जनयुद्धका पश्चिम कमाण्डर बोगटीको दाङमा सम्झना

आदर्श र निष्ठा अनुशरण गर्नुपर्नेमा जोड


भदौ ३०, दाङ । जनयुद्धको मुख्य आधार क्षेत्र पश्चिम कमाण्डको नेतृत्व गर्ने माओवादी नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को स्मृति दिवस देशभर मनाइएको छ । त्यस क्रममा दाङमा पनि पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान, दाङ शाखाले घोराहीमा स्मृति सभा गरेको छ ।

स्मृति सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं ५ नम्बर प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले बोगटी नभइदिएको भए नेपाली राजनीति यति चाँडो आजको स्थितिमा नआउने बताए । अहिलेका सबै एजेण्डा जनयुद्धले स्थापित गरेको र जनयुद्ध सफल बनाउने मुख्य व्यक्ति नै बोगटी भएको अपारको भनाई थियो ।

जनताको बीचमा रहेर पार्टीको नीति लागु गर्ने बोगटी एक जननेता भएको औल्याउँदै नेता अपारले पार्टीका शीर्ष नेताहरुलाई सन्तुलनमा राख्नेदेखि युवाहरुलाई उत्साहित गरेर जनयुद्धमा कमाण्डर र सदस्य बनाउने बोगटीले नै गरेको स्मरण गरे । नेता अपारले उहाँको निधन नभएको भए आज नेकपा धेरै उचाईमा पुग्ने बताउँदै शर्माले भने, ‘उहाँका गुणको अनुशरण गरेर पार्टी निर्माण गर्नुपर्छ ।’

विशिष्ट अतिथि पोष्टबहादुर स्मृति प्रतिष्ठानका केन्द्रीय सदस्य निर्मल आचार्यले सामाजिक क्षेत्रबाट स्थापित नेता भएको औल्याउँदै बोगटीको दूरदर्शी राजनीतिक सोंच आजपर्यन्त लागु भइरहेको बताए । नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव नारायणप्रसाद शर्माले आजका दिनमा इमान्दार कम्युनिष्टको भूमिका के भनेर खोजी गर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

नेकपाका केन्द्रीय सदस्य एवं दाङ इञ्चार्ज जीवन गौतमले बोगटीको निष्ठा र क्रान्तिकारितालाई पछ्याउन सकेमात्रै स्मृति दिवस मनाउनुको सार्थकता हुने उल्लेख गरे ।

प्रतिष्ठानका अध्यक्ष नरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु तिलक शर्मा, इन्द्रजीत थारु, दामाकुमारी शर्मा र नारायणी शर्माले पनि मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष रमणकुमार शर्माको स्वागत मन्तव्यबाट अगाडि बढेको स्मृति सभाको सञ्चालन सचिव नरेन्द्र केसीले गरेका थिए ।

३० भाद्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको