‘धर्मको पुच्छर अनि काँग्रेसको बैतरणी’


जनकराज ढुंगाना ‘कालु’ । नेपाली काँग्रेसमा अथर्ववेदमा उल्लेख गरिएको जस्तो ‘अभिवर्धतां पयसाभी राष्ट्रेण वर्धताम्’ जपको अपेक्षाअनर्थ हुन्छ ।ऋग्वेदको मण्डलमा उल्लिखित ‘मधु वाताऋतायते मधुं क्षरन्तिसिन्धवः । माध्वीर्नः सन्त्वोषधीः’ जस्तो सार्थक कर्ममा आफूलाई उभ्याउनुको अर्थ खोज्दा पनि अनर्थ हुन्छ । काँग्रेस संरचनामा मात्र खण्डित हैन विचार, नीति, कार्यक्रम र चरित्रमा पनि खण्डित छ । यसबाट ऊ हिजो जनमतमा किन र कसरी पछारियो भन्ने प्रश्नको पनि उत्तर मिल्छ र भोलीको असाध्य धमिलो तस्वीरको पनि ।

यस अघिको अंकमा भनियो ‘जुन दिन काँग्रेसले राष्ट्रियताको अडान छाड्छ, काँग्रेस निरर्थक हुन्छ, जुन दिन प्रजातन्त्रको आदर्श बर्को सत्तास्वार्थको ढाल हुन्छ, त्यो बेला पनि काँग्रेस निरर्थक हुन्छ ।’ जनता सम्म पुग्ने नीति र कार्यक्रमको खडेरी चिर्न त परै जाओस् पार्टीभित्र हाँगा र पात-पात मै गुटेपार्टीको खेतीमा मल हाल्दै रमाएपछि अरु नसकिए पनि कांग्रेस सकिन्छ ।

दुई तिहाईको कम्युनिष्ट सरकारको गति रोक्न उसले बजाएको अधिनायकवाद र निरंकुशताको बाजामा धेरै धून फेरियो, तर कांग्रेस राष्ट्रहितको, जनहितको मैदानमा फेरि उभिने छाँट छैन । काँग्रेस अहिलेको सरकारको बाटो छेक्ने अवस्थामा त छैन नै, आफ्नो बाटो बनाउने स्थितिमा पनि नहुनु कांग्रेसको लागिभन्दा देशकै लागि हानिकारक हुनसक्छ ।

४० वर्षअघि विपीले गरेको चिन्ता कै अवस्थामा आजको कांग्रेस छ । सिद्धान्त र आदर्श रछ्यानमा मिल्काएर फगत सत्ता र शक्तिमा मात्र निशाना साँध्दा राष्ट्रियतासँग काँग्रेसको नाता लगभग टुटेको छ । र, विपीकृत समाजवादको प्रजातन्त्रको पखेटा च्यातिंदो छ । राजाको मूर्खतापूर्ण कदमविरुद्द अर्को अतिवादसँग घाँटी जोडेर गरिएको क्रान्तिको प्रतिफल भोग्दैछ नेपाली काँग्रेस ।

अतः यहाँ देशको धर्मको मात्र जग हल्लिएको छैन, काँग्रेसको धर्मको पनि जग हल्लिएको छ ।

विपीले आठ वर्ष कारावासमा बिताए । अर्को आठ वर्ष निर्वासन भोगे । तर मृत्युपर्यन्त निश्चित दर्शनको केन्द्रमा रही राजनीतिक योग र तपस्यामार्फत् राष्ट्रियता, प्रजातन्त्र र विकासका लागि एउटा मार्गचित्र दिए ‘हरेक नेपालीको घरमा गोठ र गोठभित्र एउटा गाई हुनुपर्छ ।’

यसको आशय दुध, दही र पनिरका लागि मात्र गाईको आवश्यकता महशुस गरिएको थिएन त्यसभित्र हिन्दुत्वको महत्ता पनिथियो । तर कांग्रेस हिन्दूत्वको त्यो महासागरबाट किनारा लागेर अरुसरह निरपेक्षताको वीष समान गीतमा नाचिरहेको छ ।

विचारले आस्थाको माग गर्दछ वा, आस्थाले विचार बोक्छ । विचारमाथिको गहिरो विश्वासको नाम आस्था हो । विचार आस्थामा परिणत भएपछि त्यो बज्रलेप अर्थात सुदृढ हुन्छ । त्यही आस्थाले त्याग, उत्सर्गका निम्ति प्रेरित गर्छ । आस्थाले प्रतिफलको अपेक्षा गर्दैन, लाभ–हानिको जोखतौल गर्दैन ।

भौतिकताको रौँ चिरा तर्कको आश्रयमा आस्था बस्दैन । जब आस्थामै धमिरा लाग्छ भने संघर्ष, त्याग र बलिदानको गीत को गाउँछ ? नेपाली कांग्रेसको हकमा यही लागू हुन्छ । महासमिति वैठकमा प्रवेश पाएको हिन्दुत्वको प्रश्नलाई किराँत र बौद्धमार्गी कार्यकर्तासँग जोखेर काँग्रेस सनातन जगबाट भाग्यो । आफ्नै धर्ममा टिक्न, अडिन र उभिन नसकेपछि संकटले छोप्छ, जायजै छ ।

नेपाल धर्मनिरपेक्ष भएदेखि काँग्रेसलाई हिन्दुत्वको खटिरा ले नचिलाएको होईन । देखाउँदा लुतो होला भन्ने डर र नदेखाउँदा पार्टी सकिने भय । यही भयबाट अझै त्रस्त छ कांग्रेस । खुमवहादुर खड्का भ्रष्टाचार मुद्दाबाट सफाई पाएपछि हिन्दुत्वको रक्षाखातिर ‘नयाँ कांग्रेस बनाउन तयार छु भन्थे ।

खड्काको अवसानपछि खड्काकै आत्मा बोकेर घरानिया कांग्रेसको दौडाहा शुरु भो । तर महासमितिमा घरानियाँ कांग्रेस चूँ बोलेन । १३औं महाधिवेशनमा सभापति देउवाको विकल्प दिन्छु भन्दै दौडनेको दौडाहाको मुद्दा निहुरिमुन्टीमै टर्यो । न गिरी बोले, न केसी । न सिंह न थापा । एउटा कार्यक्रममा अर्जुन नरसिंह केसीले ‘म धार्मिक स्वतन्त्रताको पक्षमा छु’भन्दै गर्दा ‘म धार्मिक हस्तक्षेपको विरुद्ध र सनातन परम्पराको जगमा उभिएको छु’सम्म भन्न सकेनन् । निरपेक्षताविरुद्ध जनमत संग्रह चाहिन्छ भनेर डंका पिट्ने व्यक्ति समूह र परिवारको लंकाजल्ने भयले मौन रह्यो ।

देखाउने दाँत र चपाउने दाँत अलग्गै बोकेर हिंडेपछि न नेताको विश्वास हुन्छ न पार्टीको । नत्र व्यारेक र वाहिनिबाट देविदेवताका नाम हटाउने अभियान छेडिंदा मुर्दा बोल्ला कांग्रेस बोल्दैन । प्राण भए त बोल्ने हो, प्राण नै नरहेपछि को बोल्छ ? द्रव्यको मोह माधार्मिक साम्राज्यवादको मतियारको काम गरिरहेको समाजकल्याण परिषद् अखडामा ऊ धावा बोल्दैन । बैदेशिक द्रब्यलिने संस्थाहरुको अनुगमन अब गृहबाट अर्कै पांगदुरे मन्त्रालयमा स्थानान्तरणको तयारी हुनलाग्दा कांग्रेस सुतिरहेको हुन्छ ।

काँग्रेसले स्थापनाको पहिलो घोषणामै ‘श्री ५ को वैधानिकनायकत्व’ उल्लेख गरेर ‘राजत्व’ प्रति आस्था दर्शायो । सैद्धान्तिक आधार प्रजातन्त्र रह्यो जहाँ शासन व्यवस्थामा राजाको स्थान थियो । वैधानिक राजाको अवधारणा यही हो । जसै प्रजातन्त्रपक्ष र राजापक्ष छुट्टियो, न राजतन्त्र बच्यो न प्रजातन्त्रैको निश्चितता रह्यो । वैधानिक बाटो छाड्दा ज्ञानेन्द्र कुम्लोकुटुरो बोकेर नागार्जुनमा सीमित भए । प्रजातन्त्रैको मेरुदण्डमा बलियोसँग उभिन नसक्दा कांग्रेस जनमतमा पाहाझैं पछारियो । उसकै समाजवादको गीत अलापेर अरुले कुरुक्षेत्रमा पछारिसक्दा पनि ऊ ब्यूँझन सकेको प्रतीत हुन्न ।

बरु नयाँखबर आउँदैछ पुनःमुसिकाभवः शैलीमा । पशुपतिशमसेर र प्रकाशचन्द्रको हलोमा नेपाली कांग्रेस नारिन लागेको बिद्रुप खबर । निर्मल निवाशको सहभोजमा देउवालाई गरिएको आमन्त्रण यदि झुठो होइन भने कांग्रेस अब बिरालो बोकेर बाघ मार्न निस्किएको ठम्याउँदा हुन्छ ।

तर हिन्दुत्वको तीर साँध्दा फेरि राजाको भूतको भयबाट कांग्रेस त्रस्त छ । धर्म चलाउँदा राजाले पनि कब्रस्तानबाट उठेर कठालो समात्ने भयबाट ग्रस्त । त्यसैले ऊ अन्तरिम संविधानमा धर्म निरपेक्षता कसले कसरी प्रवेश गरायो भन्नेबारे जनतालाई बुझाउन जिब्रो चपाउँछ । हामीबाट गल्ती भयो भनेर हिंड्न लरखराउँछ । निरपेक्षताको डोरी समातेर कसरी द्न्द्वको खेती भइरहेको छ भनेर ढुंगो बोल्ला कांग्रेस बोल्दैन । धर्म, जात र भूगोलको वृत्तभित्र कसरी कांग्रेस पनि हारिरहेको छ भनेर हेर्न अन्त जान नपर्ने भएको छ ।

धर्म, राजनीति, अर्थनीति एवम् सामाजिक सम्वन्ध नैतिक र चारीत्रिक उत्कर्षमा गतिमान हुन्छन् । धर्म आडम्बरमा, राजनीतिक पटमा, अर्थनीति स्वार्थमा, सामाजिक सम्बन्ध वैभवको प्रतिष्पर्धामा लक्षित भएपछि चरित्र कसरी आदर्श बन्छ ? नैतिकता कसरी प्रतिस्थापन हुन्छ ?

पार्टीका मसिहाहरुमा पारदर्शिता, सदाचार खोज्यो भने दुनिया हाँस्छ । अनि हामी प्रजातन्त्र नैतिक र चारित्रिक धरातलमा विकसित हुने आदर्श फलाक्छौं । को पत्याउँछ ? यो विरोधाभाष सबै संरचनामा विद्यमान छ । जनतासँगको सम्बन्ध टुट्नुमा यो ठूलो कारण हो भनेर अझै चेत घुसेको छैन । क्रान्ति सत्ताको सवालमा मात्र केन्द्रित हुने तर सोच र चरित्रमा कहिल्यै नहुने ? राजनीतिक साधनाको अर्थ सत्ता, सुखभोग, विलास, नाता सम्बन्ध र परिवारको मात्र कल्याण ? नेतृत्वको अर्थ सामाजिक विश्रृंखलता, अराजकता, असुरक्षा, अभाव मा मौनता साँध्ने प्रमाण पत्र मात्र ?

पार्टी हुनुको अर्थ जनसंख्या, भूगोल, सार्वभौमिकता, सभ्यता, संस्कृति, भाषा, स्वाधीनता, स्वतन्त्रता, राष्ट्रिय एकता जस्ता विषयमा आफ्नै आदर्श र अडानमा उभिन सक्नु पनिहो । प्रान्तीयता र धर्ममा संकुचन आउँदैमा समृद्दि रोकिने त होइन तर राष्ट्रिय एकताको जरो बलियोसँग सम्हाल्न नसक्दा त्यसले पैदा गर्ने अनिश्चितता र दिशाहिनताले पार्टी र देश दुबैलाई दलदलमा लैजान्छ । अन्तद्र्वन्द्व र अन्तरविरोधको जालोमा जेलिएको कांग्रेस अकमण्र्यताको स्थितिबाट बाहिर निस्किए मात्र देशले पनि ठोस निकास पाउने हो । तर त्यो बाटो पनि कांग्रेसका लागि टाढा बन्दै गएको छ ।

७ फाल्गुन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको