कोउटिन्हो चम्किदा कोपा अमेरिकामा ब्राजिलको सहज जित


जेठ ३२, काठमाडौं । ४६औं संस्करणको कोपा अमेरिका फुटबलमा घरेलु टोली ब्राजिलले विजयी सुरुवात गरेको छ । नेपाली समयअनुसार शनिबार बिहान भएको प्रतियोगिताको उद्घाटन खेलमा ब्राजिलले पाहुना टोली बोलिभियालाई ३–० ले बिजयी भएको हो ।

स्टार मिडफिल्डर फिलिपे कोउटिन्होले टिमलाई जिताउन पहिलो खेलमै व्यक्तिगत २ गोल गरेर आफ्नो प्रभाव देखाए । खेलको ५०औं मिनेटमा कोउटिन्होले पेनाल्टीमार्फत् गोल गर्दै प्रतियोगिताकै पहिलो तथा टिमका लागि पनि पहिलो गोल गरे ।

बक्सभित्र ब्राजिलका खेलाडीले हानेको बल सोझै बोलिभियाका खेलाडीको हातमा लागेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टीको मौका दिएका थिए ।

पहिलो गोल गरेको ३ मिनेटपछि नै कोउटिन्होले अर्को गोल गरे । बक्सभित्र मैदानको माथिल्लो भागबाट रोवर्ट फर्मिन्होले दिएको आकर्षक पासमा कोउटिन्होले सजिलै हेडिङमार्फत् गोल गरेर टिमलाई २–० को सहज अग्रता दिलाए ।

त्यसपछि खेलको ८१औं मिनेटमा डेभिड नेरेशको स्थानमा मैदान छिरेका खेलाडी एभर्टन सोआरेजले बक्सबाहिरबाट बोलिभियाका ३ जना डिफेन्डरलाई छलाउँदै दर्शनीय गोल गरेपछि खेल ब्राजिलले ३–० ले जित्यो ।

समूह ‘ए’मा रहेको ब्राजिलले पहिलो खेलमा स्पष्ट जित निकालेर खातामा ३ अंक जोड्न सफल भएको छ । ऊ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

२०७६ जेष्ठ ३२,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको