नेकपा एकताप्रक्रिया लम्बियो, माधवको चेतावनीले थप जटिल


चैत ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया लम्बिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारमा अमेरिका प्रस्थान गरेपछि एकता प्रक्रिया लम्बिएको हो ।

नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । प्रचण्ड अमेरिका जानु अघि नै सांगठानिक एकता प्रक्रिया टुंगो लगाउने गृहकार्य अगाडि बढेको थियो । तर शीर्ष नेताहरुबीच सहमति जुटन नसकेपछि बैठक बस्न सकेको थिएन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच एकता प्रक्रियाको बाँकी काम टुंगो लगाउने बारेमा अनौपचारिक छलफल भएपनि सहमति जुट्न नसकेको बताइएको छ ।

अध्यक्षद्धयले मात्र गर्ने निर्णय मान्य नहुने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएपछि सांगठानिक एकता प्रक्रिया थप जटिल बनेको छ ।

पार्टी एकता प्रक्रिया ढिलो हुँदा ठूलो निराशा छाएको नेकपाका नेता मणि थापाले बताए । उनले भने– समयमा नै सांगठानिक एकता प्रक्रियाको काम टुंगो लगाउन सक्नु पर्दथ्यो, समयमा कार्यविभाजन पनि हुन सकेन,यसले पार्टीलाई घाटा पुग्छ ।’

स्थायी समिति बैठक मार्फत गठन भएको कार्यदल भंग गरेर अध्यक्ष ओलीले चलाखीपूर्ण ढंगले पुनः अधिकार सचिवालयमा नै ल्याउन सफल भएका थिए । भित्री रुपमा आफू निकट व्यक्तिलाई मात्र सांगठानिक जिम्मेवारी दिने तयारी गरेपछि वरिष्ठ नेता नेपाल पक्षले असन्तुष्टि जनाउदै आएको छ । प्रदेश कमिटी गठनमा नै नेपाल पक्ष अध्यक्षद्धय ओली र प्रचण्डसँग असन्तुष्ट छन् ।

नेकपाभित्र सरकारको नीति विपरीत सरकार सञ्चालन भएको भन्दै विवाद चुलिएको छ । नेकपाका एक केन्द्रीय सदस्यले भने–सरकारले नागरिकहरुको आवश्यकतालाई भन्दा पनि सस्तो लोकप्रियताको लागि काम गर्दा परिणाम निस्किन सकेको छैन् ।

नेकपाको नेतृत्वमा सरकार गठन भएको एक बर्ष वितिसक्दा समेत न्युनम काम पनि गर्न नसकेको भन्दै नेकपाका नेताहरुले नै सरकारको आलोचना गर्दै आएका छन् ।

५ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको