जनकपुरमा पूर्वराजाले भने – ‘यो मधेश होइन, तराई हो’


चैत १, जनकपुरधाम । प्रदेश २ लाई मधेश प्रदेश घोषणा गर्ने तयारी गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले यो भूमि मधेश नभएको बताएका छन् ।

शुक्रबार दिउँसो जानकी मन्दिरमा पूजापाठ गरेपछि पत्रकारहरुले उनलाई मधेश भ्रमणमा आउनुभयो, यहाँका जनताको मनोभावना कस्तो बुझ्नुभयो ? भन्ने जिज्ञासा राखेका थिए ।

जवाफमा पूर्वराजा ज्ञानेन्द्रले भने, ‘यो तराई हो, हामीले पहिलेदेखि नै तराई भन्दै आएका छौं, मधेश भन्दिनँ ।’

उनले शान्ति र प्रगति होस् भनेर आफूले कामना गरेको बताए । ‘जानकी मन्दिरमा पूजापाठ गरेर के माग्नुभयो ?’ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘सबैको भलो होस् ।’

मुलुकमा शान्ति र प्रगतिको आवश्यकता रहेको उनले बताए । के अहिले देशमा शान्ति छैन र ? भन्ने प्रश्नमा पूर्वराजा ज्ञानेन्द्रले भने, ‘तपाईंले नै हेर्नुस् जनताको मनोबल, जनताको परिस्थिति कस्तो छ, के छ उहाँहरुलाई नै सोध्नुस् । मलाई नसोध्नुस् ।’

जानकी मन्दिरमा पुगेपछि राप्रपाका नेता कार्यकर्ता तथा समर्थकहरुले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए । उनलाई स्वागत गर्न सहभागीहरु फूलमाला र राजारानीको फोटोसमेत लिएर कुरेका थिए ।

आफ्नो पक्षमा माहोल बनाउन बुधबार जनकपुर आएका पूर्व राजा ज्ञानेन्द्र बिहीबार धनुषाको महेन्द्रनगर, महोत्तरीको बर्दिबास, सर्लाहीको नवलपुर, गम्हरिया, कविलासी, मलंगवालगायतका स्थानमा आफ्ना समर्थकसँगको भेटघाटमा व्यस्त भएका थिए ।

उनि शनिबार उदयपुर पुगेर पुनः जनकपुर फर्केपछि आइतबार काठमाण्डौ फर्कने कार्यक्रम रहेको जनाएको छ ।

१ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको