माथिल्लो त्रिशुली थ्री ‘ए’ को उद्घाटन प्रधानमन्त्रीले ‘एक्शन रुम’बाट गर्ने


मङ्सिर २, काठमाडौं । ६० मेघावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ‘ए’ विद्युत परियोजना सोमबार(आज) औपचारिक उद्घाटन हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार ९ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने आयोजनाबाट हिउँदका तीन महिना ४५ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

गत चैतदेखि नियमित विद्युत् उत्पादन शुरु गरेको आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गर्न लागिएको हो ।

आयोजनाको दोस्रो युनिटले पनि गत साउन १५ गतेदेखि परीक्षण उत्पादन शुरु गरेको थियो । १२ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण भएको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो।

आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक करिब पाँच अर्ब रुपैयाँ आम्दानी गर्ने बताइएको छ। आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले गएको जेठ २ गते नै आयोजनाको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको घोषणा गरेका थिए।

२०६७ साल जेठ १४ गते चिनिया कम्पनीसँग ठेक्का सम्झौता भएपनि झण्डै १० वर्षपछि आयोजना निर्माण भएको हो । २०७१ जेठ १७ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको आठ अर्ब ९१ करोड ७८ लाखमा सम्झौता भएपनि चिनिया कम्पनीले समयमा काम नगर्दा लागत बढेको हो ।

२०७६ मंसिर २,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको