सल्यानमा जनप्रतिनिधिहरु भेला भएर यसरी गरे आफ्नै पार्टीको कडा आलोचना


खकेन्द्र केसी/चैत २, सल्यान । सत्तारुढ दल (नेकपा)का जनप्रतिनिधिहरुले सल्यानको कुपिण्डे तालमा भेला गरेका छन् ।

सल्यानका ७ वटा स्थानीय तह र ५९ वटा वडाहरुमा जितेका (नेकपा)का अधिकांस जनप्रतिनिधिहरुले बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ मा रहेको कुपिण्डे तालमा पुगेर भेला गरेका हुन् । जिल्लाको विकास र एकअर्काबिच भेटघाटको लागी भन्दै कार्यक्रम गरेका जनप्रतिनीधीहरुले आफ्नै पार्टीको आलोचना समेत गरेका छन् ।

दुईवटा पार्टी मिलेर बनेको (नेकपा)को लामो समयसम्म सल्यानमा एकता नभएको भन्दै उनिहरुले आफ्नै पार्टीको आलोचना गरेका हुन् । उनिहरुले पार्टीका ठुला नेताहरुले स्थानीय जनप्रतिनिधिहरुलाई वास्तै नगरेको आरोप समेत लगाएका छन् ।

कार्यक्रममा बोल्दै बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले अहिले आफ्नो पार्टी नभए जस्तो महशुस भएको बताए । उनले आफुहरुलाई पार्टीले केहि वास्ता नगर्ने र काममाथी पनि निगरानी नगरेको बताए । उनले भने– “भन्नेबेला महान तथा गौरबशाली पार्टी भन्ने, तर गर्ने बेला केहि नगर्ने ?”

पहिले माओवादी हुँदा मात्रै चुनाव जित्दा समेत बधाई नदिएको भन्दै उनले अहिले झन एकता गरेर बडेमानका नेताहरुले पार्टी नै नभएको जस्तो बनाएको बताएका छन् । उनले भने– “यत्रा बडेमानका नेताहरु भएको पार्टी छ, तर कहाँ छ भन्ने पत्ता छैन् । हामीले अझ पार्टीकाे इज्जेत जोगाएका छौँ ।” उनले याे कुरा ठुला नेताहरुकाे कान सम्म पुर्याउन पनि आग्रह गरेका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले पार्टी बिना आफुहरु अगाडी बढ्न नसक्ने बताए । उनले जिल्लामा पार्टीको संरचना नहुँदा जनप्रतिनिधिहरुलाई समस्या भएको बताए । पार्टी नहुँदा आफुहरुलाई विभिन्न आरोप लाग्ने गरेको भन्दै उनले पार्टीको आवश्यक भएको बताए ।

कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले पार्टीले टिकट दिएर जिताएपछि पार्टीले नै सेभ गर्नु पर्ने बताइन् । उनले प्रतिपक्षले आफुहरुको आलोचना गर्दा पनि पार्टी उल्टै प्रतिपक्ष सँग मिलेर आफुहरु विरुद्व लागेको बताइन् । उनले भनिन्– “पार्टीले सरकार चलाउने हो, तर सरकारले पार्टी चलाउने हैन् ।”

कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जिम्मेवार नेताहरु पार्टी कमिटी निर्माण गर्न तिर लाग्न आग्रह गरे । उनले पार्टी एक भएर आफुहरुलाई निर्देशन दिनुपर्ने बताए । जिल्लामा पार्टी एकता नभएपनि आफु जनप्रतिनिधिहरु एक भएर एकताको सन्देश दिन खोजेको उनले बताए । उनले भने– “हिजोका कुराहरु पुरा भएका छैनन्, अब हामी जनतासामु जाँदा पार्टीको तर्फबाट कसरी जाने भनेर अन्योल भएको छ ।”

सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले आफुहरु गुट उपगुट बनाउन नभएर जिम्मेवार नेताहरुलाई झट्का दिन भनेला गरेकाे बताए । उनले अब पार्टी एकताको कमिटी निर्माण गर्न नेताहरुको ध्यान जानुपर्ने बताए ।

कार्यक्रमको सभाअध्यक्षता गरेका बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुनले यो कार्यक्रमले कुपिण्डे तालको प्रचार र विकासमा टेवा पुग्ने बताए । अब कुपिण्डे तालकाे विकासमा सबैकाे ध्यान जानुपर्ने उनकाे भनाइ छ ।

कार्यक्रमको संचालन गर्दै दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले एकताको सन्देश दिन र सबै सँग छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताए । कुपिण्डेको प्रचार हुने र समग्र जिल्लाको विकासका बारेमा छलफल हुने भएकाले यस्तो कार्यक्रम गरिएको उनले बताए ।

उनले भने– “हामीले कुनै आयोजक नै बनाएर कार्यक्रम गरेका हैनौँ, हाम्रा पार्टीका सबै जनप्रतिनिधीहरु मिलेर गरेका हौँ । यसले पार्टीमा राम्रो र दबाव मुलक सन्देश जान्छ”

तर कार्यक्रममा सहभागि वनगाड कुपिण्डेका नगरप्रमुख रहेका गोविन्द पुन नेकपा एमालेका पूर्व अध्यक्ष हुन भने दार्मगाउँपालिका अध्यक्ष निमवहादुर केसी नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक हुन । अहिले दुवै नेकपा कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेका छन् ।

यस्तै कपुरकोट गाउँपालिका अध्यक्ष भीमवहादुर सेन, कुमाख गाउँपालिका अध्यक्ष दिलमाया विएम पनि कर्णाली प्रदेश समितिमा रहेका छन् । पार्टीका मुख्य पदमा रहेका नेताहरु नै सरकारमा रहेर पनि पार्टी प्रति गुनासो गरेको विषयलाई कार्यक्रम सहभागि वडाअध्यक्षहरुले राम्रो नभएको वताएका छन् ।

कुमाख गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष तिलविर वुढाथोकीले पार्टीका केन्द्रीय र प्रदेश समिति सदस्यहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन गर्नु पर्ने वताए उनले भने- “कि सवै दलवाट वीजयी जनप्रतिनीधि सहभागि हुनु पर्दथ्यो । कि नेकपा निकटका सहभागि हुनुपर्ने हो भने पार्टीका नेताहरुलाई सहभागि वनाउनु पर्दथ्यो । यो कार्यक्रमले राम्रो सन्देश दिएन । कार्यक्रममा पार्टीका नेता सहभागि वनाएको भए राम्रो हुन्थ्यो ।”

उक्त कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका राष्ट्रिय महासंघका निर्देशक विमल पोख्रेलले स्थानीय तहमा हुने सवै खाले कामकाजका विषमा र कानुनी पाटाका वारेमा प्रशिक्षण समेत दिएका थिए । कार्यक्रममा (नेकपा)ले जितेका सल्यानका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, स्थानीय, पत्रकार र सुरक्षाकर्मीको उपस्थिती रहेको थियो ।

(नेकपा) जनप्रतिनिधीहरुले महिनाकाे एउटा शनिबार यसरी नै भेटघाट तथा विकास निर्माणका कामहरुमा छलफलका लागी भेला गर्ने बताएका छन् । उनिहरुले आगामी बैशाख १४ गते सनिबार बागचौर नगरपालिकामा बन्न लागेको अग्ला भ्यु टावरमा भेला गर्ने निर्णय गरेका छन् ।

२ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको