रुकुम-बाग्लुङ सिमाना विवाद : कारण र निवारण – एक समिक्षा


वीरप्रसाद घर्ती मगर/कार्तिक २९, रुकुम । अहिले मुलुकमा सिमा सम्बन्धी ठुल्ठुला तरंगहरु उठिरहेको छ । ईतिहास देखि उठेको यो सिमा सम्बन्धी समस्यालाई अहिलेको संघीय सरकारले पनि समाधान गर्न सकिरहेको छैन । यहि सेरोफेरोमा रहेर तल बागलुङ र रुकुम सिमाको बिषयमा चर्चा गरिएको छ ।

१. वर्तमान बस्तुस्थिति:

पूर्वी रुकुमको भूमे गाउँ पालिका र बाग्लुङ जिल्लाको निसी गाउँ पालिका बिच उत्पन्न सिमाना विवादको बिषयलाई लिएर २०७६ कार्त्तिक ८ गते शुक्रबारका दिन दुवै जिल्लाको सिमानामा पर्ने य्हिर नेटामा बसेको बैठक बिना कुनै निष्कर्श टुंगिएको छ | बैठकमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी साथै सुरक्षा निकायका प्रमुख, दुवै गाउँ पालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित वडाका वडा अध्यक्ष, स्थानीय बुद्धिजीवीहरु साथै अन्य जनसमुदायको समेत उपस्थिति थियो | दुवै जिल्लाका प्रशासकीय प्रमुखहरुको समेत उपस्थिति भएको यस बैठकमा आपसी सहमति भइ टुङ्गोमा पुग्न नसक्नुले यस विवादले सहजै निकास पाउन नसक्ने संकेत देखिन्छ |

बिरप्रसाद घर्ती मगर

२. भूगोल परिचय:

पूर्वी रुकुम र बाग्लुङ जिल्लाको सिमानामा पर्ने यस बिबादित क्षेत्रलाई रिगल खर्क र य्हिर नेटाका रुपमा दुई भागमा बाँडेर हेर्न सकिन्छ |

क. रिगल खर्क: य्हिर नेटा देखि उत्तर तिरको डाँडामा अवस्थित यस सुन्दर भूभागलाई स्थानीयहरुले रिगल खर्क रुपमा चिन्दछन | खर्क भनेको भेडा बाख्रा तथा गाई भैसी चराउनको लागि राखिने ठाउँलाइ भनिन्छ | स्थानीय मगर खाम भाषामा “रि” को अर्थ पानी र “गल” को अर्थ बँदेल हुन्छ | यो रिगल छेदामा (नेटा) एउटा सानो पोखरी पनि छ जसमा पहिले पहिले गोठालाहरुले बँदेलहरु आएर पोखरी छेउछाउ चर्ने र खेल्ने गरेको देख्ने गर्दथे रे | त्यसैले यस पोखरीको नाम रिगल दह राखिएको हो भनिन्छ | कालान्तरमा यस क्षेत्रलाई नै रिगल भनेर भन्न थालियो ।

ख. य्हिर छेदा (य्हिर नेटा): मध्य पहाडी लोकमार्गले छिचोलेर गएको यस नेटा (Pass) लाई स्थानीयहरुले य्हिर छेदाका रुपमा चिन्दछन भने कसैले रिगल नेटा पनि भन्दछन | स्थानीय मगर खाम भाषामा “य्हिर्सियो” भन्नाले एकप्रकारले सबैतिरबाट थुनिएको वा छेकिएको भूभागलाई जनाउदछ | पुर्व पश्चिम भएर उभिएका दुई ठूला र लामा पहाडी शृंखलाको बिचमा पर्ने यो भूभाग साच्चिकै दुवै तिरको पहाडी शृंखलालाई जोड्ने गरेर थुनिएको र छेकिएको छ | त्यसैले यस छेदालाई स्थानीयवासीले य्हिर छेदा भनेर नामकरण गरेका हुन् | अहिले यसलाई बाग्लुङ तर्फकाले “पाती हाल्ने” भनेर नामकरण गरेको देखिन्छ तर यसको वास्तविक नाम भने पाती हाल्ने होइन | किनभने धुरी देउरालीहरुमा यात्रुहरुले सुरक्षित र सफल यात्राको कामना गर्दै फूलपाती चढाउनलाई बनाएको पन्थ्यौलीलाई पाती हाल्ने ठाउँका रुपमा चिनिन्छ | यात्रुहरुले फूलपाती चढाउने (पाती हाल्ने) यस्ता पन्थ्यौलीहरु यस भेकका धुरी देउरालीहरु तिर प्रसस्तै पाइन्छन | त्यसैले फूलपाती चढाउने यस्ता सबै ठाउँको नाम नै पाती हाल्ने हो भनेर भन्न मिल्दैन, किनकि पाती हाल्ने भए पनि त्यस ठाउँको एउटा निश्चित नाम हुन्छ | त्यसैले यो ठाउँको वास्तविक नाम बाग्लुङ तिरकाले दाबि गरे झैँ पाती हाल्ने नभएर य्हिर छेदा (य्हिर नेटा) हो |

रिगल दह क्षेत्रको एक सुन्दर दृश्य

३. दुवै पक्षको चासोको कारण:

यो भेक भएर मध्य पहाडी लोकमार्ग नखुल्दासम्म यस ठाउँको बारेमा कसैलाई कुनै चासो थिएन भन्दा सायद यहाँ गलत नहोला | तर जव यस ठाउँलाई मध्य पहाडी लोकमार्गले छोयो तब यस क्षेत्रको प्रचुर पर्यटकीय सम्भाव्यता र त्यसबाट आर्जन हुन सक्ने अर्थतन्त्रलाई देखेर यो क्षेत्र सबैको नजरमा पर्न गयो | त्यहि पर्यटकीय सम्भाव्यताको कारणले गर्दा नै यस क्षेत्रलाई बाग्लुङ तर्फकाले आफ्नो पूर्ण पकडमा राख्न खोजेको देखिन्छ भने रुकुम तर्फकाले पनि आफ्नो क्षेत्र भित्र पर्ने भूभागलाई गुमाउन नचाहेको देखिन्छ |

४. विवादको सिर्जना:

करिब दुई बर्ष पहिले भूमे गाउँ पालिकाले य्हिर नेटामा एउटा स्वागत द्वार बनाउन खोज्दा निसी गाउँ पालिकाले त्यो भूभाग आफ्नो क्षेत्रमा परेको भनेर रोक लगाए पछी यो क्षेत्र आधिकारिक रुप मै एउटा बिबादित क्षेत्रको रुपमा स्थापित हुन गयो | त्यस पछी निसी गाउँ पालिकाले पनि बिना कुनै जानकारी पुर्बी रुकुमको केहि भूभागबाट पर्ने गरेर य्हिर नेटा देखि रिगल दह सम्म गाडी जाने ट्रयाक खोल्ने काम गर्यो | बिना सोधपुछ र जानकारी आफ्नो भूभागबाट बाटो खन्ने काम गरिएको हुनाले उक्त कार्य पूर्वी रुकुमकालाई पनि त्यति रुचेन | यिनै कुराहरुले गर्दा दुवै पक्षले एक अर्काको सिमाना अतिक्रमण गरेको भनेर सिमाना निर्धारण गर्ने कुरा उठाए पछी गत कार्त्तिक ८ गतेको सिमा विवाद बैठक बसेको थियो |

रिगल दह देखि देखिने दक्षिण तिरको सुन्दर दृश्य

५. बिगतको इतिहासलाई केलाएर हेर्दा:

क. रिगल खर्क: भौगोलिक परिचयको हिसाबले रिगल दह आसपासको क्षेत्रलाई रिगल खर्कको रुपमा चिनिन्छ | परापूर्वकाल देखि गर्दै आएको भोग चलनलाई हेर्दा रिगल खर्कलाई लुगुम्याल र भल्कोटीहरुले एउटा चरनको रुपमा मिलेर भोग चलन गर्दै आएका छन् | जसमा बैशाख देखि असार सम्म लुगुम्याल भेडा गोठालाहरुले रिगल खर्क मात्रै नभएर चैते खर्क सम्म भोग चलन गरेको पाइन्छ भने भल्कोटीहरुले जेठ देखि भदौ सम्म यसलाई गाई भैसीको बर्षे चरनको रुपमा प्रयोग गरेको पाइन्छ | यस क्षेत्रमा लुगुम्याल र भल्कोटी गोठालाहरुले कुनै बनाउलो (चरन कर) तिर्दैनन जबकी अन्य कुनै ठाउँका गोठालाहरु यहाँ आएमा बनाउलो तिर्नु पर्ने हुन्छ | यस अर्थमा यो क्षेत्र दुवै तिरका गोठालाहरुको साझा चरन क्षेत्र हो भन्ने प्रमाणित हुन्छ र यस तथ्यले यो क्षेत्र दुबैको साझा क्षेत्र हो भन्ने पनि प्रमाणित गर्दछ |

ख. य्हिर छेदा: य्हिर नेटा रुकुम र बाग्लुङ जिल्लाको दोसाँधमा पर्ने एउटा भन्ज्याङ हो | रुकुम र बाग्लुङलाई जोड्ने यो भेकको यहि मात्रै एउटा बाटो हो | निसी भल्कोटका मानिसहरुको प्रशासकीय काजकाम साथै बजार ब्यापार पनि पुर्व तिर नै हुने भएकोले निसी भल्कोटका मानिसहरु पश्चिम तिर प्राय गरेर आउदै आउदैनन | तर लुगुम्यालहरुले भने यो ठाउँलाई परापूर्वकालदेखि नै रिडी, बुटवल, काठमाडौं जाने व्यापारिक मूल बाटोको रुपमा मात्रै नभएर हिउँद याममा भेडाहरुलाई अर्घाखाँची, प्युठान जस्ता न्यानो भेक तिर लैजाने बाटोको रुपमा प्रयोग गरेको पाइन्छ | त्यसैले लुगुम देखि य्हिर छेदासम्मको बाटोलाई लुगुम्याल जनताले विगतमा पटकपटक झारा उठाएर खन्ने र मर्मत गर्ने काम समेत गरेको पाइन्छ | त्यहि बाटो खन्नेहरुले नै यस भेकबाट यात्रा गर्ने यात्रुहरुलाई भारी बिसाई बिश्राम गर्न मिलोस भनेर य्हिर छेदाको ढुंगे बिसौनी र सुरक्षित साथै सफल यात्राको कामना गर्नको लागि फूलपाती चढाउन मिलोस भनेर पाती हाल्ने पन्थ्यौली पनि बनाएका हुन् जसको आधारमा अहिले बाग्लुङ तर्फकाले यसको नाम नै पाती हाल्ने भनेर भन्ने गरेका छन् | निसी भल्कोटको बजार ब्यापार तथा प्रशासकीय काजकाम पश्चिम तिर नपर्ने भएकोले भल्कोट देखि य्हिर छेदासम्मको बिकट बाटोलाई भल्कोटीहरुले कहिल्यै खन्न र मर्मत गर्न आवश्यक ठानेनन | यस अर्थमा अहिलेको बिबादित य्हिर छेदालाई परापूर्वकालदेखि नै भल्कोटीहरुले भन्दा लुगुम्यालहरुले बढी प्रयोग र मर्मतसम्हार गरेको प्रमाणित हुन्छ |

६. सिमांकनका आधारहरु:

कसैले मेरो भनेर दाबी गर्दैमा वा आफ्नो गाउँ पालिकामा परेको भनेर लेख्दैमा त्यो ठाउँ त्यसको हुने कुरा आउदैन, यसको लागि दाबीलाई प्रमाणित गर्ने यथ्यस्त प्रमाण र आधारहरु पनि हुनु पर्दछ | यदि दुवै पक्षले यस क्षेत्रलाई आफ्नो क्षेत्र भनेर दाबि गरेर आफ्नो अडान छोड्दैनन भने निम्न कुराहरुलाई आधार मानेर यस क्षेत्रको सिमांकन गरि सिमाना निर्धारण गर्नु पर्ने देखिन्छ:
क. परम्परागत सिमांकनका आधारहरु भनेकै नदि नाला, भिर पहाड, डाँडाकाँडा र बाटोघाटो हुन् | यस हिसाबले यस क्षेत्रको सीमांकन गर्ने मुख्य आधार भनेको यस क्षेत्रको पहाड र डाँडाकाँडा मात्रै देखिन आउँछ | त्यसैले पानी ढालको आधारमा यस क्षेत्रको सिमांकन गर्नु नै बढी उपयुक्त देखिन्छ |

ख. पानी ढाल नभएरसम्म परेको जमिनलाई सिमांकन गर्ने कुनै आधार नभएकोले यस्तो क्षेत्र दुवै पक्षको साझा क्षेत्रमा पर्न आउँछ | यस्तो अवस्थामा कि त समझदारीमा दुबैले त्यस क्षेत्रको मिलेर भोगचलन गर्न सकिन्छ, कि त दुबैलाई बराबर पर्ने गरी सिमा स्तम्भहरु राखेर सिमाना बिभाजन गर्न सकिन्छ |

ग. य्हिर छेदाको बिसौनी र पाती हाल्ने पन्थ्यौली पनि आफैमा एउटा मानव स्थापित सिमा स्तम्भ हो | त्यसैले यसैको आधारमा पनि त्यस ठाउँको सिमांकन गर्न सकिन्छ |

घ. यो क्षेत्र बाग्लुङ र रुकुम जिल्लाको सिमानामा पर्ने भएकोले नेपाल सरकारले निर्धारण गरेको जिल्लाको सिमा रेखा पनि एउटा आधिकारिक सिमाना हो | त्यसैले जिल्लाको प्रस्ट भौगोलिक सिमाना देखाउने नक्शाका आधारमा पनि सिमांकन गर्न सकिन्छ |

ङ. यदि कुनै पक्षले यस क्षेत्रलाई नापी गरि सम्बन्धित जिल्लाको मालपोत कार्यालयमा दर्ता गरेर जमिनको भोगचलन गरेको प्रमाणको आधारमा आफ्नो भनेर दाबि गर्छ भने त्यसलाई आधार मानेर पनि सिमांकन गर्न सकिन्छ | तर नापी नभएको र जमिनको मालपोत दर्ता प्रमाण नभएको जग्गालाई सार्वजनिक जग्गा मानिन्छ र त्यसलाई कसैले आफ्नो भनेर दाबि र भोगचलन गर्न मिल्दैन | यदि यस्तो जमिनलाई कुनै सार्वजनिक उद्देश्यको लागि स्थानीय निकायहरुले प्रयोग गर्न चाहन्छन भने स्थानीय प्रशासनको स्वीकृतिमा आफ्नो क्षेत्रमा पर्ने जमिनलाई मात्रै प्रयोग गर्न सक्छन |

य्हिर नेटा (छेदा) को एक दृश्य

७. समस्याको समाधान:

क. आपसी समझदारी तथा एक अर्का प्रतिको सद्भाव र सम्मान नै समस्याको अचुक समाधान हो | त्यसैले कुनै पनि पक्षले आफ्नो एकल आधिपत्य कायम गर्ने उद्देश्यले काम नगरी एकअर्काको क्षेत्रलाई नमिचेर सिमांकन गर्नु नै सबै भन्दा उत्तम र बिबेकपूर्ण निर्णय हुनेछ | उदाहरणका लागि विगतमा निस्याल लुगुम्याल बुकी सिमा विवादमा गरिएको सहमतिका सिध्दान्तलाइ पनि प्रयोग गर्न सकिन्छ | जसमा बिबादित क्षेत्रलाई दुवै पक्षले भोगचलन गर्न पाउने र बाँकि क्षेत्रलाई पानी ढालका हिसाबले सिमाना मान्ने सहमति गरिएको थियो |

ख. यदि सिमांकनमा आपसी सहमति हुन सक्दैन भने यस क्षेत्रलाई दुबैले संयुक्त रुपमा विकास गरि संयुक्त रुपमै उपभोग पनि गर्न सकिन्छ | यसको लागि दुवै तर्फबाट समान प्रतिनिधित्व हुने गरेर एउटा सयुक्त उपभोक्ता समिति गठन गरेर यस क्षेत्रको बिकास गर्ने र भविष्यमा आर्जन हुने राजस्वलाई यहि क्षेत्रको बिकासको काममा लगानी गर्नु पर्ने नीति कायम गर्नु पर्दछ |

ग. यदि माथि उल्लेखित वा अन्य कुनै पनि बिकल्पमा सहमति हुन सक्दैन भने नापी शाखाबाट बिशेषज्ञहरु ल्याएर नेपाल सरकारले सर्भे गरेर निकालेको जिल्ला सिमांकन नक्शाको आधारमा भूगोलको बिस्तृत अध्ययन गरेर सिमांकन गरि सिमा स्तम्भहरु लगाएर दुइ तर्फको सिमाना कायम गर्नु पर्ने देखिन्छ |

घ. अहिले सम्म सिर्जना भएको समस्यालाई हेर्दा खेरि स्थानीय जनप्रतिनिधिहरु बिचमा आपसी सम्पर्क र समन्वयको अभाव भएको बुझिन्छ | बिना सहमति र पुर्व जानकारी नदिएर स्वागत द्वार बनाउने काम शुरु गरेकोमा भूमे तर्फका जनप्रतिनिधिहरुबाट पनि केहि कमिकमजोरी भएको देखिन्छ भने य्हिर नेटा देखि रिगल दहसम्म गाडी जाने ट्रयाक खोल्दा निसी तर्फका जनप्रतिनिधिहरु पनि चुकेका देखिन्छन | किनभने अर्काको भूभागबाट डोजर लगाएर बाटो खन्दा कमसेकम सम्बन्धित गाउँ पालिकालाई सुचित गरि सरसल्लाह गरेर मात्रै बाटो खन्नु पर्ने हो तर निसी तर्फका जनप्रतिनिधिहरुबाट पनि त्यो काम गरिएन | कारण डोजर लगाएर बाटो खन्दा खेरि त्यहाँका रुख बिरुवाहरु मासिने मात्रै नभएर भूक्षयको पनि खतरा हुन्छ जसको लागि सम्बन्धित जिल्ला वा गाउँ पालिकाको स्वीकृति लिन आवश्यक हुन्छ | स्वागत द्वार बनाउने होस् वा बाटो खन्ने काम होस् दुवै काम राम्रैका लागि गरिएका कार्यहरु हुन् ! तर दुवै कामबाट विवाद सिर्जना हुन गएकोले स्थानीय जनप्रतिनिधिहरुको काम गर्ने शैलीमा केहि कमि कमजोरी भएको देखिन आउँछ | त्यसैले उप्रान्त दुवै तर्फका जनप्रतिनिधिहरुले आपसी सम्पर्क र समन्वयलाई प्राथमिकता दिएर काम गर्नु पर्ने देखिन्छ |

य्हिर नेटाको पन्थ्यौली र बिसौना

८. असहमतिको नतिजा:

क. यदि कुनै पनि सहमतिमा नपुगी कुनै एक पक्षले जबर्जस्ती आफ्नो आधिपत्य जमाउन खोज्दछ भने मर्कामा परेको पक्षले न्यायको लागि अदालतको शरणमा गएर कानूनी उपचार गर्नु बाहेक अर्को बिकल्प रहनेछैन | त्यसैले कसैले कसैलाई जबर्जस्ती पेलेरै जित्छौ भनेर सोच्नु गलत साबित हुनेछ |

ख. यदि आपसी सहमतिमा यो समस्याको समाधान हुन सकेन भने यसबाट दुवै तिरको आपसी सम्बन्धमा पनि तितोपनाको सिर्जना हुन जानेछ जसको असर सर्वसाधारणलाई समेत पर्न जानेछ | जुन एउटा अत्यन्तै दुखद पक्ष पनि हुनेछ |

ग. दुवै पक्ष बिच सहमति कायम हुन नसकी यो समस्या अदालतमा पुगेको खण्डमा अदालतले एउटा ठोस निर्णय नगर्दा सम्म यस क्षेत्रको सम्भावित पर्यटकीय पूर्वाधारहरुको विकासमा समेत रोकावट भइ यहाँको पर्यटनलाई समेत प्रत्यक्ष असर पर्न जानेछ |
घ. पर्यटकीय पूर्वाधारको विकास हुन नसकेमा पर्यटन र यसबाट आर्जन हुन सक्ने लोकल अर्थतन्त्रमा समेत ठुलो असर पर्न जानेछ |

ङ. सम्भावित पर्यटनको बिकास हुन नसकेमा यसले स्थानीय अर्थतन्त्रको उत्थानमा समेत ठुलो असर पर्न जानेछ | किनकि पर्यटकहरुको आगमनले जति धेरै स्थानीय व्यापार पसल, होटेल, यातायात चल्न सक्छन त्यति धेरै चल्न सक्दैनन् भने जति धेरै मात्रामा माछामासु, तरकारी, फलफूल जस्ता कृषिजन्य बस्तुहरुले बजार पाउन सक्छन त्यति धेरै बजार पाउन नसक्ने मात्रै होइन, पर्यटनबाट सिर्जना हुन सक्ने लोकल रोजगारका अवसरहरु समेत गुम्न जानेछ |

९. निष्कर्ष:

क. दुवैको सिमा क्षेत्रमा पर्ने भएकोले यस क्षेत्रको विकास दुवै पक्षले मिलेर गर्दा जति राम्रो र प्रभावकारी हुन्छ त्यति एक्लैले गरेर हुन सक्दैन | त्यस्तै गरेर यसले दुवै तिरबाट आउने पर्यटकहरुलाइ पनि यसले उत्तिकै प्रभाव पार्छ | जसले गर्दा यसको पर्यटन विकासलाई पनि प्रत्यक्ष असर पर्नेछ |

ख. एउटा टोलमा असल छिमेकी र खराब छिमेकी हुनुले जस्तो प्रभाव पर्छ यहाँ पनि त्यस्तै असर पर्ने कुरामा दुइमत छैन किनकि ठाउँ फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिदैन | त्यसैले कुनै कुरामा आफ्नो आधिपत्य जमाउने उद्देश्यले छिमेकीसंगको सम्बन्ध बिगार्नु पनि बुद्धिमानी काम होइन | त्यसकारण दुवै पक्षले एउटा असल छिमेकी बनेर सहि र न्यायोचित ढंगले आफ्नो सिमाक्षेत्र भित्र पर्ने कुरामा मात्रै हक दाबी गर्दा उचित हुनेछ |

ग. माथिका कुराहरुलाई मध्यनजर गरेर स्थानीय प्रशासन, जनप्रतिनिधि, बुध्दिजीबी, स्थानीय जनता र युवाहरुले बिबेकशील भएर विचार गरि सहि निर्णय गर्नु पर्ने अवस्था आएको छ |

घ. सबैले व्यक्तिगत वा स्थानीय स्वार्थलाई त्यागेर समग्र भेकको हित र विकासको लागि गम्भीर भएर सोच्नु पर्ने अवस्था सिर्जना भएको छ |

ङ. सबैले तेरो मेरो भन्ने भावनालाई त्यागेर समग्र समुदायको हित र विकासको भावनालाई अंगाल्नु पर्ने समय आएको छ |

२०७६ कार्तिक २९,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको