भदौ १, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणलाई साढे ८ अर्ब रुपैयाँभन्दा बढी नाफामा लैजाने घोषणा गरेका छन् । उनले प्राधिकरणलाई सरकारी संस्थानहरुमध्ये एक नम्बरको बनाउनको घोषणा पनि गरेका छन् ।
प्राधिकरणको ३४ औं वाषिर्कोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले गत आर्थिक वर्ष नेपाल विद्युत प्राधिकरणको उपलब्धि र गौरबको वर्ष भएको बताए ।
‘कार्यकारी निर्देशकको व्यवस्थापकीय क्षमता, कर्मचारीको मिहेनत, राजनीतिक नेतृत्वको निरन्तरको सहयोग लगायतले प्राधिकरण इतिहासकै उत्कृष्ठ बन्न सफल भएको छ’, प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहेका पुनले भने । ‘अधिकांश संस्थाहरु घाटामा चलिरहँदा प्राधिकरण खुद नाफा कमाउने अवस्थामा पुगेको छ, अव यसलाई एक नम्बर संस्थान बनाउने छौं ।’
तीन वर्षअघि ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटामा रहेको प्राधिकरणले त्यसपछि निरन्तर नाफा कमाउँदै आएको छ । आर्थिक वर्ष (आव) २०७५/७६मा प्राधिकरण ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संचित नोक्सानी करिब १५ अर्बमा झरेको छ ।
गत आर्थिक वर्षमा विद्युत चुहावटलाई १५.३२ प्रतिशतमा झार्न प्राधिकरण सफल भएको छ । आब ०७४/७५मा २०.४५ प्रतिशत रहेको चुहावटलाई गत आवमा ५.१३ प्रतिशत विन्दुलाई घटाएर १५.३२ प्रतिशतमा झारिएको हो ।
नियमित विद्युत आपूर्ति हुन थालेपछि मुलको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै मन्त्री पुनले आगामी दिनमा मुलकमा पर्याप्त विद्युत उत्पादन भई भारत वंगलादेशसँग विद्युत व्यापारका लागि सौदाबाजी गर्न सक्ने अवस्था पुग्ने बताए ।
मिटर नदिने, ट्रान्सर्फमर परिवर्तन नगर्ने जस्ता ग्राहकसँग प्रत्यक्ष जोडिएका विषयमा गुनासो आउने गरेको बताउँदै मन्त्री पुनले सेवा सुधार गरी ग्राहकमैत्री बन्न कर्मचारीलाई निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस