हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै राप्रपाद्धारा आन्दोलन घोषणा


चैत २, काठमाडौं । हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनको घोषणा गरेको छ ।

शनिबार राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।

चैत १५ गतेबाट सुरु हुने पहिलो चरणको आन्दोलन वैशाख ८ गते सकिने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । प्रमुख श्रेष्ठका अनुसार १६ गतेसम्म प्रचारप्रसार, १७ गतेदेखि २३ गतेसम्म देशब्यापी हस्ताक्षर संकलन अभियान राखिएको छ ।

यस्तै चैत २५ गते सिंहदरवार अगाडी, प्रदेश राजधानीमा र जिल्ला सदरमुकाममा १ घण्टे धर्ना कार्यक्रम राखिएको छ । चैत २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टे धर्ना, वैशाख ५ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्मनिरपेक्षताको ब्यानर÷प्लेकार्ड जलाउने र वैशाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रहको कार्यक्रम राखेको छ ।

पहिलो चरणको संघर्ष सकिएपछि लगत्तै संघर्षको उचाई र सशक्तता बढाउँदै दोस्रो र तेस्रो चरणको कार्यक्रम तयार गरिने राप्रपाले जनाएको छ । यसैबीच मागहरु पुरा गर्नेबारे सरकार सकारत्मक रुपमा प्रस्तुत भए सरकारसँग वार्ताको ढोका सदैव खुला राखिने राप्रपाले बताएको छ ।

राप्रपाले विगत केही वर्षदेखि तराईका केही जिल्लाहरुमा देश टुक्रयाउने गतिविधि गरिरहेको बिखण्डनकारी सिके राउतसँग भएको नेपाल सरकारको सम्झौता अप्रत्याशित र रहस्यमय ढंगबाट सार्वजनिक भएको आरोप लगाएको छ ।

सरकारी संयन्त्रले उक्त सम्झौता पश्चात देश बिखण्डनको खतराबाट मुक्त भएको तथा सिके समूहले बिखण्डनको मुद्दा परित्याग गरेको व्यापक प्रचार गरेपनि उक्त सम्झौतामा प्रयुक्त भाषा र सम्झौतापछिका गतिविधिले आमजनतामा व्यापक आशंका र चिन्ता पैदा गरेको राप्रपाको दावी छ ।

यस्तै राप्रपाले नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी समूहका गतिविधिलाई प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयको बिषयमा समेत आम जनतामा चिन्ता र चासो बढेको बताएको छ । विप्लवलाई मुलधारको राजनीतिमा आउन समेत राप्रपाले आग्रह गरेको छ ।

यस्तै बेठकमा राप्रपा पार्टीले गत फागुन १५ गते ताप्लेजुङ्गबाट शुरु गरी चैत १ गते सम्पन्न गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा आमजनताबाट प्राप्त उत्साहपूर्ण सद्भाव, समर्थन र ऐक्यवद्धता पाएको पनि जानकारी गराएको छ ।

२ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको