पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको कामना गर्नुभएको छ ।
उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद समयमा आउने यस पर्वले सप्तरङ्गी जस्तै रङ्गीन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास लिएको छु ।’ सप्तरङ्गी रङ्ग जस्तै समृद्धिका विभिन्न आधारको तीव्र विकासका माध्यमबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई सार्थक बनाउन सबै नेपालीलाई प्रेरणा दिने विश्वाससमेत आफूले लिएको उहाँको भनाइ छ ।
समृद्धिको मार्गमा अघि बढ्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्लेख गर्नुभएको छ । ‘देशलाई द्रूतगतिमा आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर गराइँदै गरिएको आजको परिप्रेक्ष्यमा हामी सम्पूर्ण नेपाली अझ बढी एकताबद्ध हुन जरुरी छ,’ प्रधानमन्त्रीओलीको सन्देशमा उल्लेख छ ।
‘नेपालभरि र बाहिर पनि खुशियाली प्रकट गर्दै होली अर्थात् पानी र रङ्ग खेलेर मनाइने यस पर्वका अवसरमा म फेरि एक पटक हाम्रो राष्ट्रिय सङ्कल्पको स्मरण गर्न चाहन्छु,’ उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । भाषिक, सांस्कृतिक र जातीय विविधतामा एकता सारा विश्वले थाहा पाएको नेपाली विशेषता भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । उहाँको सन्देशमा भनिएको छ, ‘फागु पूर्णिमाले विभिन्न मातृभाषाका विविध संस्कृति अङ्गीकार गर्ने सबै जातजातिका सम्पूर्ण नेपालीबीचको सद्भाव र सुसम्बन्ध अझ मजबुत बनाउन प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
प्रतिक्रिया दिनुहोस