प्रेसर कुकर बम भनि डिस्पोज गर्न खोज्दा बासी भात भेटिएपछि…


बैशाख ५, काठमाडौँ । प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका दिन बिहिबार मोरङको सुन्दरहरैचा नगरपालिकामा नक्कली कुकर बम राखिएको फेला परेको छ ।

बिहान सुन्दरहरैचा नगरपालिका-७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएकाे फेला परेको हो । सुन्दरहरैचा नगरपालिकामा प्रेसर कुकर बम फेला परेको हल्ला चलेपछि पुर्व-पश्चिम राजमार्ग समेत केही समय अवरुद्द भएको थियो ।

बम फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त प्रेसर कुकरभित्र बासी भात भेटिएको छ ।

कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो । जसले गर्दा स्थानीयमा त्रास फैलाएको थियो । तर भात भेटिएपछि डिस्पोज टोली नै छक्क परेको बताइएको छ । बम भनिएकाे उक्त बस्तु हटाइएपछि अवरुद्द राजमार्ग खुलेको प्रहरीले जनाएको छ ।

५ बैशाख २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको