रोल्पामा होली पर्वलाई शान्तिपुर्ण रुपमा मनाउन प्रहरीको आग्रह


मनिषा राई/चैत्र ५, रोल्पा । विगत वर्ष झैं यसवर्ष पनि रंगहरुको पर्व होली हामी माझ आईपुगेको छ । होलीले सम्पूर्ण नेपाली जनमा हर्षोउल्लास ल्याउने गर्दछ । रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाउने परम्परा रहेको छ ।

सदियौंदेखि होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । मानव समाजको विकासक्रममा निर्माण भएका विभिन्न संस्कृतिहरूमध्ये हिन्दु समुदायले सांस्कृतिक एवम् धार्मिक दृष्टिकोणले मनाउने पर्वमध्ये ‘होली’ एक हो ।

रङको पर्व होली नजिकिदै गर्दा रोल्पाको माडी गाउँपालिका लगायत पहाडी क्षेत्रमा होलीको रौनक बढ्दै गएको छ । होलीको महत्व र सन्देशलाई नजिकबाट नियाल्दा यस पर्वमा आफन्त, इष्टमित्र, साथीभाइहरूले मिठो चोखो खाएर पनि एकअर्कामा खुसियाली साटासाट गरेको हामीले देख्दै र भोग्दै आएका छौं । यी सबै विषयहरूलाई हेर्दा होली पर्वको महत्व धेरै छ । यसबाट हामीले धेरै कुरा सिक्न सक्दछौं । तर, केही समय यता होलीपर्व विकृतिका रूपमा देखापरेको छ ।

पछिल्लो समय होली पर्वका दिन जथाभावी लोला हान्ने, कालोमोसो दल्ने, रंग छ्यापी दिने जमातहरू बढ्दै गएको छ, जुन हामीले गएको वर्षहरूमा देखेका छौं । यसवर्ष पनि यो कुरा पूर्णरूपले हट्छ भन्नेमा हामी ढुक्क छैनौं ।

होली पर्व सद्भाव र भातृत्वको मियो हो । समाजमा बढ्दै गएको अपराध मानसिकताले पनि होलीपर्वलाई विकृतियुक्त बनाउने सन्दर्भमा भूमिका निर्वाह गरिरहेको छ । सभ्य समाज निर्माणका लागि पनि अपराधिक मानसिकता र प्रवृत्तिलाई निरूत्साहित पार्ने काममा सबै लाग्नु जरूरी छ । होली पर्वलाई मर्या्दितरूपमा सबैले मनाउने वातावरण निर्माण गर्ने काम सबैको हो ।

होली पर्वलाई बिकृत हुनबाट रोक्नका लागि रोल्पाको माडी गाउपालिका स्थित इलाका प्रहरी कार्यलय घर्तीगाउका कार्यलय प्रमुख प्रहरी निरिक्षक राजकुमार पहाडीले होली पर्वलाई संस्कृति र परम्परा अनुसार खेल्न सवैमा अनुरोध गर्नुभएको छ । पर्वका दिन एक आपसमा रङगिएर शान्तिपुर्ण बाताबरणमा होली पर्व मनाउनुको साटो इच्छा विपरीत होली दल्ने, लोला हान्ने, पानी खन्याउने, अमर्या्दित गतिविधि गरेको पाइएमा अभद्र व्यवहार अन्तर्गत कानूनी कारवाही हुने प्रहरी निरिक्षक पहाडीले बताउनुभयो । साथै उहाले कुनै उच्छुङ्खलता देखियो भने पक्राउ गरी कारवाही गरिने समेत उल्लेख गर्नुभएको छ ।

पछिल्लो समयमा बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ्याप्ने, जबरर्जस्ती रङ दल्नेलगायत उच्छृंखल गतिविधि देखिने गरेको छ । यस्ता विकृतिले कतिपयको लडेर त कतिपयको आपसी विवादका कारण मृत्यु नै भएका घटना छन् ।

यस्ता घटना हुन नदिन हरेक जिल्ला र स्थानीयस्तरमा पनि विशेष तयारी र सजगता अपनाउँदै सचेतनाको पाटोलाई खरो ढंगबाट अगाडि बढाउन जरूरी छ । आफ्नो सभ्यता र संस्कृतिलाई संरक्षण गर्दै आगामी दिनमा होली पर्वलाई मर्या्दित पर्वको रूपमा चिनाउन आवश्यक छ ।

५ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको