जनताका चाहना पूरा गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्छ: राष्ट्रपति


फागुन ७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका चाहना पूरा गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने बताएकी छन् ।

प्रजातन्त्रलाई जीवनपद्धति बनाएर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना पनि उनले गरेकी छन् । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीबाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाली जनताको चाहना हो । सम्पूर्ण नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न फागुन ७ ले सबैमा थप ऊर्जा दिने छ ।

उनले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसाथ गर्दै अघि बढ्ने उत्प्रेरणा प्रजातन्त्र दिवसले प्रदान गरोस् भन्ने कामनासमेत गरेकी छन् ।

प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति भण्डारीले यस दिवसले प्रजातन्त्रलाई जीवनपद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

समृद्ध नेपाल निर्माण गर्न सबै अग्रसर हुनुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गरेका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा उपराष्ट्रपतिले मंगलबार दिएको शुभकामना सन्देशमा नेपाली जनताले ऐतिहासिक जनआन्दोलनबाट निरङ्कुश जहानियाँ राणाशासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ गौरवपूर्ण र अविस्मरणीय दिनमा प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर वीराङ्गनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय एकताका साथ देशलाई आर्थिक विकासतर्फ तीव्र गतिमा लैजान सबै नेपालीलाई सत्प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

राजनीतिक सङ्क्रमण अन्त्य भई देश स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको छ भन्दै उनले राष्ट्रियता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपालको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै समृद्ध नेपाल निर्माण गर्नेतर्फ सबै अग्रसर हुनुपर्ने बताएका छन ।

२०७५ फाल्गुन ७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको