पशुपति पचेनन् ! पच्ला त बच्चाको मासु बेच्ने त्यो खतरनाक प्रस्ताव !


नारायण पौडेल । कुरा आजभन्दा चानचुन ३ सय बर्ष पहिलेको हो । संयुक्त अधिराज्यको सामाजिक राजनीतिक अवस्था विचित्रको थियो । समाजमा चरित्रलाई अत्याधिक महत्व दिइन्थ्यो । समाज कूल घराना, गरिव र असहायका बीचमा विभक्त थियो । चरित्रलाई प्रधान ठान्ने समाजमै वेश्यालय व्याप्त थिए । तिनै वेश्यालयबाट प्रतिष्ठित परिवारका पुरुष सदस्यका संसर्गबाट बच्चा पैदा हुन्थे । ती बच्चाको आश्रयस्थल सडक हुन्थ्यो ।

अस्थायी साधन थिएन । गरिबका बैध बच्चा पनि परिवारका लागि बोझ हुन्थे । गरिबीका कारण बालबच्चा सडक बालबालिकामा परिणत हुन्थे । सडकमा बालबालिकको संख्या दिनप्रतिदिन बढ्दो थियो ।

अर्कोतर्फ राज्य आर्थिक क्रान्तिको नारा घन्काउँदै थियो । सभ्रान्तहरुका बीचमा आफ्ना सन्तानका लागि कसले कति खर्च गर्ने भन्ने होडबाजी थियो । जस्ले जति बिलासी जीवनशैलीमा आफ्ना बालबालिकालाई हुर्काउन सक्यो उति नै प्रतिष्ठित दरिने मानक स्थापित भएको थियो । तिनै व्यक्ति जब सडकमा पुग्थे, सडक बालबालिकालाई घृणा गर्थे । ती बालबालिकाका कारण बेलायती समाजको बदनाम भएको ठान्थे । समाजलाई कुरुप बनाएको हुँदा सडकबालबालिका राज्य र शासकवर्गका लागि आँखाको कसिँगरजस्तै थिए ।

सन् १७२९ को कुरा हो । आलोचनात्मक चेतका धनी जोनाथन स्विफ्टले एउटा प्रस्ताव सार्वजनिक गरे । ३ सेन्टमा किन्न पाइने सो प्रस्तावलाई उनकै शब्दमा मोडेस्ट प्रपोजल अर्थात मामूली प्रस्ताव भनिएको थियो ।

शीर्षक यस्तो थियोः गरिवका सन्तानलाई उनका अभिभावक र राज्यका लागि बोझ हुनबाट रोक्न र उनीहरुलाई सबैका लागि उपयोगी बनाउनका लागि एक मामूली प्रस्ताव !

यो मामूली भनिएको प्रस्तावले आयरल्याण्ड र बेलायतमा जबरजस्त तरंग पैदा गरिदियो ।

लामो व्याख्यासहितको सो प्रस्तावको साराँश यस्तो थियो ।

यी बालबालिका तीनका बाबुआमा, राज्य र प्रतिष्ठितजनका लागि टाउको दुखाइ बनेका छन् । यिनीहरुको संख्या दिनँहु बढ्दो छ । संख्या बढेपनि यिनको उपयोगिता केही छैन । बरु समस्या बल्झदै गएको छ । तसर्थ, लौरो पनि नभाँचिने सर्पपनि मर्ने गरी सबैलाई फाइदा हुने उपाय खोजी गर्न जरुरी छ ।

एउटा महत्वपूर्ण उपाय छ । बालबालिकालाई मासुका लागि प्रयोग गर्ने । बालबालिकालाई मासुका रुपमा प्रयोग गर्न थालेपछि सबैलाई फाइदा हुन्छ । गरिवले छोराछोरीलाई सडकमा फाल्ने छैनन् । बरु जति धेरै सन्तान भयो उति धेरै आम्दानी गर्ने छन् । धनीका लागि पनि कुनै टन्टा भएन । सडकमा बालबालिकाको उपद्राइँ देख्न पर्नेछैन । भान्छामै जिब्रो पड्काउँदै तिनलाई चपाउन पाइनेछ । राज्यको आम्दानीको स्रोत थपिनेछ ।

आदि इत्यादि फाइदाको व्याख्या गर्दै लेखकले बालबालिकको अंगपिच्छेका बेग्लाबेग्लै परिकार बनाउन सकिने फेहरिस्थसहितको मेनु उल्लेख गरे ।

बालबालिकाको मासु पशुपंछीको भन्दा मिठो हुने तर्कसहित उनले बालबालिकाको मासु व्यवसाय चौतर्फी लाभदायी हुने दर्जनौ दृष्टान्त उल्लेख गरे । गरिवको गरिवी हल हुने, धनीको भान्छा मिठो हुने र राज्यको बोझ चट हुने उपाय उनले सविस्तार लेखमा सुझाएका थिए ।

लेखक जोनाथन स्विफ्टले सडक बालबालिका, गरिबी र सामाजिक विसंगतिका बारेमा गम्भीर ढंगले धेरै पटक राज्य र शासकको ध्यान आकर्षित गर्ने प्रयास गरेका थिए । तर सुनुवाइ भएन । त्यसपछि उनले व्यंग्यबाँण छेडेका थिए मामूली प्रस्तावमार्फत । बाँण यतिशक्ति बनिदियो कि यसले राज्यलाई पूरै सोच्न बाध्य बनाइदियो । समाजलाई उद्देलित गरायो ।

पश्चिमा मुलुकको बालबालिकासम्बन्धी विशेष व्यवस्था र लोककल्याणकारी चरित्रलाई धेरैले जोनाथनको जोडदार प्रहारको दीर्घकालिन प्रभाबका रुपमा बुझ्ने गर्दछन् ।

३ सय बर्ष अगाडि जोनाथन स्विफ्टले बालबालिकालाई मासुको रुपमा खपत गर्ने र आम्दानीको स्रोतका रुपमा रुपान्तरण गर्ने भनि गरेको प्रस्तावलाई समाजले व्यङ्ग्यका रुपमा ग्रहण ग¥यो । राज्यका तर्फबाट नीतिगत सुधारका प्रयास गरिए । प्रतिष्ठित परिवारले आफ्नो व्यवहारमा परिवर्तन गरे । गरिब घरमा जन्मेकै कारण आधारभुत सुविधाबाट बञ्चित हुन नपर्ने, बरु असाहय बालबालिकको अभिभावक राज्य बनिदिने नीतिको सूत्रपात भयो ।

जोनाथन स्विफ्टकै स्तरको कडा व्यङ्ग्य त होइन, पशुपति शर्माले गायकीमार्फत नेपाली समाज र राज्यको विसंगतिमाथि प्रहार गर्ने प्रयास गरे ।

सामाजिक संजालमार्फत सार्वजनिक भएको उनको गीत भाइरल भयो, तर उति नै गतिमा भगाइयो । उनले गरेको व्यङ्ग्यलाई सत्ताले सोझोरुपमा अर्थाउन खोज्यो । लुट्नका लागि अभिप्रेरित गरेको भनि उल्टो उनीमाथि राज्यविरुद्ध अपराध गरेको आरोप लगाइयो । स्विफ्टजस्तो शर्मा प्रतिआलोचनाको घानमा टिक्न सकेनन् । बरु, मैदानबाट पछि हटे ।

राज्यको चरित्र भनेको नागरिकका गुनासालाई सुन्ने र आफूलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लैजाने हो । तर, पशुपति प्रकरणले बेग्लै मानक स्थापित गरेको देखिन्छ । राज्य सुध्रिन तयार छैन, बरु कसैले सुध्रिन भन्छ भने उसलाई निस्तेज पार्नेछ । राज्यशक्ति, राजनीतिक संगठन र पछुवाहरुमार्फत आवाजलाई दबाउने र तर्कलाई कुतर्कमार्फत विस्तापित गर्ने शैली जबरजस्त बनेको छ ।

पशुपति शर्माको गीतमा प्रयोग भएका एकाध शब्दका बारेमा मत विभाजित हुन सक्छ । तर, विषय शब्द होइन । सारमा पशुपतिले जे प्रस्तुत गरेका छन् राज्यको रुप त्यस्तै छ । पशुपतिको गीत त ऐनामात्र हो ।

आफू गतिलो देखिइँन भनेर ऐना फोर्नेकी आफूलाई गतिलो देखाउन प्रयास गर्ने ? महत्वपूर्ण सवाल यो हो । एक पशुपतिको मुख सिइएला तर अनेक पशुपति पाशुपत क्षेत्रमा देखिनेछन् । पशुपतिको युट्युव अकाउन्टबाट गित हट्यो । तर, हजारौँ अकाउन्टमा सो गित अपलोड भयो । आखिर कुरा एउटा पशुपतिको कहाँ हो र ?

२०७५ फाल्गुन ६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको