छोरीलाई गिफ्ट भन्दै ‘सेक्स टोय’ पठाउने बाबु, जसलाई लाग्यो साइबर मुद्दा


असोज २, काठमान्डौ । महानगरीय प्रहरी परिसर टेकुमा गत भदौ १४ गते एउटा विद्युतीय कारोबार ऐन अर्थात साइबरसम्बन्धी उजुरी पर्‍यो। उजुरी गर्ने युवती थिइन्, रेश्मा घले (नाम परिवर्तन)।

घलेले दिएको उजुरीमा लेखिएको थियो, ‘अज्ञात व्यक्तिले नक्कली फेसबुक आइडी सोनिक्स गुरुङ, सोनिका गुरुङ र लिली पुलामी बनाएर मेरो गुगल आइडीसमेत ह्याक गरी मलाई अश्लील म्यासेज पठाउने गरेको छ। कारबाही गरिपाऊँ।’

तीन वटा फेसबुक आइडीबाट आफूलाई अश्लील म्यासेज आउने गरेको व्यहोरासहित घलेले म्यासेजसमेत स्क्रिनसट गरेर उजुरी हालेकी थिइन्।

व्यक्ति पहिचान नभएको भनेर हालेको उजुरीको ३ दिनपछि भदौ १७ गते फेरि उनैले श्यामकुमार सापकोटाका नाममा किटानी जाहेरी दिइन्।

घलेले किटानी जाहेरी दिएका व्यक्ति सापकोटा उनकै बाबु हुन्।

रेश्माका बाबु सापकोटा र आमा बेलायतमा बस्दै आएका छन्। यसरी छोरीले नै बाबुविरुद्ध फेसबुकमा अश्लील म्यासेज, भिडियो र तस्बिर पठाएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। नग्न तस्बिरदेखि छोरीलाई बेलायतबाट गिफ्टका लागि भनेर सेक्स टोयसम्मका सामानका फोटाहरु पठाउने गरेको आरोप सापकोटालाई लगाउँदै उजुरी परेको थियो।

प्रहरीले सापकोटालाई पक्राउ गरेर अनुसन्धान सुरु गर्‍यो। सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनाल शर्माले उक्त मुद्दामा वादी नेपाल सरकारको पक्षबाट बहस गरेका थिए।

भिडियोसमेत पठाई युवतीको चरित्र हत्या गरेको हुँदा सापकोटालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेकाले उनलाई कसुर ठहर भएको अवस्थामा ५ वर्षसम्म कैद सजाय हुन सक्ने अभियोग दाबी भएकाले थुनामै राखी मुद्दाको पुर्पक्ष गरिपाऊँ भनेर शर्माले बहस गरेका थिए।

यता प्रतिवादी सापकोटा तर्फबाट भने अधिवक्ता रामप्रसाद भण्डारी र यादव ढुंगानाले बहस गरेका थिए।

प्रतिवादी सापकोटाले सन् २०१७ को अक्टोबरमा पठाएको म्यासेज स्विकारेको तर बाँकी म्यासेजहरू आफूले नपठाएको भन्ने इन्कारी बयान दिएका थिए। उक्त म्यासेज पनि (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ७४ को हदम्याद नाघिसकेकाले कारबाही गर्न नमिल्ने साधारण तारेखमा छाड्नुपर्ने अभिवक्ताद्वयको तर्क थियो।

वादी-प्रतिवादी दुवै पक्षको बहस सकिएपछि उक्त फाइल जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासमा पुगेको थियो।

मोबाइल नम्बर ९८१०३८९… बाट सापकोटाले पठाएको अश्लील म्यासेज आफूले बेवास्ता गरेर बसेपछि माथि उल्लिखित तीन वटा फेसबुक आइडी खोलेर अश्लील भिडियो फोटो पठाउने गरेको छोरी रेश्माले बताएकी थिइन्। अश्लील म्यासेज पठाउने क्रममा ९८१८४६२… नम्बर प्रयोग भएको उजुरीकर्ताको दाबी थियो।

सापकोटाले भने अश्लील म्यासेज पठाउन प्रयोग भएको मोबाइल नम्बर ९८१८४६२… सन् २०१९ को मार्चमा आफ्नै नाममा निकाली प्रयोग नै नगरेको बताएका थिए। उनले उक्त नम्बर भएको सिमकार्ड बत्तिसपुतलीस्थित आफ्नो घरमा राखेर बेलायत गएकाले त्यो नम्बर प्रयोग गरेर अरु कसैले पठाएको हुन सक्ने अदालतसमक्ष बयान दिएका थिए। जसकारण आफूले सफाइ पाउनुपर्ने माग सापकोटाको थियो।

अश्लील म्यासेज, भिडियो, फोटो सापकोटाले नै पठाएको र उक्त कुराको जानकारी आफूहरुलाई समेत भएको भन्दै यसअघि नै सावनकुमार गुरुङ र मीना गुरुङले बताउँदै आएका थिए। यसबारे जिल्ला अदालत काठमाडौं गुरुङद्वयसँग बुझ्दा घटना विवरणको कागजसमेत गरेको पाइएको थियो।

त्यस्तै युवती रेश्मालाई अश्लील म्यासेज गरिएका फेसबुक आइडीको बिजनेस रेकर्डसमेत प्रहरीले निकालिसकेको थियो।

मिसिल संलग्न जाहेरी दरखास्त, प्रतिवादीको अनुसन्धान र अदालतमा भएको बयान, मौकामा कागज गर्ने व्यक्तिले गरिदिएको कागज, फेसबुक बिजनेस रेकर्ड लगायतका कागज प्रमाणको विश्लेषण गर्दा सापकोटा कसुरदार होइनन् भनी विश्वास गर्न सक्ने मनासिब आधार फेला नपरेको जिल्ला अदालतको ठहर छ।

सोही प्रमाणका आधारमा सापकोटालाई अपराध संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश हिजो बुधबार जिल्ला न्यायाधीश भट्टराईको इजलासले गरेको हो यो खबर नेपाल लाइभमा छ ।

दुई हप्ता हिरासत बसी सापकोटा धरौटीमा रिहा भएका छन्। (प्रतीकात्मक तस्बिर)

२०७६ आश्विन २,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको