सेवाग्राहीलाई पहिला मुड्की अनि श्रमस्वीकृति


चैत्र ५, जनकपुरधाम । बाहिर उभिएका सेवाग्राही तँछाडमछाड गर्दै कार्यालय परिसर पुगे। कसैलाई ग्रिल गेटमा चोट लाग्यो त कोही इँट्टामा ठेस लागेर लडे। गेटमा खटिएका कर्मचारी सेवाग्राहीको भीड कार्यालय प्रवेश गरेपछि पासपोर्ट राखिएका कार्टुन छाडेर प्रहरी सुरक्षामा पुगे। कार्यालयमा कोलाहल मच्चियो, आजको अन्नपुर्ण पोष्टले अड्डामा ९८ को अंकमा छापेको छ ।

कर्मचारीले काम रोके। ११ः४८ मा जनकपुरधामस्थित हनुमानगढीबाट सइको कमान्डमा प्रहरी टोली आइपुग्यो। प्रहरीले सेवाग्राहीको पाखुरा, घाँटी, कठालो समातेर लाम लगाउन प्रयास गरे तर सकेनन्। त्यसपछि प्रहरीले सेवाग्राहीमाथि मुक्का प्रहार गर्न थाले। सेवाग्राहीको भागाभाग भयो। उनीहरूले तातो घाममा पसिना मात्र बगाएनन्, प्रहरीको कुटाइबाट रगत पनि बगाउनुपर्‍यो। सेवाग्राही सतेन्द्र यादवको कानबाट रगत बग्यो। उनी ६ दिनदेखि श्रम कार्यालय धाइरहेका छन्। उनी तीन दिनपछि साउदी उड्नु छ।

सेवाग्राही हैरान भइरहेका बेला कर्मचारी भने हाँस्दै बसिरहेका थिए। प्रहरी सुरक्षामा बसेका उनीहरू काम गर्नुको साटो जिस्क्याउँदै भीडको भिडियो खिच्न व्यस्त देखिन्थे। रोकिएको काम मध्याह्न १२ः५६ मा सुरु भयो। तीन कर्मचारी खाना खान गए। अन्यले सुस्त गतिमा काम थाले। ‘ श्रम कार्यालयको सास्तीभन्दा विदेशमा आठ घण्टा काम गरेकै राम्रो लाग्छ’, धनुषा वटेश्वरका जितेन्द्रकुमार महतोले भने, ‘सेवाग्राहीलाई बसेर सेवा लिने कुनै व्यवस्था छैन।’

क्याम्पस चोकबाट श्रम कार्यालय साढे तीन महिनापछि सारिएको छ। तर, एक सातासम्म पनि सेवा अस्तव्यस्त छ। तीनतले भवनको १ नम्बर कोठामा भित्रबाट चुकुल लगाइएको थियो। अपराह्न २ बजेर ६ मिनेटमा ढोकासामु सेवाग्राहीको लाम थियो। ढक्ढकाएको एक मिनेटपछि ढोका खुल्यो। कोठाभित्र ओछ्यान थियो। कुर्सीमै झुलको तुना बाँधिएको थियो। दराज र केही सामान थिए। कार्यालय प्रमुखको नेमप्लेट र देवालघडी भुइँमा फालिएको थियो।

प्रत्येक दिन ५ सयभन्दा बढी सेवाग्राही आउँछन्। तर, कार्यालयमा न बस्नका लागि कुर्सीको व्यवस्था छ न त घामपानी छल्ने कुनै ओत। सेवाग्राही चर्को घाममा पसिना चुहाउँदै लाम लाग्नुको विकल्प छैन। कतिपय त बेहोस पनि हुन्छन्।

साँझ ५ः४९ बजेसम्म पनि भीड कम भएको थिएन। कार्यालय प्रमुख र सहयोगीबाहेक कर्मचारी एक÷एक गरी प्रहरी सुरक्षामा बाहिरिसकेका थिए। साँझ परेपछि सेवाग्राहीले काम नभए पनि पासपोर्ट जम्मा गरिदिन कार्यालय प्रमुखलाई बिन्ती बिसाए। दिनभर कार्यालयले गरेको कार्यसम्पादनको सूचना लिन अन्नपूर्ण टोली पनि भित्र पस्यो। एक बिचौलिया बाहिर कार्यालय प्रमुखविरुद्ध खनिँदै थिए। उनले अन्नपूर्णकर्मीलाई पनि चोरऔंला उठ्याए। ‘ओए ! पत्रकार बाहिर निस्की, तँ केको पत्रकार हँ ? ’, उनले भने, ‘जनताको काम गराउन सक्दैनस्।

भित्र घुस खान गएको।’ सेवाग्राहीले उनलाई धकेल्दै बाहिर निकाले। प्रहरी भने मूकदर्शक भए। बिचौलियाको हुलहुज्जतले गर्दा कर्मचारीले अन्नपूर्ण टोलीलाई सूचना दिन पनि भ्याएनन्।

‘हाकिम साहेब हाम्रो पासपोर्ट लिइदिनू’, सेवाग्राहीले भने, ‘बरु हामी फेरि भोलि आउँछौं।’ तर, अर्का कर्मचारीले पासपोर्ट नलिन कार्यालय प्रमुखलाई सुझाए। ‘साँझ परिसक्यो जति काम गरे पनि अपजस मात्रै छ’, उनले भने, ‘आज पासपोर्ट राखेर भोलि काम गर्दा उल्टै कर्मचारीले घुस खाएको आरोप लगाउँछन्।’ कार्यालय प्रमुखले फारम र पासपोर्ट बुझेनन्।

५ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको