साम्राज्यबादको नाडी छाम्ने प्रचण्डले ‘म्याउँ’ गरेको सुहाएन !


पृथीछक बुढा मगर । मेरो एकजना पत्रकार, लेखक मित्र पुरुषोत्तम लम्सालले आफ्नो फेसबुक स्टाटसमा ‘सिंहले म्याउँ गरेको मलाई मन परेन’ भनेर पोष्ट गर्नु भएथ्यो । त्यो हिजोको सिंह थियो, जो आज कसरी म्याउँमा झर्‍यो ? उहाँको शब्दलाई टपक्कै टिपेर यो लेखको शिर्षक दिएँ ।

छातीमा हात राखेर भन्थे यो लोहाको छाती हो । त्यतिखेर हाड मासुले बनेको छातीलाई लोहाको छाती भनेर आफ्ना अनुयायीहरुलाई सिकाएथे । छाती लोहाकै थियो वा बिचार लोहाको थियो । समय संगै यो कसरी खिइयो ? त्यो जंगलको राजाको गर्जन कसरी म्याउ भयो ? स्वर कसरी क्षीण हुँदै गयो ?

हिजो स्ट्रेचरमा आफ्नो नाम लेख्न सिकाउने, टाउकोमा कफन बाँध्न सिकाउने र आफैले बोकेको कोदालीले गर्वका साथ यो मेरो चिहान खन्नको लागि हो भनेर सिकाउने उनै फलामे छाती भएका कमान्डर प्रचण्डलाइ आज मृत्युको यतिविधि भय ?

हिजो विश्व साम्राज्यवादको लागि नेपालको प्रमुख शत्रु किटानी हुँदा पनि कुनै देशी बिदेशीको तागतले उनको रौ समेत हल्लाउँन सकेन । आज उनै फलामे कमान्डरलाई आफैले जन्माएको फुच्चे बिप्लववाट डर लाग्यो ।

हिजो रुकुम रोल्पाको जनताको बिचमा न कुनै सुरक्षाको आबस्यकता थियो । न जनतावाट नै उनलाई आक्रमणको सम्भावना थियो । एक किसिमको भगवान जस्तै थिए । आज त्यो भगवान प्रतिको आस्था कसरी बिलय हुँदै गयो ? जनतावाटै कसरी आक्रमणका सिकार हुँदै गए ? आज दर्जनौं सुरक्षा घेरा भित्र पनि कसरी असुरक्षित महसुस गरे ? यो उनैले ध्यान दिए बेश हुनेछ ।

उनै नेकपा (नेकपा)का अध्यक्ष प्रचण्डको सुरक्षामा ५९ जना सुरक्षाकर्मी खटिएको खबर छ । यदि देशमा साच्चिकै सुरक्षा चुनौती बढेकै हो भने जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउने कुरामा ध्यान दिने कि आफ्ना अंग रक्षकहरु थप्दै जाने ?

हातहतियार बाहेक तलव भत्तामा मात्रै करोडौं रुपैयाँ खर्च हुनेवाला छ । एउटा जनताको छोरालाई यो फजुल खर्च बिल्कुलै सुहाउँदैन । यसैको विरुद्धमा जनताले पौने शताब्दी देखि संघर्ष चलाउदै आएको हो । आफुलाई बादसाह भन्न रुचाउने बडेबडे तानाशाहहरुलाई जनताले घोडावाट झारेको ईतिहास नेपालमा खासै पुरानो भएको छैन । त्यसैले प्रचन्ड काकाले आफुलाई बादशाहको कित्तामा उभ्याउनु उति युक्तिसंगत लाग्दैन ।

एउटा जंगली सिहले सानो स्वर निकालेर म्याउँ म्याउँ गरेको सुहाउँदैन ।

लेखकका निजि बिचार हुन् ।

२ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको