‘पहिलेको पुष्ट छाती ओइलाईसकेको फूल जस्तै बनेछ’


अनन्त अनिल । एउटी युवतीको जन्म भयो, प्रकृतिको सहारामा । उ अहिले १९ वर्षकी भैसकेकी छ । उसका शारीरिक छटाले गर्दा सबै युवकहरु उनको सुनौला मुहारको वर्णन गरेर साध्य नभएको बताउँछन् ।

लेखक: अनन्त अनिल 

जुन कोणबाट हेरे पनि उनको शारीरिक छटाले मान्छेहरु एकोहोरो कल्पनामा व्यस्त थिए । उनको पुष्ट भरिएका छातीहरु, मृगनयनी आँखाहरु,हरिणको चालबाजीमा चलमलाएका शरीरहरुमा जताततै चुसिरहुँजस्तो रस थियो । सलक्क मिलेको कालो केशले उनको मुहारलाई नै प्रष्ट चन्द्रमाजस्तै चम्किलो बनाएको थियो ।

उसले पनि उनलाई भेट्ने मौका पाएछ । उ धेरै घनी छ, उसले धेरै चर्चा पाइसकेको छ किनकी उ एसियाकै तेस्रो धनी व्यक्ति हो ।

उनलाई भेटेपछि उसले धेरै रहरहरु उत्पन्न गरायो । उसको कल्पना अरुको भन्दा बेग्लै थियो किनकी त्यो कल्पना अबश्य पुरा हुन्छ, उसले सोच्दथ्यो ।

उसको उमेर ४० कटेको भएतापनि उसलाई यौन इच्छा छ । त्यसैको तृप्तिको लागि पनि उसले तिनै युवतीलाई अंगाल्न आँटेको छ । उसको क्षेणिक आनन्दमा लिप्त बन्नकै लागि उनीसंग नजिकिन पैसाले ठूलो भूमिका खेल्यो ।

सबैलाई चासोको विषय बनयो । आखिर ती युवतिले उसैसंग प्रेम पनि गरिन् रे । आखिर त्यो ४० वर्षको बुढोसंग १९ वर्षे सुन्दर युवती कसरी फसिछन् । सबै जादु उसको पैसाले गर्यो । यसै खवरले कति केटाहर पेसा कमाउन जे पनि गर्न थाले ।

युवतिको प्रेम महिनौं चल्यो । ती युवती उसका ठाउँ ठाउँका गहना बनी अनि पलपलको तृप्ति पनि ।

सहरमा ठूलो हल्ला चल्यो । ती युवतीको प्रेम टुट्यो रे । तिनी भर्खर २० वर्षमात्र पुगेकी सलक्क मिलेका कपाल, पुष्ट छाती, गुलावी ओठ, जताततै खेलाइरहुँजस्ती कहाँ छिन् ? केटाहरुले सारा खोजेछन् ।

एकदिन अँधेरी रातमा रत्नपार्कको कालो सडकमाथिबाट प्राकृतिक सवार गरिरहेको एउटा युवकले एउटा कुनामा सानो शिशु रोइरहेको आवाज सुन्यो । त्यति राति त्यो समय कसले त्यो बच्चालाई त्याहाँ राखेछ, उसमा शंका उपशंका उव्जियो अनि उतै गएर हेर्यो । त्यो शिशु अझै रोइरहेको थियो । त्यहाँ उसकी आमा समेत थिई । ऊ भुँइमै सुतेकी थिई, शरीरलाई कोल्टे बनाएर । त्यो शिशु उनको स्तनपान गर्दागर्दै पनि रोइरहेको थियो ।

उसलाई रत्नपार्कको रात्री कथा सबै थाहा छ किनकी उसले प्रायः दिन रत्नपार्क ओहोरदोहोर गरिरहेको हुन्छ । युवक फेरि आफ्नो बाटो लाग्यो ।

बच्चा केहिबेर शान्त भएर फेरि रुँन थाल्यो । युवकलाई अचम्मको रिस उठ्यो । अनि बच्चा नजिकै गएर ती युवतिलाई बिउँझाउने प्रयत्न गर्यो । उसले बोलाउन खोज्यो, त्यो विधि उसलाई उपयुक्त लागेन किनकी त्यो शिशु धेरै अगाडि देखि रोईरहेको थियो, चकमन्न रातमा धरहरानै थर्काउने गरेर ।

युवक नजिकै पुग्यो, शिशुको आमाको मुखमा लाईट बाल्यो । उ झसंङ्ग भयो, जिऊमा अदृष्य परिचित युवतिको चेहरा नाच्न थाल्यो । त्यो सडककी युवति त्यही थिई जसलाई उसले संसारकै राम्री भनेर उपमा दिएको थियो ।

उसले उनको सम्पूर्ण स्थिति नियाल्यो । पहिलेको पुष्ट छाती ओइलाईसकेको फूल जस्तै बनेछ ।

जून फूललाई हजारौंले चुसेर भ्याइसकेका थिए, सन्तुष्टिको लागि ।

आज त्यही स्तनलाई त्यो रुँदै गरेको शिशुले तानिरहेको थियो, जीवनको लागि ।।

उनको सम्पुर्ण शरीरहरुमा कुनै रंग थिएन, नत थियो यौवनरस । चन्द्रमा झैं टल्किने मूहार पनि उसले हेर्यो, अनि गुलावी ओठ, त्यो ओठ पहिलेको जस्तै थिएन । उनको ओठ निलो थियो । युवक टोलाईरह्यो ।

उसले मुटुलाई मस्तिस्कसम्म केन्द्रित गर्यो ।

शंका ।

ती युवति मरिसकेकी रहिछ ।

अझैपनि त्यो शिशु उनको स्तनसंग बाच्नको लागि संघर्ष गरिरहेको थियो तर उसले आफुलाई जन्म दिने आमाबाट केहि पनि पाएन, बाच्नको लागि ।

शिशुको स्वर रोकियो ।

टोलाईरहेको युवकलाई शान्त वातावरणले झस्कायो । युवकले दुबैको नारी छाम्यो, शिशु रुन खोजिरहेको थियो तर सकिरहेको थिएन । युवकले थाहा पायो त्यो अघिसम्म आफ्नी आमाको छातीसँग बाच्ने संघर्ष गर्दै छटपटाइरहेको शिशु त केहि घण्टादेखिनै मरिसकेको शरीरसँग आफ्नो जीवनको लागि संघर्ष गर्दै पो रहेछ ।

मरेको मुढोसँग जीवन संघर्ष गर्दै गरेको त्यो शिशु पनि अबत मौन बस्यो ।

केहि बेर अघिसम्म उसले गरेको संघर्ष अब कायम रहेन । उसको हात-खुट्टा-छातीमा कुनै चाल उत्पन्न भएनन् ।

एक्कासी शिशुले हात र खुट्टा तन्कायो । तत्काल उनको दुई ओठले च्यापिएर रहेको उसकी आमाको स्तनको मुन्टोले समेत छुटकारा प्राप्त गर्यो ।

युवक एक्कासी चिच्यायो ! ‘लौ न यहाँ दुई आमा-छोरा मृत अवस्थामा छन् ।’ केहीबेरमा मानिसहरु त्यतै झुम्मिए ।

– उपन्यास नयाँ संसार (२०६७) बाट

२ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको