असोज २, दाङ । दाङ हुँदै लागुऔषध ओसारपसार हुन थालेपछि जिल्ला प्रहरी कार्यालय दाङले लागुऔषध कारोबारीलाई धमाधम पक्राउ पर्न थालेको छ । पछिल्लो दश दिनमा मात्रै जिल्लाका विभिन्न ठाँउबाट नौ जना लागुऔषध कारोबारी पक्राउ परेको प्रहरी प्रवक्ता बिनोद विक्रम शाहले जानकारी दिए । उनका अनुसार जिल्लाबाहिरबाट जिल्लामा लागुऔषध भित्रिने गरेको छ ।
रोल्पा र रुकुमका विभिन्न ठाउँबाट दाङमा लागुऔषध भित्रिने गरेको प्रहरी प्रवक्ता शाहले बताए । प्रहरीले बुधबार मात्रै दाङ र रोल्पाको सिमाना घोराही उपमहानगरपालिका–१९ खम्बासबाट ८ केजी पाँच सय ग्राम लागुऔषध चरेससहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका–४ का २१ वर्षिय गणेश वली, सोही ठाउँका २७ वर्षिय भुपेन्द्र थापा, सोही ठाँउकै ४० वर्षिय अमृत थापा रहेको प्रवक्ता शाहले जानकारी दिए ।
उनीहरुको साथबाट रा ३ प ४५५९ नम्वरको होण्डा युनिकन मोटसाइकल समेत प्रहरीले बरामद गरेको छ । यसैगरी प्रहरीले गत भदौ २२ मा तुलसीपुर उपमहागरपालिका–१८ मज्गैँको पत्रेखोलाबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ का २६ वर्षिय तसौवर खानलाई १० ग्राम २१० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।
गत भदौ २४ गते तुलसीपुर उपमहानगरपालिका–८ नयाँ जीवनटोलबाट १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित तुलसीपुर–५ की माइली भनिने बिमला नेपाली, २४० मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँका २५ वर्षिय मानबहादुर बिक र २२० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका २८ वर्षिय दिपककुमार वली पक्राउ परेका छन् ।
लगतै गत भदौ २६ मा प्रहरीले लागुऔषध कारोबारमा संलग्न तुलसीपुर–६ का २३ वर्षिय विपिन भनिने बिक्रमजंग मल्ललाई पक्राउ गरेको छ । पक्राउ परेका मल्लको साथबाट ४ ग्राम दश मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी गत भदौ २८ मा घोराही–१४ मा बस्दै आएकी बिरामाय पुनले लुकाइराखेको ३ केजी ३ सय ग्राम सेतो अफिमसहित २२ वर्षिया नविना रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता शाहले बताए ।
प्रतिक्रिया दिनुहोस