सल्यानमा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजना पक्राउ


खकेन्द्र केसी/असोज २८, सल्यान । बालविवाह गरेको आरोपमा सल्यानमा फेरी सात जना पक्राउ परेका छन् ।

गत हप्ता मात्रै बालविवाह गरेको आरोपमा सिद्ध कुमाख गाउँपालिकाबाट सात जना पक्राउ परेका थिए भने फेरी यो पटक कपुरकोट गाउँपालिकाबाट सात जना विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कपुरकोट गाउँपालिका –५ का १५ वर्षिय दुलहा, सोहि ठाउँकी १४ वर्षिया दुलही, दुलहा र दुलहीका आमाबुबा र पण्डित गरि सात जना रहेका छन् । बालविवाह गरेको भन्ने गोप्य सुचनाको आधारमा उनिहरुलाई सोमबार ईप्रका लुहामको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनिहरुलाई जिल्ला अदालत सल्यानबाट सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । नेपालको संविधान अनुसार बालविवाह गर्ने गराउने कार्यमा दोषि ठहरिए ३ वर्षको कैद र ३० हजार जरिवानाको सजाय रहेको छ ।

यस्तो हुन्छ भन्ने थाहा थिएन्

पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सल्यानमा आएका दुलहा र दुलहीले आफुहरुले १ वर्षअघि देखि एकअर्कालाई माया गरेको बताएका छन् । बालविवाह सम्बन्धी केहि सामान्य कुरा थाहा पाएपनि यसरी पक्राउ परिन्छ भन्नेबारे थाहा नभएको उनिहरुले प्रतिकृया दिए ।

प्रहरी कार्यालय पुगेका पत्रकारहरुसँग कुरा गर्दै दुलहाका ५६ बर्षीय बुबाले भने, ‘म कान कम सुन्छु, यसरी पक्राउ परिएला भन्ने थाहा थिएन् । छोराले बुहारी ल्याएपछि टिको मात्रै लगाइदिएको हुँ । पछि छोरो म सँग र बुहारी आमासँग सुतिन् । थाहा नभएर गल्ती भयो, अब हामी सजक हुन्छौँ, मिलाइदिनु पर्याे ।’

बाविवाहमा हप्तैपिच्छे पक्राउ

सल्यानमा पछिल्लो समय बालविवाह गरेको आरोपमा प्रहरीले प्रत्येक हप्ता पक्राउ गरेको घटना सार्वजनिक भएका छन् । गएको हप्ता असोज १७ गते बालविवाह गरेको अभियोगमा सिद्ध कुमाख गाउँपालिका –४ बाट दुलहा र दुलही सहित ७ जना पक्राउ परेका थिए । उनिहरुको पनि अहिले जिल्ला अदालत सल्यानमा मुद्दा प्रकृयामै छ ।

त्यसैगरी शारदा नगरपालिका –४ पिपलनेटाबाट गत असारमा १८ वर्षीया दुलही र १७ वर्षीय दुलहा सहित ४ जना पक्राउ परे । जिल्ला अदालत सल्यानले भदौ १८ गते बेहुली, बेहुलाकी आमा र ब्राह्मणलाई जनही दुई महिना कैद र दुइ हजार रुपियाँ जरिबानाको फैसला सुनायो । बेहुलालाई भने उमेर नपुगेको नाबालक रहेको भन्दै अदालतले सफाई दियो ।

यद्यपी एक हप्ता हिरासतमा बसेपछि सबै जान धरौटीमा छुटेको र दुइ महिना कैद अन्तरगत प्रति दिन तीन सयका दरले कट्टीहुने गरि ५३ हजार सात सय बुझाएपछि उनिहरु कागारमा बस्नु परेन् ।

त्यस्तै बालविवाह गरेको आरोपमा शारदा नगरपालिका –६ मदमकाँडाबाट प्रहरीले तीनजनालाई पक्राउ गर्यो । फागुन २९ गते बालविवाह गर्न लाग्दा खैरावाङ मन्दिर परिसरबाट प्रहरीले शारदा नगरपालिका २ मेलघारीका तीन जनालाई पनि पक्राउ गर्याे । उनिहरुको मुद्दालाई जिल्ला अदालत सल्यानले फैसला गरिसकेको छ ।

यी बाहेक बालविवाह गरेको आरोपमा सल्यान प्रहरीले अन्य व्यक्तीहरु पक्राउ गरेको छ । कोहि बिवाहको तयारीमा रहेका रोकिएका छन् भने कोहि पक्राउ परेर जेल बस्नु परेको छ ।

चेतनाको कमी

यसरी बालविवाहको अभियोगमा सल्यानमा पटकपटक पक्राउ परेका घटनाहरु सार्वजनिक भएका छन् । अधिकांश बालविवाह पक्राउ नपरेर लुकिछिपी पनि भएका हुन्छन् । जिल्ला अस्पताल सल्यानको तथ्याङक हेर्ने हो भने गएको १ वर्षमा साढे ४ सय बालिकाले बच्चा जन्माएका छन् । यी सबै बालविवाह हुन ।

सल्यानमा जनचेतना कमिको कारण बालविवाह बढेको इन्सेककी सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीले बताइन् । उनले भनिन्, ‘बालविवाह रोक्नको लागी सल्यानमा जनचेतनाको कमि भयो । अब गाउँगाउँमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न हुँदैन् भन्ने चेतना फैलाउनु पर्छ ।’

पक्राउ गरेर मात्रै बालविवाह नरोकिने भन्दै उनले बालविवाह गर्न नै नदिनको लागी स्थानीय सरकार, विद्यालयहरु, प्रहरी र विभिन्न संघ सस्था लाग्नुपर्ने बताइन् । बालविवाहले स्वास्थ्यमा असर गर्छ भनी चेतना मात्रै फैलाउनु भन्दा कानुनको पाठ पनि सबैलाई सिकाउनु पर्ने उनको भनाई छ ।

२८ आश्विन २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको