मपाईले बिधिको हत्या गर्छ !


पृथीछक बुढा मगर ।

‘मपाईं’ भनेको आफैले आफैलाई ठूलो वा सम्मानित ठह-याउने बठ्याई वा चाल हो । यसले अभिमान खोज्छ । बडप्पन देखाउछ । मपाईंले बिधिको हत्या गर्छ । बिधिको हत्या हुनु भनेको संगठनको हत्या हुनु हो । कुनै पनि संगठन विधि र बिधानले चल्छ । सिधा रुपमा भन्नू पर्दा विधि र बिधान भनेको संगठनको मुटु हो । मुटु नै निमोठेपछि संगठन कसरी जिवित रहन सक्छ ?

जवाफमा मपाईंहरुवाट जवाफ आउन सक्दछ, अहिलेसम्म चलेकै छ त ? हामीले चलाउदै आएको हो । चल्छ जसरी पनि चल्छ । उनिहरुको कुरो ठिकै होला । उनिहरुको लागि चलेकै होला ।

चल्नु मात्रै ठूलो कुरा होइन । सास चलेर मात्रै भएन । आँखा देखेर मात्रै भएन । मुख्य कुरा उसको चेतना छ कि छैन भनेर सोच्नु पर्छ । नत्र सास मात्रै भएको अलिअली चलेको जिवनलाई जिउँदो लास भनिन्छ । संगठन भित्र हामीले खोज्ने त्यसमा चेतना सहितको जीवन निर्माण गर्नु हो र संगठनलाई नयाँ जीवन दिनु हो । जिउँदो लास होइन ।

एउटा आमाले सन्तान जन्माउछ । सन्तान जन्माएर मात्रै उसको कर्तब्य सकिदैन । सबैभन्दा ठूलो कुरा त आमाले उसको सन्तानलाई कुन तरिकाले हुर्कायो र कुन संस्कारले हुर्कायो भन्ने कुरा प्रधान हो । ठिक त्यस्तै संगठन पनि कुनै न कुनै मान्छेले कुनै एउटा निश्चित उद्देश्य लिएर खोलेको हुन्छ । संगठन खोलेर मात्रै हुँदैन । संगठनले कुन संस्कार पाएको छ ? त्यसमा लोकतान्त्रिक अभ्यास कस्तो छ ? त्यो महत्वपूर्ण कुरा हो । आफुले खोलेकाले आफैले संगठन नियन्त्रणमा राख्छु भन्ने प्रवृत्ति लोकतान्त्रिक बिरोधी प्रवृत्ति हो । हामीले चाहेको लोकतान्त्रिक स्थायित्व हो ।

संगठन भनेको एउटा शरीर जस्तै हो । शरीर अनेकौं अंगहरु मिलेर बनेको हुन्छ । ती अंगहरुको आआफ्नै भुमिका हुन्छ । आँखाको काम हेर्नलाई हो, छालाको काम अनुभुतीको लागि हो । मुखको काम खानलाई हो । नाकको काम सास फेर्न र सुघ्नलाई हो । दिमागको काम सोच्नलाई हो । यी मध्ये एउटा अंग भएन भने त्यसलाई अपांग भनिन्छ । संगठन भित्रका सदस्यहरु भनेका संगठनका अंगहरु हुन् । यी सबैको भुमिका बराबर हुन्छ । एकजनाले संगठन चल्ने होइन । संगठनलाई पकेटवाट निकाल्नु पर्छ र सबैको बिचमा राख्नुपर्छ । तब संस्थामा लोकतान्त्रिक अभ्यासको लागि बाताबरण बन्छ । यदि निजि पकेटमै राख्न दिने हो भने त्यो एकदिन आकाश देख्न नपाएरै मर्छ मर्छ ।

नेपाली संविधानको सार लोकतान्त्रिक प्रणाली हो । लोकतान्त्रिक प्रणालीमा सामुहिक नेतृत्वको खोजी गरिन्छ, न कि कुनै स्वईच्छाकारी प्रवृत्तिको । स्वईच्छाकारी प्रवृत्तिले संगठन ध्वस्त बनाउछ । यसले लोकतान्त्रिक अभ्यासलाई खान्छ ।

संगठनमा आफ्नो भनाई मात्रै लागू हुनुपर्छ भन्ने प्रवृत्ति नै स्वइच्छाकारी प्रवृत्तिको लक्षण हो । यी ब्यक्तिहरु संगठन आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् । आफ्नो कुरालाई अन्तिम निर्णयका लागि दबाब दिन्छन् । यी प्रवृत्तिहरुवाट बचाएर संगठनलाई लोकतान्त्रिक रुपान्तरणको दिशामा अघि बढाउनु र संगठनलाई नयाँ जीवन दिनु नै अन्तिम उपाय हो । यो मपाइँ प्रवृत्तिहरुवाट सम्भव हुँदैन । मपाइँको अपेक्षा राख्नेहरुले पहिले अरुलाई तपाईं भनेर सिक्नुपर्छ ।

५ जेष्ठ २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको