चैत ४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार निषेधको राजनीतिमा अघि बढेको भन्दै सरकारको कार्यशैलीको विरोध गरेको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको दोश्रो बैठकमा बोल्दै कांग्रेसका सांसद सञ्जय कुमार गौतमले विप्लव समूहलाई प्रतिबन्ध लगाएर सरकारले निषेधको राजनीति गरेकोमा आपत्ती जनाउँदै त्यसको विरोध गरे । प्रतिबन्धले नियन्त्रण नभई अराजकता निम्त्याउने र हिंसाको वातावरण बनाउने भन्दै उनले सरकारले अबलम्बन गरेको निषेधको नीतिले मुलुकलाई हानी पुर्याउने दाबी गरे।
उनले भने, ‘यो सरकार वार्ता र संवादको सट्टा निषेधको राजनीतिलाई अगाडि बढाईरहेको छ । यो सर्वथा गलत छ ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीका सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ती जनाए। उनले भने, ‘कहिले प्रधानमन्त्रीज्यू भन्नुहुन्छ ९/९ महिनामा अर्को सरकार देख्न पल्केकाहरुले विरोध गरेका छन्। कहिले सीके राउतको नाममा रोटी सेक्न पल्केकाहरुले के कुरा गर्छन के कुरा गर्छन् भन्नुहुन्छ। हिजो मात्रै पनि उहाँले भन्नुभएको छ ‘मलाई यो देशका बुद्धिजीवि र अगुवा भन्नेहरुको बुद्धी देखेर दया लाग्छ।’ के हामी सबै त्यो दयाका पात्र भएका छौँ सम्माननीय सभामुख महोदय? यो आपत्तीजनक छ।’
सरकारले सिके राउतंसँग सहमति गर्दा सदन र प्रतिपक्षी दलको वेवास्ता गरेको आरोप उनले लगाए। उनले शान्ति सुरक्षा, भ्रष्टाचार, सुनकाण्ड, महिला हिंसा लगायतको अवस्थामा सुधार आउन नसकेको भन्दै सरकारको प्रभावकारीतामा प्रश्न उठाए ।
सरकारका कार्यशैलीले संघीयतालाई झन् झन् कमजोर बनाउँदै लगेको तथा संसदको मर्यादा र गरिमालाई कायम राख्न नसकेको टिप्पणी उनले गरे।
उनले भने, ‘अति सर्वत्र बर्जते। दम्भले अधिनायवाद तर्फ जान प्रेरित गर्छ। प्रधानमन्त्रीका अभिव्यक्तिप्रति हामी राम राम भन्न सक्छौँ काँध थाप्न सक्दैनाै।’
प्रतिक्रिया दिनुहोस