दलाल संसदीय व्यवस्था नभत्काएसम्म महिला मुक्ति असंभवः भृकुटी


फागुन ५, ललितपुर । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को ललितपुर जिल्लाको दोस्रो भेला सम्पन्न भएको छ । भेलाले शोभा परियारको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

भेलाका प्रमुख अतिथि महिला संघ (क्रान्तिकारी)का महासचिव धिरेन्द्र उपाध्याय ‘भृकुटी’ले वर्तमान सरकारलाई ‘दलाल संसदीय व्यवस्थाको अंश’ भएको बताउँदै यसलाई खारेज गरेर नेपाली जनताको आफ्नै राज्य व्यवस्था स्थापना नगरेसम्म महिलामाथि भइरहेको हिंसा र अत्याचार निर्मूल नहुने बताइन् ।

‘दलाल राज्यसत्ता कायम रहेसम्म नेपाली महिलाहरुले भोगिरहेका हत्या, हिंसा र अन्यायबाट मुक्ति मिल्ने आधारै छैन, उनले भनिन् ‘त्यसले जनताको आफ्नै सत्ताको रुपमा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवाद स्थापनाको संघर्ष चलिरहेको छ ।’ जनताको सत्ता स्थापना नभएसम्म क्रान्ति नरोकिने उनको भनाई छ ।

भेलाका विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टीका ललितपुर जिल्ला सेक्रेटरी विपिन शर्माले जनयुद्धले नेपाली समाजमा महिलालाई सशक्त र धेरै हदसम्म मुक्ति दिलाएको दृष्टान्त प्रस्तुत गर्दै तर त्यसलाई अहिलेको दलाल सरकारले त्यसलाई उल्टाउँदै लगिराखेको बताए । जनयुद्धको उद्देश्य पूरा भइनसकेकोले महिलाको पूर्ण मुक्तिको लागि वैज्ञानिक समाजवाद गर्न नेकपाको नेतृत्वमा शुरु गरिएको एकीकृत जनक्रान्तिमा गोलबन्द हुन सेक्रेटरी विपिनले अपिल गरे ।

सरकारले नेकपा र त्यसका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुमाथि शान्तिपूर्ण राजनीतिक अभियानका क्रममा दमन र धरपकड जारी राखेर सामाजिक फासीवाद लाद्न खाजेको बताउँदै त्यसलाई रोक्न माग गरे । नरोकिए कडा प्रतिवादमा उत्रने चेतावनी समेत सम्बोधनका क्रममा उनले दिए । बन्दी बनाइएका सम्पूर्ण नेता कार्यकर्तालाई बिनासर्त त्ुरुन्त रिहागर्न समेत उनले सरकारसँग माग गरे ।

त्यस्तै अतिथि महिला संघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य एवं काठमाडौं उपत्यका संयोजक राजकुमारी शाही ‘उषा’ले महिलालाई चुलाचौकामा मात्र सीमित राख्ने र अन्याय, हिंसाको चंगुलमा पर्दासमेत मौन बस्ने सरकार जनताको सरकार हुन नसक्ने बताइन् । सरकार ‘अत्याचारी र भ्रष्टचारी’को घेराबाट बाहिर निस्कन नसकेको भन्दै अब जनताको आफ्नै सत्ता गठन गरेर संचालन गर्ने दिशातर्फ केन्द्रित हुनेबेला आइसकेको उनको धारणा थियो ।

भेलाले सचिवमा सुस्मिता ढुंगेल, सहसचिवमा मंगला मानन्धर, कोषाध्यक्ष निशा नापितलाई निर्वाचित गरेको छ । सदस्यहरुमा मालती भुसाल, रञ्जु कर्माचार्य, निरमाया तामाङ, अनिता श्रेष्ठ, लक्ष्मी भण्डारी, पविता राई, सञ्जिता शेर्पा, बिना लामा, कान्छी तामाङ, विष्णु राईलगायत निर्वाचित भएका छन् ।

नेवा मुक्ति मोर्चाका उपत्यका संयोजक सुरेन्द्र महर्जन, नेता कुमाल सैँजुवाललगायतको उपस्थिति रहेको थियो । भेलाको अध्यक्षता शोभा परियार गरेकी थिइन् । नयाँ नेतृत्वका चयन भएसँगै अध्यक्ष परियारले महिला मुक्ति र एकीकृत जनक्रान्तिको कार्यदिशालाई समाजमा लैजान र परिवर्तनको लागि सक्रिय र इमान्दारितासाथ लाग्ने प्रतिवद्धता जनाइन् ।

२०७५ फाल्गुन ५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको