रूकुमको बजेट रकमान्तर गरेर झापा पठाइयोस्: जनार्दन शर्मा


असार ४, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले आफ्नो गृह जिल्ला रूकुमका लागि विनियोजित बजेट झापा पठाउन आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलमा बोल्दै सांसद शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्न चाहेकाले आफ्नो गृहजिल्ला रूकुमका लागि विनियोजित रकम रकमान्तर गरेर झापामा हालिदिन आग्रह गरेका हुन्।

सांसद शर्माले भने, ‘२ ४० लेखेको छ। यो करोड हो कि लाख हो म जान्दिनँ। म सम्माननीय प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु यो शीर्षकको बजेट रूकुमबाट हटाइयोस्, झापा पठाइयोस्।’

उनले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले विनियोजन गरेको रकमप्रति असन्तुष्टि जनाएका हुन्।

झापाभन्दा मन्त्रीले दु:ख मान्ने भए जनकपुरमा केही रकम पठाउन उनले आग्रह गरेका छन्। सांसद शर्माले उर्जामन्त्री वर्षमान पुनलाई पनि रूकुममा बिजुलीबा लागि बजेट नपठाएकोमा आलोचना गरे।

शर्माले भने, ‘मैले लोडसेडिङ हटाएँ। तर मेरो जिल्ला फेरि पनि अँध्यारोमा बस्नु पर्नेभएको छ त्यसका लागि मन्त्रीजीलाई धन्यवाद!’

उनले श्रम मन्त्रालयले गरेका कामप्रति पनि असन्तुष्टि प्रकट गरे। ‘सत्तापक्ष र प्रतिपक्ष सबै युवालाई काम दिइएला र देशमै रोजगारी पाइएला भन्ने सोचेको थिएँ,’ उनले भने, ‘उद्योग स्थापना होलान्, गाउँ आत्मनिर्भर होला भन्ने आशा गरेको थिएँ, तर भएन।’

२०७६ असार ४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको