असोज ३०, चितवन । जनयुद्दका नायक तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यतिबेला हरेस खाँदै गरेको भान उनको अभिव्यक्तिमा झल्किन्छ । बिहीबार चितवनमा आयोजित चियापान कार्यक्रममा उनले आफूहरु बिग्रिँदै गएको निराशा व्यक्त गरे।
लामो संघर्ष र क्रान्ति गरेपनि आफूहरु ‘कम्युनिस्ट’ जस्तै हुन नसकेको दुखेसो पोखे । उनले आफूहरुमा धुलोमैलो लागेको बताउँदै अब सबैले आफ्नो समीक्षा गदै आत्मालोचना गर्नुपर्ने बेला आएको बताए।
‘पञ्चायतकालमा म कस्तो थिएँ? के सोच्थें? कसरी काम गर्थेँ? ४६ सालपछि म कस्तो भएँ? जनयुद्धको बेला म कस्तो थिएँ? जनआन्दोलनको बेला कस्तो थिएँ? अहिले शान्ति सम्झौतापछि, संघीय गणतन्त्र आएपछि र कम्युस्टि पार्टी देशको सबैभन्दा ठूलो बनेपछि म कस्तो बन्न थालेको छु?’, प्रचण्डले भने, ‘अरु कतै हेर्नु पर्दैन म पहिले कस्तो थिए, अहिले कस्तो छु भनेर हेर्यो भने पुग्छ।’
प्रचण्डले कम्युनिष्टहरु बिस्तारै स्खलित हुँदै गएको पनि बताए । प्रचण्डले भने ‘कम्युनिस्टहरु बिस्तारै-बिस्तारै स्खलित भैरहेका छौ ।’
चितवनकै चियापान कार्यक्रममा उनले भावनात्मक पक्षलाई बढी जोड दिंदै आफ्ना कार्यक्रताहरु प्रति गुनासो पोखे । ‘कहीँ न कहीँ हामी कम्युनिस्टबाट बिस्तारै-बिस्तारै स्वखलित हुँदैछौं, यसकारण यो महान् परिर्वतलाई कतैबाट खतरा छैन, प्रतिकृयावादी हामीसँग लडेर जित्ने अवस्था छैन’, प्रचण्डले भने, ‘हामी आफै बिग्रियौं भने तिनीहरुले केही गर्नै पर्दैन। हामी आफै सोभियत संघ जस्तै हुने खतरा छ ।’
पार्टी भित्रैका मानिसहरु एक आपसमा नमिलेका कारण संकट पैदा भएको समेत उनले बताए। ‘चुनाव भयो भने हामी कम्युनिस्ट पार्टीका मान्छे आपसमा मिलेका देखिएका छैनौँ आजभोली । बरु एकले अर्कालाई तेजोबध गर्ने भन्ने सोचिरहेको देखिने’, उनले भाबपुर्ण हुँदै भने।
प्रचण्डले कम्युनिस्टहरु कम्युनिस्ट जस्ता नभएको स्वीकार गरे । उनले नेपालका कम्युनिस्टहरु कम्युनिस्ट बन्न नसकेको बताउदै पछिल्लो समय कम्युनिस्टले सत्तामा पुगेपछि आफ्नो रुप बदलेको उनको दाबी छ ।
‘पार्टीभित्रै अराजकता, आन्दोलनभित्रै अराजक व्यक्तिले जन्मलिने, स्वार्थीतत्व र गुटहरुले जन्मलिने, आस्था र उद्देश्यहरु बिर्सँदै जाने र अन्त्यमा जनताबाट आफूलाई टाडाटाडा लादै जाने विश्वव्यापी रोग यहाँका कम्युनिस्टलाई पनि लागेको छ।’ उनले जनसिदान्त संग जोडेर भने ।
प्रचण्डले नेताहरु प्रति पनि गुनासो पोखे । उनका अनुसार जनताले माया गरेर आज देशको सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा नेकपालाई जिम्मेवारी दिएपछि नेताहरु परिवर्तन भइरहेको बताए । ‘कम्युनिस्टको हकमा मुख्य त चिन्ताको विषय कहा छ भने सत्तामा नपुग्दासम्म जस्तोसुकै त्याग गर्न, तपस्या गर्न बलिदान गर्न, निष्ठा प्रदर्शन गर्न तयार हुने सत्तामा गएपछि ती कुरा बिर्सँदै जाने अवस्था सिर्जना भएको छ’, उनले बढो मर्मका साथ् भने।
प्रतिगामीले खेल्ने ठाउँ आफ्नो गृहजिल्ला चितवनलाई बनाएको पनि बताए । पछिल्लो समय चितवन प्रतिगामीले खेल्ने ठाउँ बन्न लागेको त होइन भन्ने डर पैदा भएको उनले बताए ।
‘निर्वाचन सकिएपछि यो चितवनमै के भएको छ भने फेरि अराजकताको, अस्तव्यस्तताको देशभरीका प्रतिगामी आएर खेल्ने ठाउँ चितवन त हुने होइन भन्ने डर पैदा भएको छ’, उनले भने।
आफ्नै मान्छेले समेत अराजक फैलाउने काम गरिहरेको प्रचण्डले दाबी गरे। उनले भने,‘अराजकता फैलाउनेहरुका पछाडि हाम्रै पार्टीका शुभचिन्तक, समर्थक हिँडे भन्ने सुनेको छु मैले। अलिअलि देखेको पनि छु।’
चितवन प्रतिक्रान्तिको केन्द्रसमेत हुन सक्ने प्रचण्डले दाबि पारे। ‘कहिलेकाहीँ क्रान्तिको केन्द्रलाई ठिक ढंगले पार्टीले आत्मसात गर्न सकेन, नेता र कार्यकर्ताले आत्मसात गर्न सकेनन भने त्यो प्रतिक्रान्तिको केन्द्र हुने खतरा पनि हुन्छ’, उनले भने।
प्रचण्डले नेकपालाई ग्याष्ट्रिक भैसकेको जनाउदै, अब क्यान्सर लाग्ने खतरा बढेको पनि बताए ।
भर्खरै नेपाल भ्रमण सकाएर फर्किएका चिनियाँ राष्ट्रपति सी चिनफिङले आफूहरुलाई सीले अराजक भनेको महसुस भएको प्रचण्डले बताए। ‘चिनियाँ राष्ट्रपति सीले ‘तिमिहरु अराजक र स्वार्थी छौँ भने जस्तो लाग्यो’, प्रचण्डले भने, ‘मैले त्यहाँ केही भनिनँ, भन्ने कुरा पनि भएन। तर हाम्रो त ८-९ लाख पार्टी सदस्यलाई नियन्त्रण गर्न नसकेर जसलाई जे मन लाग्यो त्यही गर्ने, जसलाई जे मन लाग्यो त्यही भन्ने भइराखेको छ ।’ उनले आत्मसमीक्षा समेत गरे ।
प्रतिक्रिया दिनुहोस