कहिले हुन्छ प्रदेश र स्थानीय तहको उपनिर्वाचन ? (रिक्त पदसंख्या सुचीसहित)


फागुन ५, काठमाडौं । प्रदेश सभा सदस्यद्वय हरिशरण लामिछाने र टेकबहादुर घर्तीको निधनपछि प्रदेशसभामा दुई स्थान रिक्त छन् ।

प्रदेश ३ का भक्तपुरका लामिछाने र गण्डकी प्रदेशअन्तर्गत वाग्लुङ जिल्लाका घर्तीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उनीहरू दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य थिए ।

त्यसैगरी, स्थानीय तहमा निर्वाचनमा कतिपय पदमा उम्मेदवारी नै नपरेका, निर्वाचित भएर पनि निधन भएका र अन्य विविध कारणले रिक्त भएका विभिन्न स्थानमा गरी स्थानीय तहमा कुल ९४५ पद रिक्त छन् । वडा सदस्यमा निर्वाचित सदस्यमध्ये कतिपय जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि ती पद स्वतः रिक्त भएका थिए ।

त्यसमा सुनसरीको धरान उपमहानगरका मेयर तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ र सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको निधन भएपछि त्यहाँ कार्यकारी प्रमुख पद रिक्त छ । यसैगरी, ७७ जिल्ला गरी ३६ वडा अध्यक्षको पद रिक्त छन् । कार्यकारी प्रमुख नहुँदा त्यहाँका बासिन्दाले सरकारी सेवा सहज तरिकाले पाउन सकेका छैनन् ।

नेपाल सरकारले रिक्त रहेका प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीको चयनका लागि उपनिर्वाचन गराउने आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले गएको हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दा उपनिर्वाचन गराउन प्रधानमन्त्री सकारात्मक रहेको बताए ।

निर्वाचन गराउनका लागि स्थानीय तह र निर्वाचनसँग सम्बन्धित ऐनहरू संशोधनको प्रक्रियामा रहेका छन् । कतिपय ऐन प्रतिनिधिसभाबाट पारित भएका छन् भने राष्ट्रिय सभासभाबाट पारित हुन बाँकी छन् ।

निर्वाचन आयोग ऐनका केही दफा पनि संशोधनको प्रक्रियामा छन् । निर्वाचन गराउनका लागि नगरपालिका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षको उपनिर्वाचन हुने व्यवस्था छ तर वडा अध्यक्षको उपनिर्वाचन हुने व्यवस्था ऐनमा नरहेकाले संशोधनको प्रक्रियामा रहेको जानकारी पनि प्रमुख निर्वाचन आयुक्त यादवले दिए । गोरखापत्र दैनिकमा पहिलो पृष्ठमा खबर छापिएको छ।

रिक्त पद सङ्ख्या
प्रदेशसभा सदस्य २

नगरप्रमुख १
गाउँपालिका अध्यक्ष २
वडाध्यक्ष ३६

वडा सदस्य खुला ४१५
महिला सदस्य २११
दलित महिला सदस्य २३८

कार्यपालिका सदस्य ३९
जिल्ला समन्वय समिति सदस्य ३
जम्मा ९४७

२०७५ फाल्गुन ५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको