समिक्षा: ‘जनसञ्चार अभियान आवाज बिहिनहरुको आवाज बन्यो’


प्रकाश डुम्रे । सञ्चार जगत आवाज बिहिनहरुको आवाज हो । स्वतःस्फुर्त बोल्न सक्ने सामर्थ्य हराएका मानिसहरुको आवाज बुलन्द गर्ने खुल्ला स्पिकर हो । जहाँ राज्य व्यवस्थाका कारण नागरिकहरुका आवाजहरु अझै दमित छन् ।

आर्को तिर हाम्रो देशको पत्रकारिताको परिधि सिमित दरबारियाहरुको वरिपरि घुम्ने प्रचलन छ । अर्थात आवाज भएकाहरुको आवाजमा आवाज मिलाएर बिज्ञापन ठटाउन तल्लिन छन् र देशका कुनाकन्दरामा रहेका नागरिकहरुको आवाज अझै दबेको छ ।

यस्तै परिस्थितिको पहिचानगरि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट पत्रकारहरुको संगठन ‘क्रान्तिकारी पत्रकार संगठन नेपाल’ले देशभर सञ्चालन गरेको जनसञ्चार अभियानले एकपटक मानवअधिकारकर्मि, कानुन व्यवसायी, बुद्धिजीवी, ब्यापारी व्यवसायी, सरोकारवाला सबैको ध्यानाकर्षण गरेको छ । राज्य पक्षबाट न्युनतम मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अङकुस लगाउने प्रयास भईरहेको बेला क्रान्तिकारी पत्रकारहरु मेची देखि महाकाली सम्म विभिन्न जिल्लामा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहस एवम् अन्तरक्रिया लिएर आवाज बिहिनहरुको आवाज बन्दै देशको कुनाकन्दरा पुग्यो र अझै पुग्ने क्रम जारि राखेको छ ।

राज्य पक्षबाट विचार र आस्थाकै आधारमा विभिन्न राजनीतिक दलका नेता एवम् कार्यकर्ता र नागरिकलाई जुन ढंगले दमन भईराखेको थियो, यो अवस्थामा क्रान्तिकारी पत्रकारहरुले यो अभियान छेडनु पर्छ भन्ने बोधका साथ संगठनको दाङमा सम्पन्न पहिलो बैठकको निर्णय अनुसार देशभर बहस चलाउने निर्णय गर्यौ ।

सरकार पक्षबाट विभिन्न मिडिया बिरोधि निति र ऐन बन्दै जानु र मातृ पार्टी प्रति विभिन्न ढंगका दमन र हस्तक्षेप बढाउदै लगेको अवस्थामा देशका विभिन्न जिल्लामा संबिधानले नै प्रदत्त गरेको अधिकार प्रयोग गर्दै नागरिकले आफ्ना कुराहरु राख्न पाउने, भन्न पाउने, विना हातहतियार शान्तिपूर्ण तरिकाले भेला हुन पाउनु पर्छ, संगठन खोल्न पाउनु पर्छ, आफ्ना कुरा जनतालाई भन्न पाउनु पर्छ भन्ने उदेश्यका साथ ‘क्रान्तिकारी पत्रकार संगठन नेपाल’ले विभिन्न सरोकारवाला निकायहरु संग अन्तरक्रिया चलायो ।

दाङको घोराहीबाट शुरु गरिएको जनसञ्चार अभियान देशका विभिन्न जिल्लामा पुगेर सरोकारवाला सबै पक्षसंग गम्भीर बहस एवम् छलफल गरेको थियो ।

अभियानका शिलशिलामा बलत्कार पछि हत्या गरिएकि कञ्चनपुरकि निर्मला पन्तको घरमा पुगि परिवारको अवस्था बारे समेत हाम्रो संगठनले जानकारी लिएको थियोे भने निर्मला पन्तको आमालाई कञ्चनपुरको महेन्द्रनगरमा एउटा कार्यक्रम आयोजना गरि, उनले नपाएको न्याय बारे कञ्चनपुरका राजनीतिक दल, मानवअधिकारकर्मि, पत्रकार एवम् सरोकारवाला सबै पक्ष संग महत्त्वपूर्ण छलफल साथै दबाब सिर्जना गर्ने काम हाम्रो संगठनको जनसञ्चार अभियान टिमले गरेको थियोे ।

देशमा दुई तिहाइको कम्युनिस्ट पार्टीको सरकार थियोे तर बिडम्बना कर्मचारी, चिकित्सक, पत्रकार, अधिकारकर्मि, ड्राइभर, बिधार्थीहरु र विभिन्न पेशागत संग संगठनहरु सडकमा थिए । नागरिकका अधिकार रक्षाका सबाल र सरकार पक्षबाट पेशा वा स्वतन्त्रता बिरोधि कदमका बिरुद्ध उनीहरु सडकमा नै थिए ।

यति मात्रै होइन, हाम्रो मातृ पार्टीका विभित्र स्तरका नेताहरु हिरासतमा हुनुहुन्थ्यो भने कतिपय नेताहरूलाई राज्यले पकाउ पुर्जी जारी गरेको थियोे । सरकारले अदालतको निर्णयलाई समेत अटेरी गरि पटकपटक पक्राउ गरि विभिन्न जिल्लामा घुमाउने क्रम जारी थिए भने नेकपा सम्बद्ध जनवर्गीय संगठनहरु पेशागत संगठनहरुका नेता एवम् कार्यकर्तालाई विभित्र बहानामा पक्राउ गर्ने र विभिन्न खालका मुद्दा लगाउने काम भईरहेको थियोे ।

अभियान कहाँ कहाँ पुग्यो ?

क्रान्तिकारी पत्रकार संगठन नेपालले दाङ, कञ्चनपुर, कैलाली, बाके, सुर्खेत, रुपन्देही, कास्की, चितवनका विभिन्न पक्ष संग बहस छलफल र अन्तरक्रिया कार्यक्रम पछि काठमाडौंमा सबै पक्षलाई समेटेर बृहत अन्तरक्रियात्मक बहस सम्पन्न गरेको थियो ।

काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार यसोसियसन, नेपाल पत्रकार महासंघ, विभिन्न कानुनी व्यवसायीहरु, ईन्सेक, मानवअधिकार तथा शान्ति समाज, राजनीतिक दल लगाएत पक्षसंग पछिल्लो समयमा सरकार पक्षबाट भए गरेका राजनीतिक एवम् पेशागत दमन र हस्तक्षेप बारे घनिभुत बहस एवम् छलफल गरेको थियो ।

काठमाडौंमा पश्चात् हाम्रो संगठन पुर्वि नेपालका विभिन्न जिल्लामा मानवअधिकार तथा प्रेस स्वतन्त्रताको बहस लिएर पुग्यो ।

पुर्बी नेपालमा जनकपुर, सिन्धुलि, ताप्लेजुङ, झापा, मोरङ लगाएतका विभिन्न जिल्लाहरुमा कानुनले प्रत्याभूत गरेको अधिकार प्रयोग गरेर विभिन्न गतिविधि र कार्यक्रम लिएर जाँदा, राज्य पक्षबाट निरङ्कुस कदम चालिनु गलत भएको टिप्पणी धेरै सरोकारवाला पक्षबाट आए । यसरि देशभर चलाएको अन्तरक्रिया र बहसमा विभिन्न पक्षले उठाएका मानव अधिकार बिषयक सरकार पक्षबाट उब्जाइएका समस्याहरु संकलन गरि हाम्रो संगठनले ‘राष्ट्रिय मानवअधिकार आयोग’ लगाएत सरोकारवाला पक्षलाई नेपालको मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कमजोर नै रहेको बिषयलाई जानकारी समेत गरेका थियौ ।

अभियानका क्रममा औपचारिक अनौपचारिक रुपमा झण्डै ४० जिल्लामा बहस, छलफल तथा अन्तरक्रिया गरेको छ । कार्यक्रममा मानवअधिकारकर्मि, पत्रकार, मिडिया सञ्चालक, व्यवसायी, शिक्षक, प्रध्यापक, बुद्धिजीवी सबै पक्षसंग झण्डै सयौं वक्ताहरु बीच अत्यन्तै महत्त्वपूर्ण छलफल र बहश भएको छ ।

मोफसल मिडियाकर्मीले भोग्ने समस्याहरु

अभियान टिमले बिभिन्न जिल्लामा रहेका मिडिया र मिडियाकर्मिले भोग्नु परेका विभिन्न पेशागत समस्याहरुका बारेमा समेत बुझ्दै सरोकारवाला पक्षसँग त्यस बारेमा छलफल गरेको छ । अभियान सञ्चालनको क्रममा मोफसलका मिडियाकर्मि र मिडियाहरुमा प्रेस अभिव्यक्ति स्वतन्त्रता र सुरक्षा लगायत अन्य समस्याहरु रहेको हाम्रो मुलभुत निष्कर्ष थियो ।

पत्र पत्रिकामा दिईने विज्ञापनको स्पष्ट निति नहुनको कारण पनि धेरै मिडियाहरु खुल्ने तर चल्न नसक्ने भएपछि बन्द गर्नु पर्ने बाध्यतामा धेरै मिडियाहरु पाईन्छन । महिला पत्रकारहरुका पिडाहरु पनि धेरै त्यहि स्तरमा थिए ।

तसर्थ क्रान्तिकारी पत्रकार संगठनको अभियानले धेरै पक्षलाई समेटेर, राष्ट्रिय स्तरमा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था र मिडियाले भोग्नु परेका अन्य समस्याहरुको बारेमा सरोकारवाला पक्षसँग साच्चिकै गम्भीर र महत्त्वपूर्ण बहस भएको छ ।

अभियान एवम् अन्तक्रिर्यामा कतिपय जिल्लामा पत्रकार महासंघले समेत आफ्ना कुण्ठित अभिव्यक्तिहरु राख्ने बलियो फोरम नपाएको अवस्थामा हाम्रो संगठनले आयोजना गरेको कार्यक्रममा सहभागी भएर पत्रकारहरु प्रति गलत सरकारी गतिबिधि बारे र प्रेस जगतका बिषयमा उजागर गर्ने रिपोटर्स फिल्डको रुपमा हाम्रो अभियानले महत्वपुर्ण भूमिका खेलेको छ ।

सञ्चार अभियान बिकट कर्णालीमा पनि …!

अभियान सगै संगठनको बुटवलमा सम्पन्न दोस्रो बैठक पछि क्रान्तिकारी पत्रकार संगठनले जनपक्षीय पत्रकारीता बारे नयाँ बहस गर्ने उदेश्यका साथ दोस्रो अभियान ठोस गर्दै बिकट कर्णालीको कालिकोटबाट दोस्रो चरणको कार्यक्रम सुरु गरेको थियो ।

कर्णालीका कालिकोट, हुम्ला, जुम्ला, मुगु लगाएतका पत्रकारहरू संग कालिकोटको रास्कोटमा झन्डै एकहप्ता सम्म जनपक्षीय पत्रकारिता बारे घनिभुत बहस र छलफल चलाएको थियो ।

जनसञ्चार अभियान दैलेख, सुर्खेत, दाङ, सल्यान, रोल्पा हुदै धेरै जिल्लामा पुग्यो पनि पुगेको छ । अब अन्य नपुगेका जिल्लाहरूमा जाने तयारीमा छौ, हाम्रो जनसञ्चार अभियान अझै जारि छ । यसले सबैपक्षका बिषयबस्तु गम्भीरताका साथ उठान गर्दै सबैको साझा आवाज बनेको छ ।

एकपटक फेरिपनि मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधि कदमका बिरुद्ध समुदाय एकजुट हुने अठोट देखिएको छ । यसले हाम्रो संगठन र अभियान टिमलाई साच्चिकै उर्जा थपेको छ र ‘जनसञ्चार अभियान’ आवाज बिहिनहरुको आवाज बनेको छ ।

(लेखक- बिप्लव नेतृत्वको नेकपा निकट क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष हुन)

 

२०७५ फाल्गुन ५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको