दाङ आएका नायक दिलिप रायमाझीले भने- ‘अफर नआए आफै फिल्म निर्माण गर्छु’


नवराज घिमिरे/फागुन ४, दाङ । नेपाली सिनेमा क्षेत्रमा सुपरहिट नेपाली फिल्ममा अभिनय गरिसकेका लोकप्रिय नायक दिलिप रायमाझीले टिमवर्कमा काम गर्दा फिल्म सफल बन्ने बताएका छन् ।

कुनै समय नेपाली सिनेमा क्षेत्रमा एकछत्र राज गरेका भर्सटाइल एक्टर दिलिपले फिल्म चल्न कलाकार, निर्माता, निर्देशक, नृत्य, द्वन्द्व, गीतसंगीत सबैको तालमेल हुनुपर्ने कुरामा जोड दिदै पछिल्लो समयको ब्लकबस्टर फिल्म ´छक्का पन्जा` र यसको सिरिज यसैको ज्वलन्त उदाहरण भएको बताए ।

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले आज तुलसीपुरको द पार्क क्याफेमा गरेको साक्षात्कार कार्यक्रममा दिलिप रायमाझीले आफुलाई ´दर्पणछाया` जस्तै सुपरहिट फिल्म फेरि गर्न मन भएको भएपनी त्यस्तो टिम भने भेटाउन नसकेको बताए ।

अमेरिका बसाई पछिको कमब्याक किन सुखद हुन सकेन भन्ने पत्रकारको जिज्ञासामा रायमाझीले भने- ‘म एक्लैले गर्दा फिल्म चल्ने होइन मैले माथी भने जस्तो टिमवर्क मिल्न सकेन, फलस्वरूप मैले काम गरेका फिल्मले सोचे अनुसारको व्यापार गर्न सकेनन ।’

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अर्को एक प्रसङ्गमा रायमाझीले तत्काल फिल्म निर्देशन गर्ने कुनै सोच नभएको र अझै केही समय बाहिरी ब्यानरका फिल्ममै काम गर्ने सोच रहेको बताए । नेपाली दर्शकलाई दिलिप रायमाझी नदेखेर ग्यास्ट्रिक बढेको प्रसंग जोड्दै मरमसला थपेर अफर आए आफु फिल्मलाई निरन्तराता दिने उनको भनाइ थियो ।

फिल्ममा अफर नआए आफै फिल्म निर्माण गर्न पछि नपर्ने रायमाझीले बताए । संघका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा चलचित्र पत्रकार संघ दाङका संस्थापक सल्लाहकार शरद अधिकारी लगाएतले आआफ्नो धारणा राखेका थिए । यस्तै कार्यक्रमको सहजीकरण संघका सचिव सन्तोष के.सी.ले गरेका थिए ।

२०७५ फाल्गुन ४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको