पुस ३, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीमा गुट झाँगिदै गएकाले अनुशासन कमजोर भएको उल्लेख गरेका थिए ।
यो खबर आजको राजधानी दैनिकमा छ । पार्टी बैठकमा यस्तो प्रतिवेदन प्रस्तुत गरिए पनि अध्यक्ष दाहाल आफैंले आफूनिकटका स्थायी कमिटी सदस्यलाई बोलाएर गुटगत छलफल चलाएका छन् । स्थायी कमिटी बैठक चल्दै गर्दा मंगलबार दाहालले तत्कालीन माओवादी केन्द्रबाट स्थायी कमिटी सदस्य भएकालाई खुमलटारमा बोलाएर छलफल गरेका छन् ।
छलफलमा बर्षमान पुन, देव गुरुङ, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्पा भुषाल, अग्नि सापकोटा, देवेन्द्र पौडेल, मातृका यादवलगायतका नेता सहभागि थिए । छलफलमा सहभागी एक नेताले पछिल्लो राजनीतिक अवस्था र जारी स्थायी कमिटी बैठकबारेमा छलफल भएको बताए ।
छलफलमा स्थायी कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा धारणा राख्दा मिलेर अघि बढ्नुका साथै सबैको सहमतिमै प्रतिवेदन पारित गर्ने विषयमा चर्चा भयो । यस्तै, रिक्त सभामुख पदको विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा सामान्य छलफल भएको नेकपा स्रोतले जनाएको छ ।
तर, दाहाल सचिवालयले गुटगत बैठक वा भेला नभएको बताउँदै सामान्य छलफल भएको जनाएको छ । अध्यक्ष दाहाललाई भेट गर्न तत्कालीन माओवादी केन्द्रका मात्रै नभई तत्कालीन एमालेका नेता पनि खुमलटार आउने गरेको बताउँदै दाहाल सचिवालयले नेतानेताबीचको भेटघाट वा छलफल नियमित प्रक्रिया भएको जनाएको छ ।
‘यसलाई गुटगत बैठक भन्न मिल्दैन, केही विषयमा छलफल गर्नु नै हुँदैन भन्ने होइन,’ दाहाल सचिवालयले भन्यो, ‘नेतालाई भेट्नु र केही विषयमा छलफल गर्नु समान्य कुरा हो, नेता भेट्दैमा गुटको भेला भयो भन्न अलि मिल्दैन ।’
नेकपा स्थायी कमिटी सदस्य अग्नि सापकोटाले आफू त्यस्तो भेटघाटमा सहभागी नभएको बताए । तर, केही सञ्चारमाध्यमले आफ्नो नामसमेत जोडेर लेखेकामा उनले आपत्ति जनाए ।
प्रतिक्रिया दिनुहोस