वैशाख ५, काठमाडौँ । प्रत्यक्ष अवलोकनमार्फत् विकास आयोजनालाई थप तीव्रता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माणाधीन ‘एक्सन रूम’ जेठको अन्तिम साताबाट सञ्चालनमा आउने भएको छ ।
आजको गोरखापत्र दैनिक लेख्छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भुईं तल्लामा अहिले अत्याधुनिक प्रविधिसहितको ‘एक्सन रुम’ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । त्यसको लागत चार करोड ३५ लाख रुपियाँ रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले नयाँ व्यवस्थाले काम गर्न सजिलो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार राष्ट्रिय गौरवका आयोजना लगायतका विकास आयोजनाको अवलोकन तथा सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद, छलफल तथा समन्वय गर्ने उद्देश्यसहित प्रधानमन्त्री कार्यालयमा निर्माणाधीन ‘एक्सन रुम’ जेठको अन्तिम साताबाट सञ्चालनमा आउने जानकारी दिनुभयो ।
प्रवक्ता कुँवरले भन्नुभयो, “निर्माणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक्सन रुम’ बाट नै राष्ट्रिय गौरवलगायत मुलुकका विकास आयोजनाको प्रत्यक्ष अवलोकन, निगरानी गर्न सक्नुहुने छ ।’’ उहाँले थप्नुभयो, ‘‘टेलिप्रिजेन्ट सिस्टम’ मार्फत मुख्यमन्त्रीहरूसँग प्रत्यक्ष बैठक गर्न सक्नु हुुनेछ, यसका लागि प्रधानमन्त्री कार्यालयमा ‘भिडियो कन्फरेन्स’ प्रणाली समेत निर्माण भइरहेको छ ।”
‘एक्सन रुम’ को सञ्चालनसँगै मुलुकका विकास आयोजनाले थप गति लिनुका साथै कुनै विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नका लागि मुख्यमन्त्री काठमाडौँ आउनुपर्ने वाध्यताको अन्त्य हुने जानकारी दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ अस्गर अलीले प्रधानमन्त्रीद्वारा गरिने अनुगमन र अवलोकनलाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याउन लागिएको ‘एक्सन रुम’ मार्फत पहिलो चरणमा राष्ट्रिय गौरवका ११ वटा आयोजनामा सीसीक्यमेरा जडान गरी अनुगमन गरिने जानकारी दिनुभयो ।
पहिलो चरणमा काठमाडौँ–तराई दु्रतमार्ग, मध्य–पहाडी (पुष्पलाल) राजमार्ग, हुलाकी राजमार्ग, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रपति चुरे तराई मधेस भावर संरक्षण, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, भेरी–बबई डाइभर्सन, सिक्टा सिँचाइ आयोजना, रानी–जमरा सिँचाइ आयोजनामा क्यामेरा जडान गरी प्रधानमन्त्रीबाट त्यसको अवलोकन गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
क्यामेरा जडानपछि ‘एक्सन रुम’ बाट सहज किसिमले तिनीहरूको दृश्यावलोकन गर्न सकिने उहाँले बताउनुभयो । आयोजना स्थलमा जडान गरिएको ‘आईपी क्यामेरा’ को नेटवर्किङ एक्सन रुमसँग गरिने उहाँले बताउनुभयो । उहाँले ‘एक्सन रुम’ निर्माणको काम ३० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
पहिलो चरणको कामको मूल्याङ्कन र प्रभावकारिताको आधारमा अरु थप विकास आयोजनाको अवलोकनको व्यवस्था मिलाइने जानकारी सूचना प्रविधि विज्ञ अलीले दिनुभयो ।
प्रधानमन्त्री कार्यालयका अनुसार, ‘एक्सन रुम’ मा तीन/तीनवटा टेलिभिजन, टेलिप्रिजेन्ट क्यामेरा र माइक (स्पिकर) जडान गरिनेछ । त्यसैगरी, प्रदेश मुख्यमन्त्रीको कार्यालयमा निर्माण गरिने ‘भिडियो कन्फरेन्स रुम’ मा एक÷एक वटा टेलिभिजन, क्यामेरा, माइक र डाटा ट्रान्सफर जडान गरिने छ ।
प्रतिक्रिया दिनुहोस