किन बजेन विवेकशील साझाको बाजा ?


पुरुषोत्तम लम्साल । लाग्यो अब ‘स्टन्ट’मा होइन ‘एक्सन’मा गएर यो उद्देश्य मुर्तिकृत गर्न अघि बढियो भने देशमा परिवर्तनको कोकोहोलो शुरु हुनेछ । भएन । उल्टो कोकोहोलो त विवेशकशील साझामै शुरु भयो । भित्रै । त्यो पनि अव्यवसायिक राजनीतिक शैलीमा । अनि लाग्यो यो दाईबरादोबाट पराल माडिनेवाला छैन । मियोमा ‘ऐच्छिक बोका’ मात्र नारिएपछि पराल माडिन्न, समय र खाजाको मात्र नष्ट हुन्छ ।

०००
पानीले भरिएको माटाको गाग्रो बोकेर किसान खेतीमा जाँदै थियो । बाटोमा उसले पानी हालेको, बीज टुसाएको, बिरुवा गोडमेल गरेको, फल लागेको, फल टिपेर बजारमा बेचेको, खनखनी नगद दाहिने हातमा थुक लाउँदै गनेको, त्यही नगदले पत्नीको नाकको फूली मर्मत गरेको र बचेको हिस्साले आफ्ना लागि नयाँ टोपी जोहो गरेको कल्पना गर्दै थियो । जसै ऊसले टोपीको कल्पना गर्दा प्वाल परेको टोपी शीरबाट निकाल्न हात लम्क्यायो, माटोको गाग्रो खसेर चकनाचुर । स्वाहा… ।

वैकल्पिक राजनीतिक माहोलमा मियो बन्छु भनेर उदाएको अर्को एउटा दल पनि फुटेपछि मलाई कथाको उक्त किसानको उदाहरण याद आयो । कथाले भन्छ, जसलाई आफूले के भार बहन गरिरहेको छु भन्ने हेक्का हुँदैन, त्यो सानो ठक्करमा पनि धराशायी हुन्छ, सानो अक्करमा पनि अल्झन्छ । हो रहेछ ।
सामाजिक सञ्जालको उपयोग र दुरुपयोगबारे बहस शुरु भए पनि उत्कर्षमा पुगिसकेको छैन । तर प्रयोगमा भाँती पु¥याउनेले यही सञ्जालको उपयोग गरेर परिवर्तनको मुहिमलाई उचाईमा नपु¥याएका भने होइनन् । अहिले मात्रै फ्रान्समा चलिरहेको पहेंलो गञ्जी अभियान यसैको नमूना हो । दुरुपयोगको अर्को नमूनाका लागि दुई वर्षअगाडिको अमेरिकी राष्ट्रपति निर्वाचनमा विवादास्पद रुसी संलग्नताको उदाहरण पनि हेर्न सकिन्छ । यो पाटो यत्तिकै राखौं ।

स्थानीय निर्वाचनताका नुवाकोटका केही यूवामा पनि यो सञ्जालको उपयोगिता र प्रभावकारिताको अभ्यास भएकै हो । त्यो अभ्यासमा नियमित जोडिएका झण्डै दुई हजार मतदाता जो बहूसंख्यक सामाजिक सञ्जालसँग जोडिएका थिए, उनीहरुकै कारण नेपाली कांग्रेसले बिदुर नगरपालिका गुमायो । प्रविधिको शक्तिलाई अस्वीकार गर्दा पुरानो पुस्ता पुर्पुरोमा हात लगाउन त पुग्यो, तर नयाँ पुस्ताको अस्तित्व स्थापनार्थ सकारात्मक सन्देश पनि जान सकेन । दुर्भाग्य यही भयो ।

विद्रोह महिला, बच्चा, बृद्धको भन्ने हुँदैन, विद्रोहीको हुन्छ । जब विद्रोहको आवाज पहिचान हुँदन तर प्रतिफल नकारात्मक नै प्राप्त हुन्छ । त्यही भयो । सामाजिक सञ्जाल जोड्न भन्दा फुटाउन वा एकताभन्दा बिग्रहमा सफल हुन्छ भन्ने उदाहरणका लागि यो सन्दर्भ निकालिएको हो ।

यही दुर्भाग्य विवेकशील साझाको हकमा पनि लागू भयो । उनीहरुसँग ‘फ्यान फलोअर्स’ त थिए, फेसबुक र ट्विटरमा लाइक र कमेन्टस् गर्ने त थिए तर तिनीहरु नै वैकल्पिक राजनीतिक आधारशीला र मेरुदण्ड थिएन । फ्यानसँग जोडिनु र जनतासँग जोडिनुबीचको अन्तर्य अर्कै हुनपर्ने हो । भएन । एक वर्षसम्म जनतासँगभन्दा फ्यानसँग मात्र जोडिने मोहले विवेकशील साझाको बाजा बजेन । सामाजिक सञ्जालबाट एजेण्डासम्म पनि स्थापित नगर्ने पार्टी कसरी देशको वैकल्पिक राष्ट्रिय शक्ति हुन्छ ? हुँदैन । देशका १० लाख बेरोजगार र प्रवासका ४० लाख नागरिकको अन्तक्रियात्मक पहूँच मात्र राजनीतिको परिधी होइन, प्रत्यक्ष सरोकार राख्ने दुई करोड पचास लाख नागरिकको पहूँचमा पुग्न तत्अनुरुपको कार्यक्रम चाहिने हो, त्यही नभएपछि न विवेकशील साझा न त्यसबाट आशा । खुलित् ।

(…यो अनुच्छेदमा लेख्न सूचीकृत धेरै बुँदा थिए, सन्दर्भ थिए । तर, लेखक उमेश चौहानले पहिल्यै नयाँ पत्रिकामा गज्जबले आफ्नो प्रस्तुती दिइसके । पाठकलार्ई उक्त लेख पनि पढ्न आग्रह गर्दछु । )

जुन बेला विवेशकशील साझाको विधान सार्वजनिक भयो, मलाई व्यक्तिगत रुपमा के लाग्यो भने यसको उद्देश्यका दुई बुँदा आधुनिक पुस्तालाई आकर्षित गर्न पर्याप्त छन् । पहिलो ‘नेपाली राजनीतिमा आवश्यक निष्ठा, पद्दती, उत्कृष्टता, पारदर्शिता, समानुभूति जस्ता मूल्य मान्यतामा आधारित भएर नागरिक सहभागितामूलक राजनीतिक संस्कारद्वारा नेपाली नागरिकका अपेक्षालाई यथाशीघ्र सम्बोधन गर्ने’ र, दोस्रो सुशासनयुक्त, जवाफदेही र भ्रष्टाचारमुक्त राज्यप्रणालीको निर्माण गर्ने र अर्थतन्त्रलाई उद्देलित पार्ने । उक्त पार्टीको विधानको बुँदा नम्बर ३ः२ र ३ः३ का ती बुँदा देखेर लाग्यो अब ‘स्टन्ट’मा होइन ‘एक्सन’मा गएर यो उद्देश्य मुर्तिकृत गर्न अघि बढियो भने देशमा परिवर्तनको कोकोहोलो शुरु हुनेछ । भएन । उल्टो कोकोहोलो त विवेशकशील साझामै शुरु भयो । भित्रै । त्यो पनि अव्यवसायिक राजनीतिक दलको शैलीमा । अनि लाग्यो यो दाईबरादोबाट पराल माडिनेवाला छैन । मियोमा ‘ऐच्छिक बोका’ मात्र नारिएपछि पराल माडिन्न, समय र खाजाको मात्र नष्ट हुन्छ । अन्ततः भयो त्यही ।

विधानका अरु बाकि बुँदा त दलको रुपमा दर्ता भएका अरु राजनीतिक पार्टीहरुकै बुँदाहरुको कपीपेष्ट भन्दा पनि फरक नपर्ने भएकाले त्यता नजाम् ।

मूलभुत प्रश्न चाँहि विवेकशील र साझाबाट विवेकशील साझा भएपछि उद्देश्यमा उल्लिखित बुँदालाई क्रियान्वयन गर्न भएका प्रयास, त्यसका लागि तर्जुमा गरिएका दीर्घकालीन रणनीतिक र तात्कालीन कार्यनीतिक कार्यक्रमको हो । जहाँ कार्यकर्ताले कार्यक्रम नै पाउँदैनन्, बिजनेश नै पाउँदेनन् त्यहाँबाट परिवर्तनको बिगुल बज्छ, आगाज आवाज भनेर पत्याउन हुँदैन । अझ त्यहाँबाट गाँड कोराकोर र दन्तबजानका स्वरहरु पनि बाहिरै सुनिने गरी आउन थालेपछि त्यसलाई ‘पत्याउन नहुने पार्टी’ जसले पनि भन्ने भइहाले । यो आरोप होइन, पछिल्लो दुई वर्षमा उनीहरुले राष्ट्रिय सरोकारका मुद्दामा यो यो प्रतिफलमूलक काम गर्यौं भनेर आउन् अनि अरु बहस गर्न मज्जा आउँछ । कोही छ, विवेकशील साझाले ‘आहा ! र अहो !’ भन्नलायक यो काम गर्यो भन्ने ? आउनुस् ।

प्रदेश नम्बर तीनको संयोजक मनोनय गर्ने बेलामा विवेकशील साझा जनताको साझा दल हुनसक्दैन भन्ने एउटा ‘नेगेटीभ’ सन्देश गएको थियो । सूर्यराज आचार्य त्यो बेला आवेगमा थिए, अहिले भावनात्मक । तर राजनीतिमा न आवेगले काम गर्छ र न भावनाले । आवेग र भावना जनताको मुद्दासँग एकाकार नहुन्जेलसम्म अर्थहीन र बेकार हुन् । प्रदेश र स्थानीय निर्वाचनपछिको एक वर्ष विवेकशील साझाले गुजारेको यही अर्थहीन समयको सजाय हो उनीहरुभित्रको बिग्रह र विखण्डन । बिग्रहमा बिद्रोह भइदिएको भए त्यसको अर्थ खोज्न जायज हुन्थ्यो, यो त व्यक्तिगत आग्रहमा सृजित विभाजन देखिएकाले त्यो पनि टिप्पणीलायक छैन ।

‘यो पटक राष्ट्रिय पार्टी, अर्कोपटक देशको नेतृत्व’को नारा लिएर संघ, प्रदेश र स्थानीय निर्वाचनको माहोलसँग जोडिएको विवेकशील साझा साझा बन्न सक्दैन भन्ने त्यतिबेलै देखिएको थियो जुनबेला किशोर थापा र रञ्जु दर्शनाबीचमै उनीहरुले उपत्यकामै सहमति जुटाउन सकेनन् वा सकेका थिएनन् । यिनीहरु पनि ‘उही ड्याङको मुला’ हुन् र हुनसक्छन् भन्ने अनुमान जनताले उतिबेलै लगाएका हुन् । त्यो अनुमान पूरा भयो । जनताको अनुमान पूरा गरिदिएकोमा रवीन्द्र मिश्र र उज्ज्वल थापालाई बधाई । विकल्प हुन विकल्प देखाउन नसकेको स्वीकार गर्न नसक्ने मान्छे राजनीतिज्ञ हुनै सक्दैन । विकल्पको अभियान चङ्गा चुँडिए जस्तो बीचमै चुँडाउन सफल भएकोमा मिश्र र थापा दुबैलाई जदौ ।

मूलधारको राजनीतिमा विकल्पको खोजी गर्छु भनेर बाबुराम भट्टराई उछिट्टिए । कर्णप्रिय र मुहुनीमय नारा पनि आयो । तामझाम भयो । पार्टी प्रवेशका केही शिलशिला पनि भेटिए । तर जनमतमा शिला खोजे मात्र भेटिने अवस्थामा पुग्यो । किनकि, सिंगो पार्टीको कार्यक्रम जनताको तहमा पुगेकै थिएन । हिजो त समय थिएन पुगेन, मानियो, आज त समय बढी हुँदा पनि झन् टाडिएको अवस्थामा पुगेको छ । अनि यत्रो बन्छ वैकल्पिक शक्ति ? बाबुराम भट्टरार्ईको बिदेश भ्रमण र प्रायोजित अन्तक्रियाको समाचार शेयर गरेर बन्छ देशमा बैकल्पिक राजनीतिक शक्ति ? हैट ! बन्दैन । बन्दै बन्दैन ।

गम्भीर स्थानीय मुद्दाको राष्ट्रियकरण पनि गर्न नसक्ने, राष्ट्रिय मुद्दामा दवाव समूहको हैसियतमा पनि देखिन नसक्ने भएपछि को किन कसरी बन्छ वैकल्पिक राष्ट्रिय शक्ति ? न बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति बन्छ न रवीन्द्र मिश्रको एक पाखे तराजु । राजनीतिमा राष्ट्रिय विकल्प व्यक्तिको शैक्षिक योग्यताको प्रमाणपत्र ‘फ्यान फलोअर्स’ हेरेर बन्ने हुँदै होइन रहेछ । नीति मात्र बुलन्द कार्यक्रम चाँहि घाँस भएपछि कोही कसैको पनि दल वैकल्पिक बन्दैन, बन्न सक्दैन । भट्टराईले गाउने कांग्रेसको जयजयकार र मिश्रले बरु दरबारै ठीक भन्ने आशयका थोत्रा गीतहरुमा कसरी झुण्डिन्छ आजको पुस्ता ? यति चाँहि नेपाली समाजले बुझे पुग्छ ।

सत्तामा रहेका वा मूलधारको भनिएका राजनीतिक दलको उछितो काड्न, तिनीहरको खोइरो खन्न र गाली गर्न चाँहि तीन दिन तीन रात पनि खर्च गर्ने, जनताको मुद्दालाई एजेण्डा बनाएर अगाडि बढ्न चाँहि सिन्को पनि नभाँच्ने ? जनताले मेनु पल्टाएर मःमः मात्र राजे भन्ने, आफू चाँहि चिउरा पनि नकुट्ने, भटमास पनि नभुट्ने ? अनि हामी बन्छौ वैकल्पिक शक्ति भन्ने ? जनताले ‘अहो ! यो परिवर्तन चाँहि यसको कारण भएको हो है’ नभनुन्जेल विकल्प न सिकल्प । उत्तेजक भंगिमा र ग्यामरले एक दिनको एक सो मात्र चल्ला चलचित्र । बढी चले अर्को एक दिन चल्ला । इतिहास बनाएका चलचित्रमा ग्ल्यामर मात्र प्रधानतत्व छैनन् र हैनन् भन्ने चाँहि बुझौं । बाबुराम ब्रोले पनि बुझम् रवीन्द्र ब्रोले पनि बुझम् ।

समाजले हैसियत वा औकातअनुसारको नेता चयन गर्छ मात्र भनेर कहाँ हुन्छ ? समाजले विश्वास नगरुन्जेल ‘इन्द्रका बाऊ चन्द्रे’को पनि केही लाग्दैन । रस ननिकालुन्जेल मात्र उखु र ढोड एकै हुन् । तर ‘म उखु हूँ’ भन्न पनि कोलमा निचरिन पर्यो नि । परेन ? जनताको कोलमा निचरिन चाँहि तयार नुहुने अनि हामी उखु हौं मात्र भनिरहने ? यो बोलेर पत्याइने् जमाना होइन, कर्म गरेर देखाएपछि पत्याइने जमाना हो । नत्र जनताले विकल्पको पनि विकल्प खोज्छन् । नयाँको हुती नदेखिएपछि पुरानै …

२०७५ माघ ३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको