वीरप्रसाद घर्ती मगर । धार्मिक आस्था र राजनीतिक आस्था भनेका दुई यस्ता नशा हुन् जसको लागि मानिस झुक्न नचाहने मात्रै होइन आई परे ज्यानको बलिदान दिन समेत पछि पर्दैनन् । त्यसैले यी दुई आस्थाको सम्बन्धमा कसैले कसैलाई दमन वा भेदभावपूर्ण ब्यवहार गर्नु बुद्धिमानी होईन ।
अन्य समुदायको तुलनामा संस्कार र आस्थाका हिसाबले मगर समुदायमा विविधता छ । जुन मगरहरुको विविध साँस्कृतिक गहना पनि हो । यसरी संस्कृतिको धनी हुनुमा हामीले गर्व गर्नु पर्दछ र गर्दछौं पनि । तर यसैका कारणले मगर समुदाय धार्मिक आस्थाका रूपमा बिभाजित पनि छ । जुन यसको एउटा दु:खद पाटो पनि हो । यो कुरा बिशेष गरेर दशैंको समयमा मगर-मगर बीचमा हुने मतभेदले छर्लङ्ग पार्दछ । यस तथ्यलाई स्विकारेर मगर एकताको बारेमा अब हामीले गम्भीर भएर सोच्नु पर्ने अवस्था पनि आएको छ । त्यसैले मगर समुदाय बिचमा एकता र सौहार्दपुर्ण बाताबरण कायम गर्नको लागि हामीले निम्न कुराहरुमा चिन्तन र मनन गर्नु पर्ने देखिन्छ ।
१. सर्वप्रथम जब कुनै एउटा पक्षले कुनै अर्को पक्षको आस्थामा हस्तक्षेप वा विभेद गर्छ त्यो कुरा अर्को पक्षलाई कदापि स्विकार्य हुँदैन र त्यहाँ एउटा असन्तुष्टि सिर्जना भई द्वन्द्व र कलह हुन्छ भन्ने कटु सत्यलाई हामीले बुझ्न र स्विकार्न जरुरी छ । यो कटु सत्यलाई बुझेर हामीले एकअर्काको आस्थालाई सम्मान गर्न सिक्नु पर्दछ ।
२. जसले जे भने पनि, जतिसुकै बिरोध गरे पनि दशैं मान्ने मगरहरुको संख्या पनि यहाँ प्रसस्तै छ भन्ने कुरा हरेक बर्ष दशैंको बारेमा हुने मतभेद र बहसले नै प्रमाणित गर्दछ । जुन कुरालाई दशैंको शुभकामनाको बारेमा यस ग्रुपको एड्मिनले गरेको निर्णयको बारेमा उजागर गरिएकाअभिमतहरुले थप पुष्टि गर्दछ । त्यसैले यो कटु सत्यलाई स्विकारेर हामीले सबैको आस्थालाई आत्मसात गर्न सकेको खण्डमा मात्रै यहाँ मगर-मगर बीचमा आस्थाको लडाइँ रोकिने छ ।
३. मगरहरु बहुभाषिक र बहुल संस्कृतिका समुदाय भएकोले यहाँ कुनै एकल भाषा र संस्कृतिको एकाधिकार स्थापित गर्न खोज्नु भनेको बुद्धिमानी कुरो होइन । सबै भाषा र संस्कार संस्कृतिको सबैले सम्मान गर्न सिक्नु पर्छ । बिशेष गरेर धार्मिक आस्थाका बारेमा यहाँ यो अभ्यास भइरहेको देखिन्छ । जुन सम्पुर्ण मगर समुदायको हितको लागि राम्रो कुरो होईन । त्यसैले संस्थागत रूपमा गरिने कुनै पनि गलत अभ्यासलाई स्थगित गर्नु पर्दछ ।
४. राजनीतिक आस्था पनि सबैको एक हुने सम्भव कुरो होइन । जनयुद्ध ताका राजनीतिक आस्थाका कारणले गर्दा एक मगरले अर्को मगरलाई काटेको प्रशस्त उदाहरणहरु छन् । त्यसैले सबैको राजनीतिक आस्थाको सम्मान गर्दै यसलाई निर्वाचनको समयमा प्रयोग गरिने एउटा स्वेच्छिक मताधिकारका हिसाबले मात्रै हेर्नू पर्दछ । यहाँ राजनीतिक आस्थाका लागि एकापसमा हिलो छ्याप्ने र तँ तँ म म गर्नु पनि हुँदैन । साथै संस्थागत रूपमा कुनै राजनीतिक आस्थालाई काखी च्य्याप्ने काम पनि गर्नु हुँदैन ।
५. हामीहरु धार्मिक र राजनीतिक आस्थाको लागि एकापसमा लडाइँ झगडा गर्नु भन्दा सबैले सबैको आस्थाको सम्मान गर्दै एकजुट भएर मगर इतिहास, भाषा, संस्कृति र मगर समुदायको उत्थान कसरी गर्न सकिन्छ त्यसमा लाग्नु पर्दछ । यो नै आजको आधुनिक मगर समुदायको आवश्यकता हो र यही नै एउटा सामाजिक चेतनाको बिकास पनि हो । यो काम तब मात्रै सम्भव छ जब हामीले आफ्नो आफ्नो आस्थालाई एकातिर पन्छाएर समग्र मगर समुदायको हितको लागि एकजुट भएर सहकार्य गर्न सक्ने छौं ।
६. माथीका कुराहरुलाई तत्कालै लागू गर्न सम्भव नहोला तर सबैको मनमा आस्थाका बिज भन्दा मगर एकताको बिजारोपण गरि एउटा सामाजिक सहअस्तित्वको चेतनाको बिकास गर्न सकेमा २-४ बर्ष पछि यो कुरा लागू गर्न असम्भव रहने छैन । त्यसैले यदि हामी मगर एकता चाहन्छौ भने आस्थाको बन्दी नबनेर मगर एकता र सामाजिक चेतनाको सन्देशलाई सबै माझ पुराउन अति आवश्यक ।
७. धार्मिक आस्थाका कारणले भाइ परिवार फुटेको र राजनीतिक आस्थाका कारणले मगर-मगर काटमार तितो सत्य र यथार्थलाई स्विकारेर अब हामी आस्थाका बन्दी नभएर मगर एकता र उत्थानका लागि एकजुट हुनु पर्दछ । यदि कसैले मगरहरु बीचमा विवेध सिर्जना हुने कुनै कार्य गर्छ भने त्यस्तो ब्यक्ति कुनै ब्यक्तिगत स्वार्थले प्रेरित भएर मगरहरुको भलो र हित चाहदैन भन्ने बुझ्नु पर्दछ र त्यस्तो ब्यक्तिले आफुलाई मगर भन्न सुहाउँदैन पनि ।
प्रतिक्रिया दिनुहोस