पार्टी कार्यालयमा नेविसंघको धर्ना, कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै


चैत ४, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक केहीबेरमा पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।

पार्टीभित्र अनुशासन र निर्वाचन समिति गठन गर्नेबारे छलफल गर्न बैठक डाकिएको हो । केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेता छुट्टै बैठक बसेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

बैठकका लागि पार्टी कार्यालयमा शीर्ष नेताहरू आउने क्रम बढेपछि भातृ संगठन नेपाल विद्यार्थी संघले तदर्थ समिति गठनको माग गर्दै कार्यालयमा धर्ना दिएका छन्।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेविसंघ नेता, कार्यकर्ताले १२ औं महाधिवेशन गर्नका लागि नेविसंघको तदर्थ समिति बनाउनुपर्ने माग गरेका हुन्।

नेविसंघको विधान कार्यान्वयन गर्नुपर्ने, तदर्थ समिति गठनमा ३२ वर्षे उमेर हद कायम राख्नुपर्नेलगायत माग राखेर महाधिवेशनको वातावरण बनाउन दबाब दिन धर्ना गरिएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले बताए।

यसैविच पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको नेपाली कांग्रेसको शीर्ष नेता, पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सोमबार बस्ने केन्द्रीय कार्यसमितिमा प्रस्तुत हुने एजेन्डामा पूर्वसहमति खोज्न सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेतासँग छलफल गरेका थिए।

सभापति देउवा समूहले वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको भावनाविपरीत विधानमा केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था बहुमतका आधारमा राखेपछि कांग्रेसभित्र विवाद रहेको छ।

४ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको