साउन १, काठमाडौं । राजनीतिक वार्ता टोलीका पूर्व संयोजक सोमप्रसाद पाण्डेले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता भएपनि त्यसले औपचारिकता पाउन नसकेको बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफुलाई सरकारले दिएको संयोजकको जिम्मेवारीको समय सकिएकाले धेरै पटक विप्लव नेकपाका नेताहरुसँग अनौपचारिक वार्ता र छलफल भएपनि औपचारिकता प्राप्त गर्न नसकेको बताएका हुन् ।
सरकारले पाण्डेको संयोजकत्वमा २०७५ साल भदौ ८ गते उच्चस्तरीय राजनीतिक वार्ता टोली बनाएको थियो । संयोजकका लागि पाण्डेलाई सरकारले दिएको समय सकिएको छ ।
नेकपाका सांसद समेत रहेका पाण्डेले आफूले विप्लव नेकपाका केन्द्रीय सदस्य गुणराज लोहनी लगायत पोलिटव्यूरो सदस्यहरुसँग छलफल गरेको भएपनि सञ्चारमाध्यममा आएजस्तो नभएको स्पष्ट पारे ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले काँग्रेस वार्ता तथा संवादको पक्षमा रहेको भन्दै वार्तामार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखे ।
राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले राजनीतिक परिर्वतनपछि पनि जनताले चाहे अनुसारको सुशासन कायम हुन नसक्दा समस्या श्रृजना भएको भन्ने कुरालाई ठुला दलका शीर्ष नेता र सरकारले बुझ्नुपर्ने बताए ।
समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारलाई वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस