बाढीपहिरो बितण्डा अपडेट: ९० को मृत्यु, २९ अझै बेपत्ता


साउन २, काठमाडौं । गत हप्ताको बिहीबारदेखि भएको भीषण वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाले ज्यान गुमाएका छन् । बिहीबार बिहान १० बजेसम्ममा मृत्यु हुनेको संख्या ९० पुगेको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै बाढी र पहिरोमा परेर अहिलेसम्म २९ जना बेपत्ता भएका छन् भने ४१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । घाइतेमध्ये ११ जना अहिले पनि विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने अरु उपचारपछि घर फर्किसकेका छन्।

मन्त्रालयका अनुसार झण्डै १२ हजार घर धुरी विस्थापित भएकाले उनीहरुलाई अस्थायी आश्रयस्थलमा राखिएको छ । विपद्मा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् । ललितपुर र सिराहामा छ–छ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा पाँच–पाँच जनाले ज्यान गुमाएका छन् ।

ओखलढुङ्गा, महोत्तरी र डोल्पामा चार–चार तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौँमा तीन–तीन जनाको मृत्यु भएको छ । यस्तै सुनसरी, बारा, धादिङ र दाङमा दुई–दुई, इलाम, पाँचथर, सङ्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा एक–एक जनाको मृत्यु भएको जनाइएको छ ।

बेपत्ता हुनेमा सबैभन्दा बढी डोल्पामा सात, इलाम, मोरङ र सिन्धुलीमा तीन–तीन जना छन् । अहिलेसम्म सर्लाहीमा दुई हजार ४००, रौतहटमा एक हजार ११०, बारामा एक हजार ६६५, पर्सामा १२०, सिराहामा ५००, मोरङमा एक हजार ५३९ लगायत विभिन्न जिल्लामा गरेर झण्डै १० हजार घर विस्थापित भएको जनाईएको छ ।

अहिले राहत वितरण र भौतिक संरचना पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढिरहेको र अवरुद्ध राजमार्ग खुलाउने प्रयाससमेत जारी रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले वर्षा घटेकाले जनजीवन सामान्य हुँदै गएको जानकारी दिएको छ ।

बुधबार मात्र सरकारी उच्चस्तरीय टोलीले तराईको डुवान तथा बाढीको हवाई एवं स्थलगत निरीक्षण गरी स्थानीय अधिकारीमार्फत हालको अवस्था र राहत वितरण कार्यबारे जानकारी लिएको थियो ।

२ श्रावण २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको