‘रोल्पामा माओवाद भुलेका माओवादी’


दिनेश सुबेदी/रोल्पा । दुई वर्षअघि सम्पन्न अधिवेशनमा माओवादलाई रोल्पाको थबाङमा छोडेर हिडेको विप्लव नेतृत्वको नेकपाले ‘माओवादी जनयुद्धको २४ औं वर्षगाठ’ सदरमुकाममा चियापान गरेर मनायो। एमालेसँग पार्टी एकता गरेको माओवादी केन्द्र सम्मिलित नेकपाले पनि रोल्पा सदरमुकाम लिबाङमै उस्तै प्रकारको चियापान गर्यो। गाउँ गाउँमा कार्यक्रम भए।

तर ‘महान्’ जनयुद्ध दिवस मनाइँरहदा सहिद र बेपत्ता परिवारमा भने कुनै उत्साह देखिएन। घाइते अपांगता भएका आफ्नो अधकचल्टो शरीरसँगै दैनिकीमा व्यस्त रहे। उनीहरुलाई फाल्गुन १ को सम्झनासमेत भएन। जनयुद्धका बेला छोरा भुवन बुढा मारिनुको कारण केही थाहा नपाएका रोल्पा जेल्वाङका मंगले जीवन मृत्युको दोसाँधमा छन्। ८२ बर्से उनी थला परेको धेरै भयो।

जिल्ला अस्पतालसम्म ल्याएर उपचार गर्ने आर्थिक हैसियत नभएका मंगलेसँग पेटभरि खाने छाक पनि छैन। गाउँमा अबिरलेपन गर्दै हात मुठ्ठी पारेर क्रान्तिकारीहरुले सहिद सम्झिए तर उनै सहिद भुवनका घरमा चुलो पनि बलेन, मुखमा औषधि पनि परेन।

दुवै नेकपाले माओवाद भुलेजस्तै मंगलेलाई त्यो ‘वाद’ कुन चराको नाम हो थाहा छैन। उनी औषधि र खानाको अभावमै मृत्यु कुर्दैछन्। ‘दुई छोरीले आफैंले बिहे गरे, कान्छी छोरी बच्चा पाउन नसकेर मरी, भएको एउटा छोरो सेनाले मारिदियो। काल पर्खेका छौं। उठबस गर्न सक्दिनँ, काल पनि आउँदैन। अब कसरी मर्ने भन्ने पीर छ।’ ओछ्यानमा थलिएका उनले एकै सासमा धेरै भने।

मरेर जानेहरु गइसके तर बाँच्नेहरु चरम पीडामा छन्। सबै त्यागेर परिवर्तनमा होमिएकी जनमुक्ति सेनाका पूर्वलडाकु ३१ वर्षीया निर्मला विक ‘साधना’ दुई वर्षयता अचेत छिन्। बेलुका अँध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै परिवारले उनलाई गोठमा सुताउँछन्। बिहानै तीनै घरपालुवासँगै उनलाई बाहिर सारिन्छ। त्रिवेणी ५ जुगार जबरबोटकी साधनाले नारकीय जीवन बिताउन थालेको धेरै भयो। ‘छारे रोग लागेको भन्थे । बढी बिरामी भएको सात वर्ष जति भयो। २ वर्ष यता त झन् केही थाहा पाउँदिन।

दिसापिसाब बिस्तारामै गर्छे। एक दिन घरमा एक्लै थिई। घरमा कोही थिएनन् अरू, दुईवटै खुट्टा आगोमा परेछ। अस्पताल लैजाने पैसा थिएन। जडीबुटी खोजेर उपचार गर्यौं। खुट्टा कुहिएर गन्हाएर घरमै बस्न नसकिने भयो। अहिले त अलि सन्चो भा’छ’, साधनाकी ६० वर्षीया सासू क्वारी विकले भनिन्, ‘दुःख पाई यसले। अभागी रैछ। त्यत्रो वर्ष माओवादीका लागि लडेकी आज मर्न लड्दै छे।’

जलेको खुट्टा गन्हाउन थालेपछि उनलाई तीन वर्षयता बाख्राको खोरमा राख्न थालिएको हो। दिनभर बाहिर बस्ने उनलाई राति बाख्राको खोरमा राख्ने गरिएको छ। चरम गरिबीमा रहेको उनको परिवारसँग उपचार गर्ने सामथ्र्य पनि छैन। सकेको जति सासूले स्याहार गरेकी छन्। भोक र प्यास साधनाको आवश्यकताभन्दा पनि घरका सदस्यको फुर्सदमा भरपर्छ।

मंगले र साधना जस्ता सयौं सहिद परिवार अनि पूर्वलडाकुको अवस्थाबारे कुनै हिसाब नराखेका ‘सरकारी नेकपा’ र ‘विद्रोही नेकपा’ ले ‘महान् सहिद’ आफ्ना भएको दाबी भने गरिरहे। त्यसो त पार्टीले माओवाद छोडेकोमा जिल्लास्तरीय नेतृत्वले यतिबेला मन दुखाएका छन्। ‘डकुमेन्टमा माओवाद नभए पनि हाम्रो दिमागमा भने छ। २४ औं वर्षगाठ मनाइरहँदा पार्टीको जिल्ला कमिटी नै नहुनु दुखद् हो।’ सत्तापक्षीय नेकपाका जिल्ला इन्चार्ज सुरेन्द्र थापा घर्ती भन्छन्, ‘विद्रोहबाट गाउँ हुँदै सहर र सत्तामा गएपछि नेतृत्वको फेरिएको जीवनशैलीप्रति आधारविनाको शंका गर्ने ठाउँ पर्याप्त देखिन थालेको छ।’

अभाव र समस्यामा थिचिएका रोल्पालीलाई न फागुन १ ले हिजो छोयो न त आज छोएको छ। आफैंले जन्माए हुर्काएको माओवाद छोडेर फरक धारमा हिँडिरहेका नेतृत्वले माओवादी जनयुद्ध आफ्नो भनेर दाबी गरिरहँदा आम जनता र बुद्धिजीवी पनि अचम्ममा छन्। ‘जनयुद्ध हाम्रो हो भन्ने नैतिक, राजनैतिक र सामाजिकीय अधिकार यिनीहरु कसैलाई छैन,’ नागरिकसँग कुरा गर्दै संवैधानिक कानुन विज्ञ तथा अधिवक्ता डा. भीमार्जुन आचार्यले भने, ‘सबै लाइन छोडेपछि माओवादी जनयुद्ध आफ्नो भन्नु कार्यकर्तालाई बेबकुफ गराउने कुरा मात्र हो।’

२०७५ फाल्गुन ६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको