प्रतिज्ञाको पाइला ‘पीडा र पाण्डुलिपि’ [भाग -२]


कर्मसही घर्तीमगर । शिवजी सम्बन्धि मेरो धुमिल स्मृति अगाडि सारेँ , पहिलो किस्तामा । लेखहरू, संस्मरणहरू प्रत्येक दिन लेख्छु भनेर नानाभाँती रूल बनाए पनि आखिरमा तरूल सिवाय केही नहुने रहेछ । रुलमा हिँड्नु साँच्चिकै कष्टकर हुँदोरहेछ । माघ एक गतेदेखि लेख्छु भने पनि त्यो दिनको अपूरो लेख आज चार गरे बल्ल जोड्दै छु ।

बिहानै लेख्न बस्छु भनेको थिएँ । छोरीको परीक्षाका कारण उनलाई तयारी बनाउन व्यवस्थापन गर्दै ठिक भयो । बुढिया चाहिँ बिहानै माइला दाइको ढोकरा (नचुटेको मकै राखिएको एक किसिमको भकारी) फोरेर मकै चुट्न सहयोग गर्न गएकि थिइन् । उनले खाना उतै खाइन् । मैले छोराछोरीका अलावा मेरो भतिजीकी छोरा अर्थात नाति आगमन पुन र भतिजोको छोरा मेरो नाति आतीस घर्तीलाई खाना खुवाएँ । छोरी परीक्षाको लागि स्कुल लागिन् । छोरा साथीहरूसँगै बाहिर खेल्न गयो ।

म चाहिँ भान्साकोठामै यसो के लेख्न बसेको थिएँ भर्खर, बुढिया आई । ‘यो जुठाभाँडा बाहिर बाटामा जम्मा गर्नु पर्दैन ? प्रेसर कुकरको ढकनी लाउनु त पर्छ ! छि: छि: यस्तो फोहरमा पनि बस्ने हो ? मान्छे आए भने के भन्दा हुन् ? पत्रकार जस्तो मान्छे यस्तो फोहरी हुने हो ?’ उनी बर्बराउँदै जुठाभाँडा उठाइन् । मैले प्रेसर कुकरको ढकनी लगाएँ ।

‘घर बडार्नु त ! म भित्र बाहिर लिप्छु ।’ हजुरियाबाट हुकुम भए बमोजिम गरेँ । उनले घर लिपिन् ।

लिपिएको घरको एक छेउमा सदा मेरो अध्ययन हुने गर्दछ । कहिलेकाहीँ मैले लेख्दै गरेको, पढ्दै गरेको देखेर तीन वर्षको छोराले ‘बुबा ! तपाईंको होमोक सकिएन ?’ भन्छ । ‘कति धेरै होमोक तपाईंको !’ ऊ मलाई देखेर अवाक पर्छ ।

अहिले बच्चा जहान बाहिर छन् । म चाहिँ लेखनीमा डुब्ने सक्दो प्रयास गर्दैछु । लेख्न समय छुट्याउनु पर्छ । छुट्याएको समयमा लेखनी फुर्छ नै भन्ने छैन । फुरेको बखत लेख्ने समय हुँदैन । कति चुनाैँतीपूर्ण छ कि यो लेखनी !

….अँ त, म शिवजीको कुरा जोड्दै छु ।

जिन्दगीमा कहिल्यै नमोटाउने एउटा पर्याय हुन् – शिवजी पुन । सदावहार ख्याउटे । भित्र गडिएका चिम्सा आँखा । उनकै घरमा छाइएको कर्कटपाता जस्तो उनको निधार ।

हो, मैले जाने बुझे देखि उनी कहिल्यै मोटाएनन् । मानाैं, मोटाउनुसँग उनको गम्भीर मतभेद छ !

उनीसँग भेट हुँदा वा उनको स्वरूपले मनमा आकार ग्रहण गर्दा मलाई यस्तै स्मरण हुन्छ । जीवनमा प्रलयकारी कुनै घटना घटेन भने उनी यो जुनीमा सायदै मोटाउलान् । यद्यपि उनी साहसका एक प्रतिमूर्ति हुन् मेरो नजरमा । समाजमा तारिफयोग्य व्यक्तिहरू मध्ये उनी पनि एक हुन् । मेरो अन्दाजमा उनको जीवन साँच्चिकै शुन्यबाट सुरुवात भएको हो । मानसपटलमा याद भए देखि उनी निकै गरिबीले थेचारिएका भूपू अभागी मनुवा तथा वर्तमानका भाग्यशाली कर्मठ व्यक्ति हुन् । अहिले उनीसँग अदम्य आँट छ । स्फूर्ति छ । एउटा आशा छ । भरोसा छ । र त, उनी ऊ जुनी बदलेर यो जुनी प्राप्त गर्न योग्य भएका छन् ।

एकदिन म यस्तै बाहिरफेर निस्केको थिएँ । उनीसँग झम्का भेट भयो ।

‘मैले तपाईंका बारे केही लेख्ने सोँच बनाएको अहिलेदेखिन् हैन !’

फिस्स हाँस्दै उनले भने -‘जीवन कहानी नै लेख्ने भए त गजब हुन्थ्यो सम्धी !’ आशातित भाव कोरलियो उनमा ।

‘सिङ्गो जीवन कहानी हैन, जीवनको गुदी मात्र खोतल्न खोजेको हुँ ! अर्थात जीवनको एक हिस्सा मात्र !’ मैले भनेँ ।

‘यदि त्यस्तो हो भने गजब हुने थियो ।’

‘हुने थियो हैन सम्धी, हुनेछ ।’

उनले आफ्नो जीवनमा घटेको घटनाको एक हिस्साको पाण्डुलिपि मलाई सुनाउन राजी भए । उनकै तीन तले घरको पश्चिमपट्टिको दोस्रो तलामा उनी र म बस्याैं । उनको जीवनको एक अनुभूतिजन्य पाण्डुलिपि खोतल्दै गर्दा मलाई आफ्नै विगतको अव्यवस्थित जीवन कहानीको याद आयो । अव्यवस्थित जीवनको यहाँ चर्चा गरिने छैन । परन्तु आफ्नै सृजनाहरूका पाण्डुलिपि पल्टाउन अवश्य मन लाग्यो ।

जीवनलाई परिष्कार गर्नु हमेशा कठिन हुन्छ । बितेका पलहरू जीवनका पाण्डुलिपि हुन् । मलाई यस्तै लाग्छ । कहिलेकाहीँ आफ्नै जीवनको पाण्डुलिपि पल्टाउन मन लाग्छ । आफ्नो जीवनको पाण्डुलिपि पल्टाउँदा कला साहित्यका अव्यवस्थित , अपूरा , अधूरा र खज्मजिएका पाण्डुलिपि पल्टाउने गर्छु । पाण्डुलिपि पल्टाउने क्रममा विगत दिनकाे स्मरण हुनु स्वभाविक हुन आउँछ ।

जीवनका पाण्डुलिपि पल्टाउने साहस सायद थोरैले गर्छन् होला । जस्तै म स्वयं हुँ । आफ्नो जीवनको पाण्डुलिपि त परै जाओस् , आफ्ना सृजनाहरूको पाण्डुलिपि सदुपयोग नगर्ने मध्येको एक मै हुँला ! जीवनको त कुरै छाडाैं , साहित्यिक रचनाहरूको पाण्डुलिपि मैले सयाैं संख्यामा युद्धको चरम द्वन्द्वकालमा गुमाएँ । हराएँ । त्यसको लेखाजोखा नै छैन । २०६१/६२ साल देखि भने म उति साह्रो लेखिनँ । लेखन लगभग पूर्णविराम जस्तै थियो । प्रत्येक दिन सृजनामा मग्न हुने म, महिनामा एकाध रचनामा सिमित हुनु भनेको हराउनु जस्तै भयो ।

आज लेख्न बसेको बेला फेरि अल्छिपनाले ङ्याक्न नआएको हैन । शिवजीले दु:खमा बिताएका पलहरूको पाण्डुलिपि पल्टाउने बेला, आफ्नै सृजनाहरूको पाण्डुलिपि मेरो मथिङ्गलमा फन्फन्ति घुम्न थाले । उनको खजमजिएको विगत र मेरो खजमजिएको काव्यसृजनाको पाण्डुलिपि एउटै जस्तो लाग्यो । आफ्नै जीवनको विगत दिनमा रुमलिन मन लाग्यो । कहिलेकाहीँ विगतमा हराउनु पनि मजा हुँदोरहेछ ।

पाण्डुलिपि स्मरण एक……!

२०५२ सालको आधाआधिसम्म त मुक्तक मात्रै कोर्थेँ । त्यही बेलादेखि मुक्तक भन्दा लामो कविता कोर्न थालेँ । त्यतिबेलाको युवावयमा मेरो जीवनमा जे जति घटना घटित हुन्थे, त्यसैलाई कवितामा उतार्ने जमर्को गर्थेँ । भेटिएका एकाध दुई पाण्डुलिपिमा उपलब्ध कविता हेर्न मन लागेर पल्टाएँ । म प्रायः सबै कविताको पुछारमा लेखिँदाको मिति सकुशल राख्छु । यसले त्यो दिनको स्मरण गरोस् भन्ने निजी चाहना हो मेरो । २०५२ जेठ महिनाको सात गते एउटा कविता ‘ पूर्ववत् ” शिर्षकमा यस्तो कोरिएछ :-

पूर्ववत् !

घामको संसर्गले
जब जन्मन्छन् समुन्द्री बाफहरू
यत्रतत्र सर्वत्र !

र उड्न थाल्छन् हजारौं लस्करहरू
वायुको इशारामा !
लस्करहरू मिसिएर बन्छ
पृथ्वी ढाक्ने भीमकाय बादल !

अनि घनघोर वर्सेर वर्षा
धर्तीको तिर्खा मेट्छ
मेट्दै जान्छ
कहिले उछृङ्खल हुन्छ

र , आफु बग्दै जान्छ
बग्दाबग्दै/घिस्रिँदा घिस्रिँदै
फेरि पूर्ववत् फर्किन्छ !
समुन्द्रबाट जन्मेको ऊ ,
अन्तत: समुन्द्र फर्किन्छ !!

जीवनको दर्शन मलाई थाहा नहुने उमेरको यो कविता मैले कुन बहकाउमा लेखेँ ,
अहिले यकिन भएन ।
****

पाण्डुलिपि स्मरण दुई…..!

जसरी संस्मरणहरू लेख्न बस्दा आज मलाई हमेशा कठिनाइ भइरहेको छ । २०५२ साल भदाै महिनाको २२ गते एउटा यस्तै अल्छीपनाले छोएको थियो सायद ! आज पनि लेखनीमा ऐँठेन लाग्न थालेको आभास महसुस हुँदैछ । त्यो मितिमा लेखिएको कविता ‘ ऐँठेन ” शिर्षकमा छ । यसलाई पनि सामाजिक सञ्जालमा केही वर्ष पहिले राखिएको थियो ।

ऐँठेन
***
मानाैँ, माया नपाएर मातृभूमिको
अथवा, मान्यता नपाएर नागरिक हुनुको
असिम पींडाका साथ
आफ्नै आँगनमा प्रवासी झैँ भएर

आफ्नै घरमा आफ्नो परिचय हराएर
आफु हुनुको परिचय गुमाएर
कुच्रिएर/कुँजिएर

आफ्नै प्रतिबिम्ब बिर्सेका छाैं हामीले
आफ्नो पहिचान बिर्सेका छाैं हामीले
आफ्नो अस्तित्व बिर्सेका छाैं हामीले
हामीले हाम्रो युगलाई यसरी नै घिसारिरह्याैं
युगसँग हामी यसरी नै घिस्रिरह्याैं

सुखको एहसासमा ऐँठेन पारेर
प्रत्येक दिन यसरी नै बाँचिरहेका छाैं
मानाैं, विधाताले लेख्न बिर्सेका
मान, मर्यादा र गरिमासाथ जिउने
सपनाहरूको जुलुस बोकेर …….!

यो कविता गुल्मीको उबेलाको भन्भने गाविस को भीर कटेरी गाउँमा बसेर पूर्कोट दहको विद्यालयमा पढ्दाताका लेखिएको हो । एक्लै करिबकरिब आधा घण्टा जङ्गलको उकालो हिँडेर बाँकी सवा घण्टा तेर्पाइँ हिँडे पछि बल्ल पूर्कोट दहको स्कुल पुगिन्थ्यो । त्यो एकान्तिक वातावरणमा एक्लै हिँड्नुले भावनामा बहकिन खुबै मद्दत गर्‍यो । यो त्यही एक्लोपनामा हिँड्दै गर्दाको सृजना हो ।
******

पाण्डुलिपि स्मरण तीन…….!

२०५३ साल फागुन आठ गते मन्दाक्रान्ता छन्दमा कनिकुथेर लेखेको कविता दुई तीन साल अगाडि फेसबुकमा पोष्ट पनि गरेको थिए । जो आज पनि दाहोर्‍याइ पुन: हेरेँ । कक्षा नाैँ मा नेपाली किताबमा मैले मन्दाक्रान्ता छन्दको सङ्केत सूत्र सिकेको हुँ पहिलो पटक । जतिबेला गोलमालमा जे जानियो, उबेलाको चेतनाले जे बुझ्यो; उही लेखियो । गति र यतिको कुनै ज्ञान थिएन । स्वतन्त्र कविता लेखिरहेको म, छन्दमा लेख्न आकर्षित हुनुको कारण अरू थिएन; केबल आफैलाई जाँच्नु थियो । म ह्रस्व र दीर्घमा नियमनुसार लेख्न सक्दो रहेछु या सक्ने रहेनछु ! आफैलाई जाँच्नु थियो । जाँचेर हेरेँ । निकै कठिन भयो । शब्दहरूको छनोटमा दिन बित्यो । कनेरै भए पनि शुरुको कविता नेपाली शिक्षकलाई बुझाएँ । यो बारे अर्को संस्मरणमा पनि लेखिसकेको छु ।

आज पाण्डुलिपि पल्टाउने क्रममा त्यो ‘यमाताराजभानसलगा” अन्तर्गत ‘म भ न त त गु गु ” को नियममा दुईचार वटा कोरेको कविता मध्ये उपलब्ध ‘ प्रणय शिष्टता” शिर्षकको एउटा कविता परिमार्जन नगरिएकै अवस्थामा भेटियो ।

यादै तिम्रो झलझल भई लाै सतायो मलाई
आँखै मेरो टलपल भई लाै रुवायो मलाई ।
हेरूँ हेरूँ छटपट हुने यो नशा नै भयो है
माया भन्ने असपट चिजै हो कि जस्तो भयो है ।।

कस्तो माया खलबल भयो गाउँमा आज के भयो ?
पैलो माया निद पनि सबै लाै कता पो हरायो ।
बस्दा उठ्दा घरिघरि उही याद आयो मलाई
भेटूँ भेटूँ हरसमयमा लाग्छ साह्रै मलाई ।।

थाम्नै गाह्राे मधुर स्मृति त्यो प्रीति साह्रै विचित्र
पूजाअाजा हृदयतटमा यो गराैँ है पवित्र ।
मीठो भाका नवरस भरी गीत नाैलाे मिलाऊँ
हाम्रो आत्मा प्रणय दिनमा शिष्टता यो बसाऊँ ।।

यो कविता युवावयको प्रेमाशक्ति हो । यस्ता उदाहरण थुप्रै छन् । कुनै दिन तिनीहरू पनि लेखिने नै छन् । लेखनीको माध्यम प्रेम, पीडा, उत्साह, आशा , निराशा जे भए पनि त्यो बेलाको लेखनी निकै कष्टकर थियो ।

यो संस्मरणको पाटोका पात्र शिवजीको दु:खमय प्रारम्भिक कहानी र मेरो लेखनीको संघर्षमय पीडा एउटै लाग्यो । त्यसैले यहाँ यो पाण्डुलिपि खोतल्न मन लाग्यो ।

क्रमशः ………!

लेखकको सम्बन्धित लेख पनि पढ्नुहोस

माघेसंक्रान्ति बिशेष ‘प्रतिज्ञाको पाइला

२०७५ माघ ४,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको