कांग्रेसद्वारा आलमको बचाउ, देउवाले भने,‘ १२ वर्षपछि पक्राउ गर्न पाइन्छ ?’


कत्तिक २, काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आलमको बचाउ गरेका छन् ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै देउवा सरकारविरुद्ध आक्रामक बनेका हुन् ।

‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ?’ कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले भने, ‘त्यतिबेला के हेरेर बसेको ?’

कांग्रेसबाट निर्वाचित स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्षका लागि आयोजना गरिएको दुईदिने प्रशिक्षणमा देउवाले राम्रो काम गरेर देखाउन जनप्रतिनिधिहरूलाई निर्देशन दिए । ‘कम्युनिस्ट र कांग्रेस फरक छन् भन्ने कुरा जनताको मन जितेरै देखाउनुपर्छ,’ स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिँदै देउवाले भने, ‘आगामी निर्वाचनमा पार्टीले जित्ने गरी काम गरेर देखाउनुहोस् ।’

शनिबारसम्म चल्ने प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको उपलब्धिलाई कमजोर बनाएर सरकारले हस्तक्षेप बढाएको बताए ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत आलमको घटनालाई कांग्रेसविरुद्धको षड्यन्त्रका रूपमा लिए । सञ्चारमाध्यमसमेत कांग्रेसीविरुद्ध लागिपरेको उनको आरोप थियो । ‘पत्रपत्रिकालगायत सञ्चारमाध्यमसमेत कांग्रेसविरुद्ध लागेका छन्, आलमविरुद्ध आएको समाचार यसको नमुना हो,’ सिटौलाले भने ।

२ कार्तिक २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको