‘सेतो सुनबारे चासो’


पुरुषोतम लम्साल । सेतो सुनको समाजशास्त्र गज्जबको छ । हिमाली जिल्लामा हिउँकै कारण पठनपाठन हुन नसकेर विद्यालय बन्द हुन्छ तर तिनै विद्यालयमा हामी स्की शिक्षा दिन सकिरहेका छैनौ । हिउँकै कारण उपल्ला हिमाली क्षेत्रबाट कम्तीमा चार महिनाका लागि बसाईसराई गर्नु हाम्रो सभ्यता बनिसकेको छ तर तिनै गाउँहरुलाई हामीले हिउँमा खेलिने साहसिक पर्यटनसँग जोड्न सकेका छैनौं । उपल्ला हिमाली भेगलाई मानव वस्तीविहीन हुनबाट बचाउन पनि अब सेतो सुनको समाजशास्त्र खोजिनुपर्छ ।”


***
विमानस्थलबाट लुसुलुसु बाहिरिने तस्करीको सुनलाई हामीले किलो, बोरा, क्विन्टलमा धेरै नाप्यौं । समातिएपछि तामा नामको धातु बन्ने पहेंलो सुनको पनि चर्चा भो । आज चाँहि सेतो सुनको कुरा गरौं ।

सेतो सुन चाँहि तस्करी नगरेरै आउँछ । पगाल्न पनि पर्दैन । बरु यसमा पौडन, दौडन, लडीबुढी गर्न मिल्छ । अनुपातमा देशको पाँच हजार मिटरमाथि उधुम फल्छ । तर राज्यले सेतो सुनको फसलको कारोबार गर्न अनेक तरिका लाउन सक्थ्यो, वास्ता गरेन भन्ने आजको चिन्ता हो ।

सेतो सुन अर्थात् हिउँ । भाँती पुर्याए मनग्गे आर्थिक उपार्जन गर्न सकिने भएकाले हिउँलाई सेतो सुन भनिएको हो । त्यसैले समृद्धिको चर्को नारामा सेतो सुन पनि तदनुरुप उपयोग गर्न केन्द्र, प्रदेश र स्थानीय सरकार चलायमान भइदिए हुन्थ्यो भन्न खोजिएको हो ।
***
यो सप्ताह नेपालमा आँगनमा वा आँगननजिक हिउँ खेल्न चाहनेका लागि बहार आयो । सेताम्य आली, गह्रा, डिल, डाँडा र चुचुरामा हिउँसँग रमाउने धेरैको मनोइच्छा पूरा भयो । हिउँमा छोपिने हिमाली खर्कनजिकका सर्वसाधारणका गालाका मुज्जा पनि खुसीले तन्किए । हिमपात र चिसोको मारले बेसी झरेकाका ओठमा पनि खुसी फूल्यो । परारै लेकबाट बेशी र शहर बसाईसराई गरेका केहीले पनि यो वर्ष गाउँ पुगेर हिउँसँगको सम्बन्ध गहिरो बनाए ।

मनमा भने अर्कै विषय हुँडलियो । कुनैबेला रसुवा जिल्लाको स्यांगजेन खर्कमाथि आँखा गाडेका भू—माफियाको विषय पुनरावृत्ति भो । पुतलीसडकको एउटा घरमा सानो गल्लीहुँदै पुगेको थिएँ रसुवाका एकजना कानुनव्यवसायी (नाम दिमागमा आएन) को कार्यालय । उनैले भनेका थिए, ‘याक चौरी र भेडाच्यांग्राको चरनको रुपमा उपयोग हुँदै आएको खर्क नै व्यक्तिको नाममा दर्ता गर्न चलखेल भइरहेको छ ।’ बुझ्दै जाँदा थाहा लाग्यो केही खर्कमा चिनिया पक्षसँग विवाद रहेछ र, केहीमा पर्यटन व्यवसायीले हिउँमा खेलिने खेल स्कीका लागि केही समथर उपल्ला भेगमा दागा झरेका रहेछन् । सत्र वर्षअगाडिको यो प्रसंग यत्ति नै ।

त्यही बेला एउटा अध्ययन सार्वजनिक भएको थियो (शैक्षिक प्रयोजनका लागि) ताप्लेजुंगको घुन्सा उपत्यका र आसपास क्षेत्रको । साहसिक पर्यटनसम्वद्ध केही व्यवसायीले नक्सा र तस्वीर जुटाएर उक्त क्षेत्रमा पनि स्कीको सम्भावना खोजे (बिदेशी समूहले ३० वर्षअघि नै स्कीको संस्थागत प्रयास गरेका थिए) । त्यसको दुई वर्षपछि भएको हवाई दुर्घटनामा डा. हर्क गुरुङ्गलगायतका विशिष्ट व्यक्तिले ज्यान गुमाएपछि घुन्साको कालो दागमा स्कीको सम्भावना केलाउने प्रयास थाँती रह्यो जस्तो लाग्छ ।

धेरै भाषण सुनियो—विकासका लागि हिउँ र पानी आधार हुन् भनेको । हिउँले पर्यटन र पानीले जलविद्युत देखाउँछ भनेर म बुझ्छु । तर, पर्वतारोहण, पदयात्रा र जलयात्राबाहेकका क्षेत्रमा सरकारको कुम्भकर्ण निद्रा देखेर विस्मित हुन्छु । यी क्षेत्रमा पनि सरकारी ढिलासुस्ती, अपारदर्शिता र बिसंगतीको चक्रलाई निजी क्षेत्रले ढाकछोप गरेर लाज बचाइराखेका छन् भन्दा अन्यथा हुँदैन । नेपालमा पर्यटनको याम भनेर पर्वतारोहण (हिमाल आरोहण)बाहेक मुख्य तीन महिना लाग्छ । बाँकिको तीन महिना शितकालीन पर्यटन (विन्टर टुरिज्म) कार्यक्रमको जग बसेकै छैन भन्दा हुन्छ ।

पर्यटन सँस्कृति तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वर्षमा २० लाख पर्यटक ‘यूँऽ गरेर !’ ल्याइन्छ भन्दै गर्दा एउटा प्रश्न सोध्छु, मन्त्रीज्यू ! पर्यटक घाम ताप्न त नेपाल जाने होइनन्, ‘जनवरी टू मार्च’का लागि हिउँसँग खेल्ने पर्यटन कार्यक्रम, गन्तव्य, लगानी, पूर्वाधार र विकासबारे केही छ ? जुम्लामा ‘विन्टर क्याम्प’ र तराईमा ‘समर क्याम्प’ राख्नेबारे कुनै योजना छन् ? डोल्पा, उपल्लो मुस्ताङ्ग वा लाङटाङ क्षेत्रमा ‘विन्टर क्याम्पसाइट’, ‘स्की माउन्टेनियरङ्गि’ एवम् स्की खेलको विकासबारे केही जिनिस् छन् ? हिमाली खर्क र पासहरुमा साहसिक खेलको सम्भावनाबारे ‘लौ न केही गरौ’ं भन्नुभएको छ ? मन्त्रीज्यू ! ठूला जहाज मात्र समृद्धिका सूचक होइनन्, साना साना एडभेञ्चरले पनि ठूलो समृद्धितिर डो¥याउँछ भन्न मात्र खोजिएको हो । पर्वतारोहण विश्वविद्यालय त खुल्यो, अब स्की विद्यालयतिर पनि आँखा डुलाऔं न है भन्न खोजिएको मात्र हो ।

पानी नपाईने मरुभूमितूल्य दुबईले कृत्रिम स्की रंगशाला बनाएर पर्यटक आकर्षित गर्दै मनग्गे अर्थोपार्जन गरिरहेको छ । यूरोपको एल्प्स पर्वतमाला क्षेत्रमा केही त्यस्ता स्की क्षेत्र छन् जहाँ एउटै क्षेत्रमा वार्षिक लाखभन्दा बढी पर्यटक ओइरिन्छन् । एकै व्यक्तिले फरकफरक देशको स्की क्षेत्रको भ्रमण गर्ने आधारमा वर्षेनी १ करोड तीस लाख पर्यटक गणना हुने रहेछ । मन्त्रीज्यू ! मान्छेले खेती गर्न नपर्ने हिउँ पर्ने मुख्य तीन महिना लक्षित गरी हिमाली क्षेत्रमा पर्यटन पूर्वाधार कार्यक्रम ल्याउन केले छेक्छ ? पदमार्ग खोजीको नाममा तामसी हूल बाँधेर जानेलाई मन्त्रालय र पर्यटन बोर्डमार्फत गरिंदै आएको करोडौं अपारदर्शी खर्चलाई स्की क्षेत्र खोजी र व्यवस्थापनमा लगानी गर्न केले रोक्छ ?

पानीमा धनी भनियो विद्युत्को उज्यालोका लागि तड्पनपर्ने स्थितिबाट बालबाल मुक्ति मिल्यो । हिमाल र हिउँमा विश्वमै धनी भनिन्छ मानचित्र खोतल्दा साहसिक पर्यटनका लागि व्यवस्थित स्की क्षेत्र नभएका देशको सूचीमा अफगानिस्तान, बोलिभिया, कम्बोडियापछि नेपालको नाम आउने रै’छ । मलाई त ग्लानी हुन्छ, तपाईलाई हुँदैन मन्त्रीज्यू ? विश्वका ६७ देश हिउँमा खेलिने खेल स्कीका लागि प्रविधि र पूर्वाधारयुक्त रहेको सूचीमा नेपालको नाम जति घोटे पनि निस्किएन । खिन्न भएँ । भारत र पाकिस्तानको जम्मु—काश्मिर र लद्दाख क्षेत्र, हिमाञ्चल र उत्तराखण्ड शितकालीन पर्यटनको गन्तव्य बन्दै रहेछन् । १५ वर्षअगाडि पहिलो स्की आरोहणको अभ्यास (एलिसन गानेटको नेतृत्वमा सन् २००३) गरेको भुटान बिदेशी बोलाउँदै स्की कार्यक्रम प्रवद्र्धनको तयारी गर्दैछ । चीनले गत वर्ष मात्र ५७ वटा स्की क्षेत्र विकास कार्यक्रममार्फत पूर्वी यूरोपलाई समेत उछिनेर संसारका साहसिक पर्यटक र व्यवसायीलाई ‘लौ आओ अब चीन !’ भनेर सन्देश दियो । हामी चाँहि सुरक्षित र सम्भावित ‘स्नो जोन’ र ‘स्की जोन’को पहिचान पनि गर्न नसकेर अल्मलिइरहने ? मन्त्रीज्यू ! यो जोनको पहिचान कहिले कसले गर्ने ? त्यहाँ पूर्वाधार (सहज पहूँच, आवास, संचार)को विकास कहिले गर्ने ? समुदायलाई अग्रसर बनाउने कहिले ? स्की पुस्ता निर्माणमा राज्यले पहलकदमी लिने कहिले ? ढिलो भएन ? मन्त्रीज्यू ! याद राख्नुहोस्, पशुपति डुल्न आउने १ हजार भारतीय पर्यटकले गर्ने खर्च र २० जना स्की पर्यटकले गर्ने खर्चको अनुपात लगभग उस्तै हो है ।

गत वर्ष दोलखाको कालिञ्चोकमा र यो वर्ष मुस्ताङ्गको मुक्तिनाथ क्षेत्रमा स्की उत्सव भए । उत्तम । निजी क्षेत्र र युवा पुस्ता तात्नु सकारात्मक छ । सहभागिता बृद्धिदर पनि आशाप्रद छ । तर, स्कीमा नीजि क्षेत्र जति उत्साहित देखिन्छ उति भयभित पनि । ठूलो लगानी गरेर बन्द भएका र विक्रिमा राखिएका विभिन्न देशका स्की रिसोर्टको तालिका हेर्दा उनीहरुलाई जोखिम मोल्न र जोखिमबाट बाहिर निकाल्न सरकारको अग्रसरता महत्वपूर्ण हुनसक्ने देखिन्छ । यहाँ पनि सरकार बोलेको सुनिएन भन्ने हो ।

स्वभाविक छ, स्नोबोर्ड बोक्ने नेपाली युवापुस्ता तयार हुन समय लाग्छ । त्यतिबेला आन्तरिक पर्यटनका लागि पनि ससाना स्की जोन त बन्ला तर प्रविधि र पूर्वाधारमा अन्तर्राष्ट्रिय बजारसँग प्रतिष्पर्धा गर्न त्यति मात्र पर्याप्त हुँदैन । ३८ वर्षदेखि नेपालको पर्यटनसँग जोडिएका क्रेग क्यानोलिकाकै भनाईमा ‘स्की समुदाय बन्न कम्तीमा १० वर्ष लाग्छ र लगानीको अनुपात पनि त्यही रुपमा बृद्धि हुन्छ । देशभित्रै पर्याप्त स्कीयर्स उत्पादन नभएको अवस्थामा अन्तराष्ट्रिय पर्यटक आकर्षित गर्न पनि सहज हुँदैन ।’ अर्थात् पोखरा, सौराहा, होम स्टे, हिमाल आरोहण र पदयात्राको घेराबाट निस्किएर साहसिक पर्यटनमा होमिने साहस हामीले अहिल्यै देखायौं भने वा साहस गर्नेलाई प्रोत्साहित गर्न सक्यौं भने समृद्धिका लागि सेतो सुन अर्को सहायक हुनसक्छ ।

दुई वर्षअगाडि विकासका लागि पर्यटनसम्बन्धी पहिलो विश्व सम्मेलन (बेइजिङ)मा राष्ट्रसंघीय पर्यटन संगठनका महासचिव तलिव रिफाइले सुत्रवद्ध सम्बोधन गरेका थिए । ‘आर्थिक सामाजिक सन्दर्भमा पर्यटनलाई बुझ्न र लागू गर्न चीनले सबैलाई उछिनेको छ’ रिफाइले भने—‘उनीहरु(चीन)ले काम र कामको क्षेत्र पहिचान गरे, त्यसमा लगानीको वातावरण बनाए र पूर्वाधार (होटल, सडक, विमानस्थल र संचार) निर्माण गरे, यसैको बलमा पर्यटनलाई समाज र विकाससँग जोडे ।’ छैन त सुत्र गज्जबको ?

सेतो सुनको समाजशास्त्र गज्जबको छ । केही हिमाली जिल्लामा हिउँकै कारण पठनपाठन हुन नसकेर विद्यालय बन्द हुन्छ तर तिनै विद्यालय लक्षित गरी स्की शिक्षा दिन हामी सकिरहेका छैनौ । हिउँकै कारण उपल्ला हिमाली क्षेत्रबाट कम्तीमा चार महिनाका लागि बसाईसराई गर्नु हाम्रो सभ्यता बनिसकेको छ तर तिनै गाउँहरुलाई हामीले हिउँमा खेलिने साहसिक पर्यटनसँग जोड्न सकेका छैनौं । याक र घोडाको बथान लिएर बेसी झर्ने हिमाली समुदायलाई मौसमी पर्यटनसँग एकाकार गर्ने कार्यक्रम विकास गर्न ढिलो भएन र ? यो प्रश्न केन्द्र सरकारलाई मात्र होइन प्रदेश सरकारलाई, गाउँ सरकारलाई पनि हो ।

अन्त्यमा, शितकालीन ओलम्पिकमा स्की विधामा तीनपटक सहभागी ओलम्पियन दाछिरी शेर्पा फ्रान्स पलायन भए । नहुन् पनि किन ! दुई जना ब्यवसायिक मुक्केबाज (बक्सर) बोलाएर ‘लौ दाछिरी ! यिनीहरुलाई प्रशिक्षण देऊ’ भन्ने ओलम्पिक कमिटीका पदाधिकारीहरु भएपछि । एउटा अन्तर्वार्तामा उनले पूर्वाधार र प्रशिक्षणविनै स्कीमा देशको प्रतिनिधित्व गरेर सहभागी हुनुको उद्देश्य नयाँ पुस्तालाई नेपालमा स्की पनि सम्भव छ है भनेर देखाउनु मात्र रहेको बताएका थिए । सन् २०२२ मा बेइजिंगमा हुने शीतकालीन ओलम्पिकमा दाछिरिकै उत्तराधिकारीको रुपमा सफलराम श्रेष्ठ पंक्तिमा छन् । आशा गरौं, स्कीमा सफलरामपछि अरु पनि सफलरामहरु निकाल्न सबैको घैंटोमा बेलैमा घाम लागोस् ।

२०७५ फाल्गुन ७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको