‘घर फोर्नु कुखुरा नचोर्नु’


अर्जुन राज पन्त । पुसे ठण्डीमा चिया पिउदै समाचार हेर्दै थिए, एक्कासी करेसाबाट बच्चा रोएको आवाज आयो, के पो हो त भन्दै हेरे ! आफ्नै सात बर्षे छोरि सुन्तलाको रुखको टुप्पोबाट ओराल्दिनुस ओराल्दिनुस भन्दै कराउदै थिई ।

एकातिर त्यति चाख लाग्दो समाचार छुटेको झोक अर्को तर्फ अस्तिमात्र कांशोको उपचार गरेर ल्याएकी छोरि यस्तो ठण्डीमा एकाबिहानै सुन्तलाको रुखमा देख्दा रुखै सहित हल्लाएर तल खासाल्दिउ जस्तो झोक नचलेको त कहाँ होर ! बुढेसकालमा जन्मेकी एक्ली सन्तान, त्यो गर्ने हिम्मत त कहाँबाट आओस, उल्टै आफ्नै बाल्यकालमा टोल छिमेकमा घटेको घटनाको पो याद आयो।

सायद टिभीमा देखेको समाचारले होकी वा रुखमा चढ्न सक्ने तर ओर्लन नसक्ने घटनाले हो, त्यो धेरै बर्ष पहिलेको घटना सम्झे ।

सुन्नुहोस बिगतको घटना यस्तो थियो…!

गाँउको पल्लो छेउमा एक जना बुढी आमा एक्लै बस्नु हुन्थ्यो । वास्तविक नाम त के थियो कुन्नि, सबैले सुन्तली बजै भन्थे । पेट पाल्नलाई अलिकति खेतीपाती थियो । नुन तेल खान र हरको धजो फेर्न आफ्नै घरका सुन्तला बिक्रि गर्नु हुन्थ्यो । कहिले चौपारीमा बेच्नु हुन्थ्यो त कहिले एकादशी मेलामा।

त्यो साल सायद ठूली एकादशी कुरेर बस्नु भएको थियो कि क्या हो । रुख भरि सुन्तला लटरम्मै थिए । रातमा पनि कसैले चोरलानकी भनेर रुखमा डोरी बाँधेर टिन झुण्डाएर पिंढीमा सुत्नु हुन्थ्यो ।

सुन्तली बजैका घर नजिकै एक जना फटाहा फटाहा मतिका धूर्त बूढा बस्थे । पैसा लिएर जस्ताकोनि बिबाह गराउने काम गर्ने भएकोले सबैले लमी बाजे भन्थे । मर्दा पर्दाका छिमेकि हुन्, भन्दै बजैले बेला बेलामा सुन्तला खान नदिएकि पनि हैनन् तर एक दिन बाजे सुन्तलाको रुखमा खादी भरि सुन्तला चोर्दै गरेको अबस्थामा पक्रिए । सुन्तली बजैले हार गुहार गरिन । एकै छिनमा छर छिमेकि सबै जम्मा भए ।

सुन्तलाले भरिएको खादी काँडामा अल्झेर बूढा भाग्न पाएनन । रुखमुनी गाँउलेको ठूलो भीड देखे पछि बुढाले लौन मलाई के ले ल्यायो यो रुखमा ? म कहाँ छु? लौन मलाई छिटो ओराल भन्दै रुखबाट कोलाहल मच्चाउदै दुवै हात छोडेर एकोहोरो कराउन थाले ।

कसैलाई सोध्ने र गालि गर्ने फुर्सद्नै दिएनन, कता बुटा मुनिको ढुंगामा पधारिएर बूढा मर्ने हुन् र ज्यानमारामा परिनी हो भनेर सुन्तली बुढीको पनि हंशले ठाँउ छोड्यो । बुढीलाई आफ्ना सुन्तला चोरेको रिस पनि मरेर आयो । आफ्नो सुन्तला भन्दानी लमी बजेको ज्यानको चिन्ता बढी भो । बुढालाई हर्जना तिराउने कुरा त कहाँ हो कहाँ, उल्टो उसैको ज्यान जोगाउने फर्साद आइलाग्यो ।

बुढीले लौन जसरि हुन्छ यी बुढालाई रुखबाट ओराल्देउ भन्दै कराउन थालिन । अन्त्यमा घुमाउने घरे लाहुरेले भरांग हालेर बुढाको रुखमा अड्केको खादी काटेर बुढालाई ओराले सुन्तला भुई भरिभो । गाँउले सबै सुन्तला जम्मा गर्न थाले । लमी बूढा झन् चर्को चर्को स्वरमा हे लौन मलाई के ले सुन्तलाको रुखमा ल्यायो भन्दै हनुमान चालिसा भटयाउदै घर तिर लागे।

टीभीमा हेरेको समाचार पनि दुरुस्तै लमी बाजेको कथा जस्तो, पढे लेखेका मै हु देशमा परिवर्तनको सम्बाहक भन्ने युवा नेता देखि रैथाने, उधोगपति, मन्त्रि, सांसद आफूलाई संसारमै सबै भन्दा ठूलो इमान्दार क्रान्तिकारी बताउने नेताहरु समेत आफ्नो आलिसान घर हुदाहुदै पनि घर छैन भन्दै बर्सौ देखि ढाटेर घर भाडा बापतको पैसा र दोहोरो इन्धन सुबिधा लिएको अभियोगमा समातिए पछि, खै मलाई त थाहा थिएन, कसले हल्दिए छ कुन्नि ? यो पैसा मेरो खातामा भन्दै, लमी बाजेकै शैलीमा एकोहोरो कराउदै थिए ।

कसैले त मेरो काम हो र पैसा बुझ्ने मेरो पीयको काम हो भन्दै लमी बाजेको भन्दानी माथिल्लो स्तरको फट्याई पनि देखाए । कसैले पक्रिए पछि फिर्ता गरेर चोखो चोर पनि बन्ने प्रयास गरे । अचम्म लागेर आयो । आफ्नो खातामा कति पैसा आएको छ, सो पनि मतलब नहुने यी धमिराहरुको आम्दानीको कस्तो श्रोत रछ! आफुलाई आएको पैसाको कुनै अर्थ नै छैन भने किन लिनु फेरी एति गरिब जनताको पसिना !

कतै रास्ट्रपति जस्तै पो हुनकी जे मा पनि नबुझिकन दस्तखत गर्ने यी पनि र यस्तो अनर्थ भो भन्दै उनै लमी बाजेलाई सम्झदै थिए । हैन ती बूढा हाल सम्म बाचेको भए के गर्थे होला ? भन्दै कसरि निकाल्ने हो त छोरि रुखबाट भन्दै सोच्दै थिए । छोरि छिट्टो ओराल्दिनुस भन्दै रुदै कराउथि, म उसलाई आज सबक सिकाएरै छोड्ने अठोटमा थिए । यत्तिकैमा झन् सार्हो रुन थाली मैले म सक्दिन जे सुकै गर भन्दै के हकारेको थिए, नजिकैको अम्रिसोको गांजबाट म सक्छु भन्दै चिनेको जस्तो आवाज आयो।

यसो हेरे साधुराम पो र छ । बारम्बार पुलिसले पक्री रहने भएर, पुलिसहरु पटके समेत भन्थे तर साधुरामकै नामले चिनिन्थ्यो गाँउ भरि । उसको वास्तविक नाम सायद उसैले समेत भुल्ने अवस्था थियो ।

पक्कै पनि सुन्तला चोर्न वा बाहिर राखेको कुनै भाडो टिप्ने जोखाना हेरेर बसेको थियो होला । अस्ति मात्र हो चांबी मिलाएर अर्काको घरमा पसी चोरेको आरोपमा पक्रिएको कति चाडो छुटयो फेरी भन्दै दङ्ग भए । जे होस् हल्का जिउको छ, यो चढ्दा सुन्तलाको हाँगा पनि भाचिन्न भन्ने सोच्दै ल जा बाबु यो नानीलाई ओराल्दे भने ।

चोरको बेर्नो बादर जादा झैँ रुखमा गयो र छाउरा च्यापे जसरि कतै नकोतरी ओराल्दियो । अघि पछि दैला अगाडिको बाटो समेत उसलाई हिड्न नदिने ‘म’मा आज उ प्रति बेग्लै किसिमको भावना पलाएर आयो । सुन्तला खाने भए खा बाबु ला बस भन्दै छेउको मुढा दिए । एकाबिहानै खान्न दाई भन्दै गजबको भद्रता देखायो । बाल्यकालमा आँसी (हसिया)को चुच्चोले दुनियाका घरका झ्याल-ढोका खोल्दै हिड्ने साधुराम आहिले दुनियाका घरका चांबी मिलाएर चोर्ने हैसियतको चोर बनिसकेको थियो । यस्ता चोरको अनुहारमा समेत कता कता आत्मबिस्वास झल्किएको पाए र मैले सोधे बाबु त… त अस्ति भर्खरै चोरि केसमा समातिएको भन्थे कति चाडै छुटिस त नि ?

उसले एक शव्दमा भन्यो ‘फिर्ता गर्दिए छुटे’ । म दङ्ग परे के भन्न खोजेको होला, यसले चोरेको ठगेको कुरापनि पक्रिए पछि फिर्ता गरेर कसरि बिना सजाय छुट्न पायो भन्दै उसलाई सोधे । पैसा खर्च गरेर छुटे होलास। साधुरामले हाँस्दै भन्यो कुन जमानामा छौ बूढा, तीम्रा घरको टिभी मैले त चोरेको छैन, कि अरु कसैले मेरो इलाकामा आएर चोर्यो ? हेर्देनौ समाचार कसैले चोरि छली गरेको अभियोगमा पक्रियो भने सामान फिर्ता गर्देउ सजाय हुदैन यो सदनको नजिर हो । अब कसैलाई पनि कार्बाही गर्न मिल्दैन, बरु सामान के चोर्ने विचार गर्नु पर्छ ।

झुक्किएर पनि कुखुरा चोर्ने त के कुरा कुखुराको खोरमा हात लाउननि हुन्न पुलिसले कम तंग गर्छ, मेरा चिनजानका दुई चार जना चोरको बेहाल छ । अरुनै के के मुद्धा पनि लाई दिन्छौ भन्दै कुटेर बेहाल बनाएका छन् । पहिला त मैलेनी चोर्थे यो पटक धन्न भगवान दाहिना भएछन् भन्दै, आकाश तिर फर्किदै हात जोर्दै भन्यो “घर फोर्नु कुखुरा नचोर्नु”।

मैले पनि टिभीमा सुनेको समाचार सम्झिदै एक छिन घोरिए कता कता होकी जस्तोनि लाग्यो। सियो चोर्नेले दरबार फोर्छ भन्ने उखान सम्झेर हुर्केको म, न त शाधुरामको कुरामा विश्वास गर्न सके, न त अविस्वास गर्ने आधार नै देखे । उसको कथन कथनमै सिमित होस् उखान नहोस भन्ने कामना गर्दै साधुरामलाई छोरी ओराल्दीएकोमा धन्यबाद दिदै बिदा भए ।

२०७५ माघ २,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको