कानुनलाई गिज्याई रहेको सुदुरको ‘छाउपडी’


प्रदिप राई ‘अभी’ ।

मानिस एउटा चेतनसिल प्राणी हो । ऊ समय अनुसार परिबर्तन हुनुपर्छ, यो युगको आबश्यक हो । तर हाम्रो मुलुकको बिकट क्षेत्रहरु पुरानै रुढीबादी परम्परामा चलिरहेको छ । जसका कारण महिलाहरुले अकालमै ज्यान गुमाउनु परेको छ । कयौ बलत्कृत हुनुपरेको छ ।

सन्दर्भ सुदुर पश्चिमका छाउपडि प्रथाको हो ।

गतहप्ता मंगलबार राति मात्र बुढीनन्दा नगरपालिका वडा नं ९ को अंगाउपानीमा छाउगोठमा निसासियर ३ जनाको मृत्यु भयो । कासी बोहारा कि ३५ वर्षिय श्रीमती अम्वा बोहोरा महिनावारी भएको चार दिन पुगिसकेको थियाे । पाँचौ दिनमा उनी घर बस्न दिन आएको थियो । नभन्दै चार दिनको राती ज्यान गुमाउन बाध्य भईन् ।

उनी मात्र नभई उनका ९ बर्षका छोरा सुरेश र ७ बर्षका छोरा रमित बोहोरा समेतको मृत्यु भयो । आमाले पनि चिसोमा छोरा सँग न्यानाे होला भनेर गोठमा लगिन्, तर छोरा समेत गुमाईन् । घरसँगै जोडिएको छाउपडि गोठ थियो । स्थानियका अनुसार राती आगो बालेर सुतेको र कम्बलमा आगो सल्कीएपछि निसासियर मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान गरे ।

हजारौं हजुरआमाहरूको मनमा एउटा डर लाग्दो भए छ । महिनावारी भएकाहरु छाउ गोठ नगए मष्टो रिसाउँछन् र मारिहाल्छन् भन्ने ठुलो त्रास छ । तर त्यही मष्टोले अमेरिका, अष्ट्रेलिया, जापान, जर्मन जाने सुदूरपश्चिमका महिलालाई चाहिँ किन मस्टो लाग्दैन ?

सुदूर पश्चिमका पुरूष समेत मष्टोबाट धेरै तर्सेका छन् । त्यसैले आफ्नी श्रीमती, छोरी र नातिनीको सुरक्षाका लागि पुरानो कुसंस्कारको बिरुद्ध बोल्न नसक्नु नै अभिसाफ बनेको छ । समाज नै कथित ‘मस्टो’को त्रासदीमा बाँची रहेको छ । जसको कारण महिलाहरु सिकार भैरहेका छन् ।

छाउगोठमा बसेकी आमा र बच्चाले दूध, दही खान नपाउने लगायतका अन्धविश्वासका कारण महिलाको स्वास्थ्य त खराब हुन्छ नै धेरै बालबालिकाले कुपोषणको सिकार बन्नु परेको छ । टाढाको गोठमा जाँदा कतिपय महिलाहरुले बलात्कृत हुनु परेको छ ।

हुन त अछामकी अप्सरा कुँवरले धेरै अघि नै छाउगोठ जान छोडिसकेकी थिइन् । तर उनको त्यो कुरा पत्रिकामा आएन । सचेतनाको लागि अप्सराले छोडेको छाउ एउटा उदाहरण बन्न सक्थ्यो ।

अछाम र डोटीतिरका केही किशोरी छाउगोठ जानुपर्छ भनेर महिनावारी भएको कुरा ३/४ महिनासम्म पनि भन्दैनन् । यो बिषयमा कसैले सोधिहाले सिधा उत्तर दिन्छन, हामीले औषधि खाएर महिनावारी रोकेका छौं । कुरीतिले निम्त्याएको महाकालबाट बच्न झुट बोलेरै सुरक्षित हुने काइदा उत्त्तम हो।

एकासौ सत्ताव्दीको अन्तिम संघारमा आई पुग्दा मानव सभ्यता र बिकासले फट्को मारिसक्यो । हाम्रो देशमा भने भौगोलिक बिबिधता, गरिबि र अशिक्षाको कारण बिकासले गति लिन सकेको छैन । जसको प्रमुख कारण बिकट बस्तिमा बसोबास गर्ने मानिसको चेतनामा बिकास हुन नसक्दा प्रत्यक्ष असर पारेको हो ।

सरोकारवाला तथा विभिन्न संघ सस्था र महिला अधिकारकर्मीहरुले चेतना मुलक कार्यक्रम गर्दै यो प्रथाको अन्त्य गर्न पहल नगरेको पनि हैन । ‘छाउपडी’ कुरीति विरुद्ध जनजागरणको जनमत नै सिर्जना नभएको हैन । साथै सामाजिक कार्यकर्ता र सरकारी निकायले पनि सकारात्मक भूमिका खेलेको पाइन्छ ।

तर पनि ब्यबहारिक र चेतनामा परीवर्तन हुन नसक्नु दुर्भाग्य साबित बनेको छ । सुदुर कर्णालीका सम्पुर्ण महिला एक भएर जागारण स्वरुप शिक्षा मुलक अभियान संचालित गर्न जरुरी देखिन्छ । किन कि त्यहाँ महिनावारी हुँदा छाउगोठमा नबसेका सुदूर पश्चिम र कर्णालीका महिला र किशोरीहरुले भोग्ने कष्टकर जिबनको बास्तबिकता बाहिर आउन जरुरि छ ।

त्यसो भए मानिसहरूले सुदूर पश्चिम र कर्णालीमा पनि आफ्नो हक हितको लागि आवाज उठाउने महिलाहरू रहेछन् भन्ने आपनत्व ग्रहण गर्छन । कर्णाली भन्दा बाहिरका महिलाहरुले जुन बेला महिनावारी अर्थात “छाउ” भएका बेला घरमै बसेका उनीहरूले ‘पाप’को अनुभूति गरेका छैनन् भन्ने कुराको स्पस्ट बुझाउन सक्नु पर्छ । महिनावारी हुनु कुनै धार्मिक हैन यो शारीरिक बिकासले ल्याउने परिबर्तन हो भन्ने अबधाराणा गराउन विभिन्न कार्यक्रम तथा सुचना प्रवाह गर्नु जरुरी देखिन्छ ।

जब बच्चा हुर्किदैन गर्छ, साना बालबालिकालाई झाडापखाला लाग्छ तर आमाबाले बच्चालाई धामीकहाँ लगिन्छ । उनीहरूले ‘झाडापखाला लागेको बेला पानी पनि खान नदिनू’ भनिन्थ्यो । पानीको कमी भएर बालबालिका मर्थे, यो रुढीगत चेतना हो ।

धामीहरूलाई यहि विषयमा जानकारी दिएपछि ‘बच्चाको जीवन बचाउन जीवनजल खानैपर्ने रहेछ’ भन्नेउनीहरुले बुझे । उनीहरूले बच्चालाई फुकफाक गरे पनि स्वास्थ्यचौकीमा जीवनजल ख्वाउन पठाउन थाले । सरकारले पनि आमसञ्चार माध्यमबाट नुन, चिनी, पानी र जीवनजलबारे जानकारी दियो र जनसमुदायमा जीवनजल पखाला लाग्दा ख्वाउनपर्ने रहेछ भन्ने बुझाइ बन्यो ।

अहिले कसैले पनि झाडापखाला लागेको बेला जीवनजल ख्वाउनु हुँदैन भन्न सक्दैन । यसैगरी छाउपडी विरुद्ध पनि बोल्ने हो भने सुधार आउन सक्छ । अहिले अछाम, डोटीका धामीहरू पनि यस कुरीतिबारे बोल्न थालेपछि चेतना बढेको छ । छाउपडी गलत हो भन्ने विचार स्थापित भएको छ । यस विरुद्ध आवाज उठेपछि नै समाचार छापिएका हुन् । छाउपडी विरुद्ध काम भएर नै यस्ता घटना बाहिर आएका हुन् ।

पछिल्लो समय ‘छाउपडी’ हटाउन सरकारी तवरबाट पनि केही कदम चालिएका छन् । तर प्रश्न उठ्छ, यी कदम किन सफल भइरहेका छैनन् ?

महिलाहरुले महिनावारी भएको ५ देखी ७ दिन समय सम्म घर बाहिर अलग्गै बस्नु, सार्वजनिक पानी पधेरा प्रयोग गर्न नपाउँनु, गोरसपात खान नपाउनु, फलफुल जन्य वनस्पति छोएमा कडा धम्की सहनु पर्ने, अनि संयोगले कसैको शरिरमा छोइए पनि दुर्वाच्य सुन्नु पर्ने लगाएत उनी महिनावारी हुँदाको समयका पीडा भाेग्न बाध्य छन । सँग-सँगै देवी देवता रिसाउने भन्ने कुप्रथा मान्यताले पनि घरमा बस्न सक्दैनन् ।

छाउलाई नछुने कानुन

सरकारी निकायले कागजी रुपमा गरिएको पहल ब्यबहारिक हुनु आवश्यक देखिन्छ । सर्वोच्च अदालतले २०६२ सालमा बैशाख १९ गते छाउपडि प्रथालाई कुरीति घोषणा समेत गरेको थियो । सरकारको निर्देशन पछि २०६४ सालमा कुरीति घोषणा गरेर छाउपडि प्रथा उन्मुलन सम्बन्धि निर्देशिका २०६४ समेत जारी गरेको थियो । छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ ।

विशेषगरी नेपालको सुदूरपश्चिमका केही जिल्लामा महिनावारी भएका बखत् महिलाले घरभित्र बस्न नपाउने र गाई, भैँसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको छ । त्यस्तो कार्यमा बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ । तर अहिले सम्म कसैलाई पनि छाउगोठमा राखेको भन्दै कार्यवाहि गरिएको छैन् । कानुन कागजमा मात्रै कोरिएको छ तर ब्यबहारमा लागु हुन सकेन ।

छाउपडीबारे बोल्दा केही संस्था र व्यक्ति महिनावारी भएका महिलालाई सुरक्षित रूपमा बस्न सुरक्षित छाउगोठ बनाइदिनुपर्छ भन्ने गलत तर्क दिने पनि पाईन्छ । यसले महिनावारी फोहोर हो । यो बेला भिन्नै ठाउँमा बस्नुपर्छ भन्ने गलत मान्यता स्थापित हुन्छ । के त्यसो भए दलितहरूलाई ब्राह्मणहरूबाट टाढा लगेर सफा घर बनाइदिने, तिनका केटाकेटीका लागि अलग्गै स्कुल र अस्पताल बनाइदिने ?

यस्तो मान्यतालाई हामीबाटै बहिस्कार गरिनुपर्छ । यस्तै ‘सुरक्षित छाउघर’ बनाउने कुरा कु-प्रथालाई जोगाई राख्न प्रोत्साहन दिए सरह हो ।

जबजब छाउपडी गोठमा महिलाको ज्यान जान्छ तब सरोकारवालाहरुले बिकट जिल्लाका होटेलहरुमा बहस चलाउन थाल्छन् । अभियान सञ्चालन गर्ने बहानामा तालिम, गोष्ठी सदरमुकाममा चलाएर काम पुरा भएको प्रतिवेदन पेश गर्छन् । अहिलेसम्म जे जति छाउपडी गोठमा ज्यान गुमाउने महिलाको संख्या बाहिर आएको छ त्यो भन्दा धेरै ज्यान गएको छ । छाउपडी विरुद्ध बनेका कानुन व्यवहारमा लागू भएका छैनन् ।

कति कुरुप बन्यो हाम्रो समाजको डरले ती आमा मौन रहिन्, अन्तमा त्यहि गोठमा मृत्युवरण गरिन् । धर्म र परम्पराको नाममा कति आडम्बरी, ढोगी हुन सकेको होला मान्छे र हाम्रो समाज ? मान्छे मर्छ । तर कुसंस्कारको जडले छोडदैन । मान्छेको जीवन मृत्युको कुरा छ । अलिकति बुझ्नु पर्दैन हाम्रो समाजले  ?

२ पुष २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको