खानेपानी मन्त्रालयको प्रगति: देशैभरि सम्पन्न भए ५ सय ४५ आयोजना


साउन २, काठमाडौं । खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले असार मसान्तसम्म देशैभरि सानाठूला गरी ५ सय ४५ वटा खानेपानी आयोजनाहरु सम्पन्न गरेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ को बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय मातहतका निकायहरुले ५ सय २६ वटा साना तथा आधारभूतस्तरका र १९ वटा ठूला गरी ५ सय ४५ वटा आयोजनाहरु सम्पन्न भएको प्रगति विवरण जारी गरेका छन् । यी आयोजनाहरु सम्पन्न भइसकेकाले यसबाट करिब ५ लाख ३३ हजार जनसंख्या खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले २ सय ४२ वटा भूकम्पबाट प्रभावित आयोजनाहरु, २ सय ५० वटा ग्रामीण खानेपानी आयोजनाहरु र ३४ वटा वर्षातको पानी संकलनमा आधारित आयोजनाहरु गरी ५२६ वटा आधारभूतस्तरका खानेपानी आयोजनाहरु सम्पन्न भएको जानकारी दिए ।

त्यस्तै खानेपानी विभागअन्तर्गत तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले १० वटा आयोजनाहरु सम्पन्न गरेको छ । सहलगानी खानेपानी आयोजना अन्तर्गत ९ वटा आयोजनाहरु सम्पन्न भएका छन् ।

तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत सुर्खेतको बाबियाचौर, रुकुमको मुसिकोट, कपिलवस्तुको चन्द्रौटा, चितवनको वीरेन्द्रनगर, कास्कीको निर्मलपोखरी, कञ्चनपुरको सुडा, तनहुँको डुम्रे र आबुँखैरेनी, रौतहटको कटहरिया र उदयपुरको कटारी खानेपानी आयोजनाहरु सम्पन्न भएका छन् ।

त्यस्तै सहलगानी अन्तर्गत मोरङको मानगढ र उर्लाबारी, रुपन्देहीको प्रगतिनगर र नयाँगाउँ, चितवनको रत्ननगर, पर्सा र धनगढा, नवलपरासीको जलुके र दाङको नारायणपुर गरी ९ वटा खानेपानी आयोजनाहरु सम्पन्न भइसकेका छन् । तेस्रो साना सहरी र सहलगानी अन्तर्गत सम्पन्न भएका आयोजनाहरु ठूला आयोजना भित्र पर्दछन् ।

मन्त्रालयका प्रवक्ता शाक्यले एक घर एक शौचालयको अवधारणा बमोजिम साढे ९९ प्रतिशत जनसंख्या आधारभूतस्तरको सरसफाई सुविधाबाट लाभान्वित भएको र आगामी असोज मसान्तसम्ममा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको जानकारी दिए ।

खानेपानी विभागले खानेपानीको गुणस्तर सुधार कार्यक्रम अन्तर्गत निर्माणाधीन २८ वटा आयोजनाहरुमध्ये चालु आर्थिक वर्षभित्र १२ वटा आयोजनाहरु सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ ।

मन्त्रालयको अर्को निकाय आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) अन्तर्गत काठमाडौं उपत्यकाको रिङरोडभित्र लक्षित ७७ किलोमिटर थोक वितरण प्रणाली पाइप लाइन कार्यमध्ये ७५ किलोमिटर पाइप लाइन निर्माण सम्पन्न भएको छ भने उपत्यकामा १० वटा पानीपोखरी निर्माण गर्ने भनिएकोमा ९ वटाको निर्माण कार्य सम्पन्न भइसकेको पिआइडीले जनाएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले काठमाडौं उपत्यकाभित्र १७ किमी खानेपानी पाइप लाइन विस्तार गर्ने भनिएकोमा २० किमी सम्पन्न गरेको प्रगति विवरणमा उल्लेख गरेको छ ।

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको निर्माण कार्य अन्तर्गत सुरुङमार्ग र हेड वक्र्स निर्माण कार्यको बोलपत्र खोली मूल्यांकन भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

मेलम्ची आयोजना दोस्रो चरणको लागि याङ्ग्री र लार्केसम्म पहुँच सडक निर्माण कार्य सुरु भएको छ भने दोस्रो चरणको आयोजनाका लागि मुआब्जा वितरणको प्रक्रिया सुरु भएको समितिले जानकारी दिएको छ ।

मेलम्ची खानेपानी आयोजनाको गत २०७४ चैत २७ गते सुरुङ मार्गको ब्रेक थ्रु भएको थियो । खानेपानी मन्त्रालयले यस अवधिमा खानेपानी तथा सरसफाईको क्षेत्रमा पहिलोपटक मूल विधेयक तयार गरेर प्रतिनिधि सभामा दर्ता गराई पेश गरेको छ । खानेपानी मन्त्री बिना मगरको सक्रियतामा खानेपानी तथा सरसफाई विधेयक तयार भई संसदमा पेश भएको हो ।

२ श्रावण २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको