भैरहवा भन्सारमा घुसको दररेट वर्षमा ३० करोड


बैशाख ०३, भैरहवा । मुलुककै दोस्रो ठूलो भैरहवा भन्सारमा भने गाडी पास गराएबापत तिर्नुपर्ने घुसको समेत दररेट कायम भएको खुलासा भएको छ, यो समाचार अन्नपुर्ण पोष्टका लागि लक्ष्मण पोखरेल र सलमान खानले अड्डामा अन्नपुर्णको २३औ भागमा प्रकाशित रिपोर्ट यस्तो छ ।

भैरहवा भन्सार नजिकै सानो गल्लीभित्र रहेको भन्सार एजेन्टको अड्डामा पुग्दा घुसको दररेट फेला परेको हो । ती एजेन्टका अनुसार प्रत्येक गाडी पास हुँदा औसतमा १५ सय कर्मचारीको हातमा राखिदिनुपर्छ । भैरहवा भन्सारबाट दैनिक करिब साढे पाँच सय मालवाहक गाडी मुलुकमा भित्रिन्छन् । यो दररेटले भैरहवा भन्सारमा दैनिक सवा आठ लाखको घुस कारोबार हुन्छ । वर्षमा ३० करोडभन्दा बढी । यो कारोबारमा भन्सार छल्ने चलखेलका ठूला योजना र यात्रु कक्षको कारोबार जोडिँदैन । कसले बुझ्छ त यति धेरै घुस ? ती एजेन्टले निर्धक्क भने– ‘पिउनदेखि मन्त्रीसम्म ।’

‘अरू ठूला घटनाको त मालअनुसार मोलतोल गर्ने हो, व्यापारीलाई धेरै नाफा हुने रहेछ भने त्यसअनुसारकै रकम भुक्तानी हुन्छ,’ ती एजेन्टले भने । यात्रु कक्ष भनेको साइकल, साना गाडी, झोलामा ल्याइएका सामानको भन्सार गर्ने स्थान हो । त्यहाँ भारतीय गाडीलाई नेपाल प्रवेशको अनुमतिपत्रसमेत दिइन्छ । जुन मूल भन्सारको राजस्वको नगण्य प्रतिशत हुन्छ । भैरहवा भन्सारका प्रमुख कमलकुमार भट्टराईका अनुसार यसले राजस्व संकलनमा खास प्रभाव राख्दैन ।

तर यो सबैभन्दा घुसको कारोबार हुने स्थान हो । ‘…भन्दा देख्नेलाई लाज’ भनेजस्तै यहाँ खुलमखुला घुसको बार्गेनिङ हुन्छ । सीसीटीभीकै अगाडि घुस लेनदेन हुन्छ । कम मूल्यांकन गरिदिएबापत कर्मचारीले खल्ती भर्ने काम यही स्थानमा हुन्छ ।

भन्सारमा जे देखियो

भैरहवा भन्सार कार्यालय । शनिबार बिहान ठिक १० बजे (भन्सार शनिबार पनि खुला हुन्छ) । अन्नपूर्णको टोली अड्डामा पुग्दा कार्यालयमा सेवाग्राही आइसकेका थिए । तर अधिकांश कर्मचारीको कुर्सी खाली थियो । कोठामा बत्ती बलिरहेका थिए भने पंखा फनफनी घुमिरहेका थिए । सेवा लिन आएका मोहन भुसाल कर्मचारीको पर्खाइमा थिए । चीनबाट आयात गर्र्न थालिएको स्टेसनरी सामग्रीको भन्सार गराउन उनी कागजपत्र बोकेर मूल ढोकामै उभिएका थिए ।

सेवाग्राही भनेको त उनी भन्सार एजेन्टका प्रतिनिधि रहेछन् । भन्सार कार्यालयमा करिब सबै काम एजेन्टमार्फत हुन्छ । दैनिक काम गराउन उनी कार्यालयमा आउँछन् । उनले एजेन्ट प्रतिनिधिका रूपमा काम गर्न थालेको ११ महिना भयो । उनी भन्सार विश्वासमा चलेको बताउँछन् । ‘हामीले जुन कागज ल्याउँछौं, त्यही सदर हुन्छ,’ उनले भने ।

१० बजेर २० मिनेट गयो । भन्सार अधिकृतको कक्ष, प्रशासन, लेखा, मुद्दा, आसीकुँडा, फाराम, मूल्यांकन, महसुल, वर्गीकरण तथा बेरुजुलगायत अधिकांश शाखामा कर्मचारी आएका थिएनन् । कुनै शाखाको ढोका खुला थियो भने कर्मचारीको कुर्सी खाली थियो । कुनैको भने ढोकै बन्द थियो ।

३ बैशाख २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको